
काठमाडौं। काठमाडौंको व्यस्त व्यापारिक केन्द्र न्युरोडस्थित ‘कर्नर पोइन्ट रेस्टुरेन्ट एन्ड बार’मा खाद्य स्वच्छता र गुणस्तरमा गम्भीर लापरबाही फेला परेको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा उक्त रेस्टुरेन्टमा अस्वस्थकर अवस्था फेला परेको हो।
अनुगमनका क्रममा रेस्टुरेन्टको भान्छामा पिज्जा बेस बनाउन प्रयोग गरिने तेलमा मरेको साङ्ला भेटिएको थियो।
त्यसैगरी, ग्राहकलाई खुवाइने पेय पदार्थमा म्याद नाघेको फ्रुट सिरप (स्क्वास) प्रयोग भइरहेको र फ्रिजमा खाद्य सामग्रीहरूको भण्डारण अत्यन्तै अव्यवस्थित रहेको टोलीले जनाएको छ। रेस्टुरेन्टमा प्रयोग भइरहेको तेलको टीपीएम भने २२.० पाइएको थियो।
उपभोक्ताको स्वास्थ्यमा खेलबाड गरेको भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम रेस्टुरेन्टलाई तत्कालै २ लाख १ हजार रुपैयाँ जरिवाना गरेको छ।
यस्तै म्याद नाघेका र पूर्ण लेबल विवरण नभएका दुई बोतल स्क्वास तत्कालै नष्ट गरिएको छ।






प्रतिक्रिया