
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको नाममा जारी गरिएको ‘$TRUMP’ (ट्रम्प) मेमक्वाइनमा लगानी गर्ने झण्डै १० लाख मानिसहरूले कुल ३.८ अर्ब डलर गुमाएका छन् ।
क्रिप्टोकरेन्सी विश्लेषण फर्म ‘नान्सेन’का अनुसार ट्रम्प मेमक्वाइनमा लगानी गर्ने झण्डै १० लाख मानिसहरूले कुल ३.८ अर्ब डलर गुमाएका हुन् ।
न्यूयोर्क टाइम्सले नान्सेनको विश्लेषणलाई उद्धृत गर्दै ब्लकचेनमा उपलब्ध सार्वजनिक कारोबारको तथ्याङ्क हेर्दा जुन महिनाको अन्त्यसम्म ९ लाख ८८ हजार ९०५ वटा खाताहरू घाटामा देखिएको जनाएको छ । यसको अर्थ यो क्रिप्टोकरेन्सी किन्ने प्रत्येक तीनमध्ये दुई जना लगानीकर्ताले नोक्सानी व्यहोरेका छन् ।
कुनै समय ७५.३५ डलरको उच्च बिन्दुमा पुगेको ट्रम्प क्वाइनको मूल्य आइतबारसम्म ९८ प्रतिशतले घटेर मात्र १.६९ डलरमा खुम्चिएको छ । राष्ट्रपति ट्रम्पले सन् २०२५ मा आफ्नो पदभार ग्रहण गर्नुभन्दा तीन दिन अघि मात्र यस मेमक्वाइनको घोषणा गरेका थिए । यसअघि उनले आफ्ना छोराहरूसँग मिलेर ‘वर्ल्ड लिबर्टी फाइनान्स’ नामक क्रिप्टो स्टार्टअप पनि सुरु गरेका थिए, जसको ‘डब्लुएलएफआई’ क्वाइनको मूल्यमा पनि ठूलो गिरावट आएको छ ।
लगानीकर्ताहरूले अर्बौँ गुमाए पनि राष्ट्रपति ट्रम्पले भने यसबाट उल्लेख्य नाफा कमाएको देखिएको छ । हालैको एक वित्तीय खुलासाअनुसार ट्रम्पले गत वर्ष क्रिप्टो उद्योगबाट गरेको कुल १.४ अर्ब डलर आम्दानीमध्ये ६३ करोड ६० लाख डलर यही ट्रम्प मेमक्वाइनबाट मात्र आर्जन गरेका थिए ।






प्रतिक्रिया