इलाम सदरमुकाममा सौर्य सडकबत्ती राखिने



इलाम । इलाम नगरपालिका कार्यालय र सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामले सदरमुकाममा ३३० वटा सौर्य सडकबत्ती जडान गर्ने भएको छ ।

इलाम नगरपालिका कार्यालयले स्थानीयको साझेदारीमा १३० वटा सडकबत्ती जडान गर्ने भएको छ । यसमा उपभोक्ताको ३५ प्रतिशत र स्थानीय विकास मन्त्रालयको बाँकी लगानीमा सडकबत्ती जडान गरिने नगरपालिकाका प्राविधिक मेघनाथ ढुङ्गानाले बताए ।

सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामले १२० सौर्य सडकबत्ती जडान गर्ने भएको छ । नगरपालिकाभित्रको चार किलोमिटर सडक क्षेत्रमा सौर्यबत्ती जडान गरिने कार्यालयका कमलनिधि चापागार्इंले बताए ।

सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले राख्ने सौर्य सडकबत्तीका लागि प्राथमिकता निर्धारण गरिसकेको छ । भानुपथदेखि थेवेचोक,बसपार्कदेखि चोकबजार हुँदै मालापथ र धोबीधारा क्षेत्रसम्म सौर्य सडकबत्ती जडान गर्ने जनाएको छ ।

सरकारी कार्यालय परिसरमा थप ८० वटा सौर्य सडकबत्ती जडान गरिने बताइएको छ । त्यसका लागि पनि प्राथमिकता निर्धारण भइसकेको छ ।

यहाँ रहेका सबैजसो सरकारी कार्यालयमा सौर्य सडकबत्ती जडान हुने सहरी विकासका चापागाईंले बताए।

‘सौर्य सडकबत्ती राख्नका लागि अहिले सर्वे सम्पन्न भइसकेको छ,’ चापागाईले भने, ‘वैशाख/जेठसम्ममा काम सकिन्छ ।’ सोही कार्यक्रमअन्तर्गत केही कार्यालयमा भने वर्षातको पानी सङ्कलनको काम पनि गरिनेछ ।


क्लिकमान्डु