यात्रा संस्मरण

पश्चिम नेपालमा मध्य पहाडी राजमार्ग पछ्याउँदै जाँदा…


पश्चिम नेपालको भूभाग, सडक सञ्जाल र समाजका बारेमा बुझ्ने उद्देश्यले यही जेठ ८ देखि १५ सम्म भ्रमणको अवसर पाइयो । वाग्मती प्रदेशबाट सुरु भएको हाम्रो यात्रा सुदूरपश्चिमसम्म पुगेको थियो ।

अत्यन्तै मिल्ने दुई मित्रहरू चन्द्रलाल गिरी र प्रकाश विष्टसँग यो यात्रा गरिएको थियो । गिरीले नै मध्य पहाडी (पुष्पलाल) राजमार्ग भएर विभिन्न ठाउँ हेर्दै दार्चुला जाने सुझाव दिनुभएको थियो । त्यस सल्लाहलाई शिरोधार्य गर्दै एउटा स्कोर्पियो भाडामा लिएर हामी जेठ ८ गते काठमाडौंबाट निस्किएका थियौं ।

बिहानै काठमाडौंबाट हाम्रो यात्रा पोखरातर्फ सोझियो । त्यहाँसम्म पुग्नका लागि गोर्खा र लम्जुङ समेटिने मध्य पहाडीको भन्दा मुग्लिनको बाटो नै ठीक हुने निष्कर्ष निकाल्दै धादिङ हुँदै मुग्लिन पुगेर खाना खाइयो ।

मुग्लिनदेखि पोखरासम्मको पृथ्वी राजमार्गको निर्माण सम्पन्न भइसकेकाले निकै सहज यात्रा भयो । पोखरामा सानोतिनो भेटघाटपछि हामी मध्य पहाडी हुँदै बाग्लुङतिर लाग्यौं । बाटोका मनोरम दृश्यहरू हेर्दै र मीठो गफमा भुलिँदै बाग्लुङ कालिका मन्दिर पुगियो । सफल यात्राको आशीर्वाद माग्नका लागि बाग्लुङ कालिका मन्दिरको दर्शन गरी हामी अघि बढ्यौं ।

यहाँसम्म आएको बेलामा पर्यटकीय क्षेत्र ढोरपाटन त पुग्नैपर्छ भन्ने सल्लाह भएपछि त्यहाँ पुग्नुअघिको प्रमुख शहर बुर्तिवाङ पुग्ने सल्लाह भयो । त्यतिखेरसम्ममा १२ घण्टासम्मको ड्राइभ भइसकेको थियो ।

थकाइ लाग्न थालेको भए पनि बुर्तिवाङसम्म पुगेर मात्र आराम गर्ने सल्लाह भयो । बाटोमा पेट्रोल हालेर रातिको ९ बजेतिर हामी बुर्तिवाङ पुगी एउटा होटलमा बास बस्यौं ।

भोलिपल्ट बिहान मध्य पहाडीलाई छोडेर हामी माथि ढोरपाटनतिर लाग्यौं । बाटो अलिपरसम्म ग्राभेल रहेछ तर माथि चाहिँ कच्ची रहेछ । बिहान ६ बजे हिँडेका हामी लगभग ९ बजेतिर ढोरपाटन पुग्यौं । त्यहाँ पुग्दा हरियो फाँट हेरेर हामी रमायौं । अंग्रेजी अक्षरमा ढोरपाटन लेखिएको र वन्यजन्तुहरूको मूर्ति समेत बनाइएको रहेछ । आरक्षमा प्रवेशका लागि निर्धारित शुल्क तिरेर हामी तल फाँटतिर गयौं ।

त्यहाँ पुग्दा भुइँफूल फुलिरहेको पाखो भेटियो अनि आँखाले भ्याइन्जेलसम्मको विशाल हरियो समथर भूभाग पनि हेरियो । त्यो दिन घाम राम्रोसँग लागेको थियो । चारैतिरबाट पहाडले घेरिएको पाटनको हरियो घाँस हेरेरै नअघाइने । माथि नीलो आकाश, सेता बादल र तल हरियो घाँस । घना जंगल भएका काला पहाड । प्रकृतिले रंगहरूको कस्तो संयोजन मिलाएको ! स्वर्ग यस्तै हुन्छ होला !

