
काठमाडौं । सरकारले अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर घटाएको छ।
यातायात व्यवस्था विभागले सूचना प्रकाशित गर्दै गत् बिहीबारदेखि लागू हुने गरी भाडादरमा २ प्रतिशतले घटाएको हो।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती गरेसँगै यातायात व्यवसायीहरूको माग र वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार विभागले यो निर्णय लिएको हो।
विभागका अनुसार अब अन्तर प्रदेश चल्ने तीनै प्रकारका सवारी साधनको भाडा २ प्रतिशतले घट्नेछ । जसअनुसार यात्रुवाहक सवारी साधनमा २ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २ प्रतिशत घटाइएको छ ।
यो नयाँ भाडादर दुई वा सो भन्दा बढी प्रदेश भई राष्ट्रिय स्तरका रुटमा सञ्चालन हुने सार्वजनिक यातायातका हकमा मात्र लागू हुने विभागले जनाएको छ।
विभागको सूचना अनुसार, डिजेलको मूल्य प्रतिलिटर २३५ रुपैयाँ ८३ पैसाबाट घटेर १९३ रुपैयाँ ८३ पैसा कायम भएको छ। वैज्ञानिक प्रणाली अनुसार भाडा अझ बढी घट्नुपर्ने भए तापनि यसअघि इन्धनको मूल्य बढ्दा (गत वैशाखमा) प्राविधिक रूपमा ९.८५ देखि १४.३५ सम्म बढ्नुपर्नेमा तत्कालिन विषम परिस्थितिका कारण ५ प्रतिशत मात्र बढाइएको थियो।
अघिल्लो समायोजनलाई समेत मध्यनजर गर्दै अहिले हाललाई २ प्रतिशत मात्र भाडा घटाउने निर्णय गरिएको विभागले स्पष्ट पारेको छ।
यसअघि गत बुधबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले इन्धनको मूल्य घटेका कारण वैज्ञानिक प्रणालीका आधारमा भाडा समायोजन गर्न सरकारसँग माग गरेका थिए।
उनले भाडा निर्धारण गर्दा इन्धनलाई मात्र नभई लुब्रिकेन्ट्स, टायर, पार्टपूर्जा र श्रमिकको पारिश्रमिक जस्ता खर्चहरूलाई पनि आधार मान्नुपर्नेमा जोड दिएका थिए ।
नेपाल आयल निगमले बुधबारदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेलरमट्टितेलमा ३० रुपैयाँ घटाएको थियो। सोही मूल्य गिरावटको आधारमा विभागले यो नयाँ भाडादर कायम गरेको हो।
यसअघि गत चैत २५ र वैशाख १६ गते इन्धनको मूल्य वृद्धिका कारण भाडादर बढाइएको थियो।







प्रतिक्रिया