
काठमाडौं । आइतबार र सोमबार ‘अति भारी वर्षा’को सम्भावनाको पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असार २८ गते आइतबार र २९ गते सोमबार देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भनेको हो । विभागको पूर्वानुमानलाई देखाउँदै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विशेष सतर्कता अपनाउन अपिल गरेको छ ।
प्राधिकरणका प्रवक्ता एवं उपसचिव शान्ति महतद्वारा जारी विज्ञप्ति अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरू तथा मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशकै तराई भू–भागको एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । साथै, कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।
अचानक आउने बाढी, पहिरो, कटान, गेग्रान बहाव, सहरी तथा तराई क्षेत्रमा हुन सक्ने डुबानको जोखिमलाई मध्यनजर गर्दै प्राधिकरणले पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सरोकारवाला निकायहरूलाई आग्रह गरेको छ ।
प्राधिकरणद्वारा जारी आवश्यक सतर्कताका बुँदाहरूः
यात्रु र नदी किनारका बस्तीलाई चेतावनीः अकस्मात बाढी आउन सक्ने खोला, खहरे तथा नदीको बाटो हुँदै यात्रा नगर्न र पहिरोको जोखिम भएका स्थान एवं खोला/नदी किनाराका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन भनिएको छ ।
सुरक्षा निकाय र स्थानीय तह तयारी अवस्थामाः नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहित तीनवटै सुरक्षा निकाय, स्थानीय तह र स्वयंसेवकहरूलाई प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशित गरिएको छ ।
राजमार्गमा यन्त्र उपकरण तैनाथः जोखिमयुक्त राजमार्ग तथा सडकहरूमा पहिरो पन्छाउनका लागि डोजर, एक्साभेटर, लोडर लगायतका साधनहरू तयारी अवस्थामा राख्न भनिएको छ ।
साझेदार संस्थाहरूसँग समन्वयः पूर्वतयारी र प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थाहरूलाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको निरन्तर सम्पर्कमा रहन आग्रह गरिएको छ ।
विपद्को समयमा तत्काल जानकारी लिन वा मद्दत माग्नका लागि सर्वसाधारणलाई हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सुरक्षित राख्न र आवश्यक पर्नासाथ फोन गर्न अनुरोध गरिएको छ । वर्षा र बाढीको जानकारीका लागि ११५५, विपद्मा मद्दत माग्न १२३४, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बलका लागि १११४ हटलाइन नम्बरहरु रहेका छन् ।
प्राधिकरणले जल तथा मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने अध्यावधिक पूर्वानुमान र चेतावनीहरूलाई निरन्तर पछ्याउन र सतर्क रहन सबैमा अनुरोध पनि गरेको छ ।






प्रतिक्रिया