त्यतिखेरसम्म हल्का भोक लागेकाले एउटा होटलमा जे उपलब्ध छ, त्यही खायौं । त्यहाँ एकजना घोडावाला आइपुगे र फाँटमा घोडसवारी गर्न प्रेरित गरे । हामीले चारवटा घोडा लियौं र केही समय घोडसवारी गर्यौं । आधा घन्टाभन्दा कम समय गरेको घोडसवारीको भाडा प्रतिघोडा २०० रुपैयाँ लिने रहेछन् ।

घोडामा चढेर तस्बिर र भिडियो खिच्दै हामी रमायौं । घोडावालाहरूले अलि परसम्म लगेर घोडा फर्काएपछि हामीलाई आफैं घोडा कुदाउन प्रेरित गरे । अलिक डर लागेको भए पनि सुस्त गतिमा घोडा कुदाइयो ।

पाटनको नरम दुबोमा पल्टिएर पनि हामीले अनेकौं तस्बिर खिच्यौं । विशेषगरी चन्द्र सरले खिचाएका पोजहरू निकै रमाइला थिए । हामी उहाँको हर्कत हेरेर मरीमरी हाँस्यौं । चन्द्र सरले त त्यहीँ घर बनाएर बस्न पाए हुन्थ्यो भन्ने इच्छा पनि व्यक्त गर्नुभयो ।
त्यसपछि हामी त्यहाँको उत्तरगंगा खोलाको किनारमा एकछिन बस्यौं । समग्रमा लगभग दुई घन्टा जति ढोरपाटनमा बिताएर हामी बुर्तिवाङतर्फ फर्कियौं । मध्य पहाडी राजमार्गमा पर्ने कतिपय स्थानलाई उन्नत शहरका रूपमा विकसित गर्ने योजना रहेकोमा बुर्तिवाङ पनि परेको रहेछ । स्मार्ट सिटी बन्ने सम्भावना बुर्तिवाङमा रहेछ ।

बुर्तिवाङमा अघिल्लो रात बसेकै होटलमा खाना खाएर हामी मध्यपहाडी राजमार्ग समात्दै रुकुमतर्फ लाग्यौं । त्यसको बाग्लुङ खण्ड नै निकै लामो रहेछ । निशिखोलाको किनारैकिनार हामी अघि बढ्यौं । चन्द्र सरले निशिखोला, तमान खोला र बडिगाडका बारेमा कुरा झिक्नुभयो । नेपाललाई बुझ्नका लागि नदी बेसिन थाहा पाउनुपर्ने उहाँको तर्क थियो ।

बाटोमा जाँदै गर्दा ठाउँठाउँमा ससाना बस्तीहरू भेटिए । पातीहाल्ने भन्ने ठाउँमा बाग्लुङ, रोल्पा र पूर्वी रुकुमको सीमा छोइँदो रहेछ । त्यहाँबाट बाटोमा भेटिएका मान्छेसँग बाटो सोध्दै लुगुमतर्फ हामी सोझियौं ।

त्यहाँबाट बाटो त्यति राम्रो रहेनछ । अनि बस्तीहरू पनि खासै भेटिँदा रहेनछन् । निर्जन र कच्ची बाटोमा एकनासले गुडिरहँदा अत्यास पनि लागेर आयो । निकै पर पुगेपछि बल्ल पिच बाटो भेटियो । त्यही बाटो पछ्याउँदै हामी सदरमुकाम रुकुमकोट पुग्यौं।

रुकुमकोट अग्लो स्थानमा रहेछ । त्यहाँ बेपत्तासँग हावा चलिरहेको थियो । त्यहाँ एकछिन ओर्लिएर फोटो खिचेर हामी अघि बढ्यौं ।

बाटोमा भेटिएका मान्छेलाई सोध्दै हामी पश्चिम रुकुमतर्फ लाग्यौं । जाँदै गर्दा हामी शीतलपोखरी भन्ने ठाउँ पुग्यौं । त्यहाँबाट पश्चिम रुकुमको सिमाना सुरु हुने रहेछ । दुईवटा बाटा भेटिए । एउटा बाटो रुकुमतर्फ जाने रहेछ भने अर्को बाटो दाङ जाने रहेछ ।

रुकुम जाने बाटोमा हामी अघि बढ्दै गयौं । पर पुगेपछि सानी भेरीलाई पछ्याउँदै जाँदा हामी रिम्ना दोभान भन्ने ठाउँमा पुग्यौं । डोल्पाबाट आएको ठूली भेरी र धौलागिरी हिमालको दक्षिणमा पर्ने चालिके पहाडबाट आएको सानी भेरी रिम्ना दोभानमा मिसिएपछि भेरी भनिन्छ । हामी वारि रुकुम (पश्चिम) बाट पारि जाजरकोटलाई हेरिरहेका थियौं ।

त्यो दिन हामी रुकुमको चौरजहारीमा बास बस्यौं । त्यो दिन पनि १३ घन्टा भन्दा बढीको यात्रा गरिएको थियो । चौरजहारी पनि मध्य पहाडी लोकमार्गमा विकसित गर्न खोजिएको शहर हो । त्यसको सम्भावना हामीले देख्यौं ।

चौरजहारीबाट मध्य पहाडी जाजरकोट हुँदै दैलेखको दुल्लुतिर जान्छ । तर, चन्द्र सरले सुर्खेतको वीरेन्द्रनगर नपुगेको हुनाले त्यता भएर जाने इच्छा व्यक्त गर्नुभयो । प्रकाश र म चाहिँ सुर्खेत गइसकेका हुनाले खासै उत्साहित थिएनौं । तैपनि हामी सुर्खेततिर लाग्यौं । बाटो कतैकतै बिग्रेको भए पनि समग्रमा राम्रै थियो ।

सल्यानको बाटो हुँदै चार घन्टामा सुर्खेत पुग्दा त्यहाँ उखुम गर्मी थियो । त्यहाँ हामीले फेरि पेट्रोल हाल्यौं । हामीले त्यहाँ धेरैबेर नरोकिने र खाना खाएर निस्किहाल्ने योजना बनायौं । खाना खाएर हामी गुराँसेको उकालो लाग्यौं । माथि पुगेपछि अलि शीतल भयो ।

दैलेखमा हामीले ग्यास उत्खनन केन्द्र हेर्ने योजना बनाएका थियौं । त्यतातिर हामी सोझियौं । कर्णाली राजमार्गबाट छुट्टिएर दैलेखमा लाग्दा बाटो राम्रै रहेछ । वास्तवमा दैलेखको रोड कनेक्टिभिटी लोभलाग्दो रहेछ ।

ग्यास उत्खनन केन्द्रभन्दा केही वर मेन बाटोबाट अलिकति भित्र शिरस्थान मन्दिर रहेछ । पौराणिक प्रसंगअनुसार, महादेवले सतीदेवीको मृत शरीर बोकेर हिँड्दा त्यस स्थानमा शिर पतन भएकाले शिरस्थान भनिँदो रहेछ । त्यहाँ सदियौंदेखि अनवरत रूपमा अग्निको ज्वाला बलिरहेको छ । त्यस क्षेत्रमा ग्यासको विशाल भण्डार हुनाले अखण्ड ज्वाला बलिरहेको हुनुपर्छ ।

त्यसपछि हामी जलजलेमा रहेको ग्यास उत्खनन केन्द्र पुग्यौं । त्यहाँ चिनियाँ कम्पनीले ८०.६ अर्ब घनमिटर ग्यास पत्ता लगाएको छ । २०७२ सालमा भारतले नेपालमाथि नाकाबन्दी लगाएपछि ऊर्जा संकट हुँदा तत्कालीन केपी ओली सरकारले चीनको सहयोगमा ग्यास उत्खननका लागि पहल गरेको हो । तर, भूराजनीतिक चपेटामा परेकाले ग्यास उत्खननको काम खासै अघि बढ्न सकेको रहेनछ । त्यहाँ सुरक्षा दिने एपीएफका असई लाल बहादुर चौधरीले हामीलाई सामान्य जानकारीहरू उपलब्ध गराए ।

त्यहाँ केही समय बिताएपछि हामी दुल्लुतर्फ लाग्यौं । नेपाली भाषाको प्राचीन शिलालेख भएको ठाउँमा पुग्न प्रकाशले निकै रहर गरेकाले हामी त्यहाँ गयौं । शिलालेख राखेको ठाउँलाई फलामे बारले बारिएको रहेछ । शिलालेखका अक्षर खुट्याउन गाह्रो रहेछ । मैले त ‘ऊँ’ मात्र बुझें ।

योगी नरहरिनाथले आफ्नो पुस्तक ‘इतिहास प्रकाश’ मा शिलालेखको भाषालाई आधुनिक नेपाली भाषामा अनुवाद गर्नुभएको छ । त्यसमा मल्ल राजाहरूको वंशावलि उल्लेख गरिएको रहेछ । तिब्बतमाथिको विजयको प्रसंग पनि रहेछ । नेपालको पुरातत्त्वलाई नजिकैबाट नियाल्न पाउँदा मन प्रफुल्लित भयो ।

त्यतैतिर दहाल र लम्सालहरूको उद्गम थलो दह–लम्सु गाउँ पनि रहेछ । बाटोमा भेटिएका मान्छेलाई त्यहाँ पुग्ने ठाउँका बारेमा सोध्दा अलि कुनोमा पर्ने र समय पनि लाग्ने बताए । जाने मन हुँदाहुँदै पनि त्यहाँ जान सकिएन । त्यसपछि हामी अछामको मंगलसेनका लागि सोझियौं ।

मध्य पहाडीलाई पछ्याउँदै हामी तल कर्णाली नदीमा झर्यौं । त्यहाँ राकम पनि पुग्न लायक ठाउँ रहेको भए पनि त्यता जान भ्याइएन । कर्णालीको पुलमा तस्बिरहरू खिचाएर हामी पुल तरेर मंगलसेनतर्फ उकालियौं । त्यहाँ पुग्दा झमक्क साँझ परिसकेको थियो । त्यहाँ एउटा होटल खोजेर हामी बास बस्यौं र खानपिन गर्यौं ।

भोलिपल्ट बिहान उठेर हामी डोटी जाने उद्देश्यका साथ साँफेबगरतिर लाग्यौं । एउटा सानो विमानस्थल समेत रहेको अछामको साँफेबगर निकै सुन्दर रहेछ । फाँटमा रोपिएका बालीको दृश्य मनमोहक थियो । त्यहाँको एउटा होटलमा खाजा खाँदै गर्दा साहुनीले सुन्दर पर्यटकीय केन्द्र रामारोशन जाने सल्लाह दिइन् । त्यहाँबाट रामारोशन पुग्न लगभग साढे २ घन्टा लाग्ने रहेछ र फेरि मंगलसेनतिरै पुग्नुपर्ने रहेछ । हामीसँग समय नभएकाले डोटीतिर हानियौं ।

डोटीसम्मको बाटो ठीकै रहेछ । सिलगढी हुँदै दिपायल पुगेपछि हामीले भोजन गर्यौं । सेतीको किनारमा बसेर भोजन गरिएको थियो । त्यसपछि हामी अघि बढेर पहाडका रमाइला दृश्यहरू हेर्दै डडेलधुराको स्याउले पुग्यौं । त्यहाँबाट माथि डडेलधुरा बजार र तल अत्तरिया जाने बाटो छुट्टिने रहेछ । मध्य पहाडी पछ्याउँदै हामी डडेलधुरातर्फ लाग्यौं ।

बजार हेर्दै अनि मान्छेहरूलाई बाटो सोध्दै हामी बैतडीतर्फ अघि बढ्यौं । पर पुगेपछि खोड्पे भन्ने ठाउँबाट बझाङतर्फ जाने बाटो छुट्टिने रहेछ । अझै अगाडि बढ्दै जाँदा सतबाँझबाट बैतडीको सदरमुकाम गोठालापानी र दार्चुला जाने बाटो छुट्टिने रहेछ । मध्य पहाडी गोठालापानी हुँदै झुलाघाटमा पुगेर टुंगिन्छ ।

हामी मध्य पहाडी छोडेर दार्चुलातर्फ उक्लियौं । बाटो साँघुरो रहेछ । दुईवटा गाडी बल्लतल्ल वारपार हुने । बाटोमा गाडीहरू पनि खासै रहेनछन् । दार्चुला पुग्ने बेलामा बैतडीमा अक्करे भीरमा बनेको बाटोमा हिँड्दा सातो गयो । तर, हामीसँग कुशल चालक भएकाले सहजै पार गरियो ।

बैतडी र दार्चुलाको सीमामा गोकुलेश्वर भन्ने ठाउँ रहेछ । साँझ पर्न लागेकाले हामीले त्यहीँ बास बस्ने निधो गर्यौं । एउटा होटल खोजेर त्यहाँ बसियो । त्यहाँ पनि तराईको जस्तै उखुम गर्मी रहेछ । चौलानी नदीको किनारमा रहेको गोकुलेश्वर भगवान् शिवको मन्दिरका लागि प्रसिद्ध छ । बैतडीका प्रमुख तीर्थस्थलहरूमा गनिँदो रहेछ । साँझमा हामीले गोकुलेश्वर दर्शन गर्यौं । त्यसपछि भोजन गरेर हामी रातभरि फ्यान चलाएर जसोतसो सुत्यौं ।

भोलिपल्ट बिहान उठेर हामी दार्चुलातर्फ लाग्यौं । बाटो साँघुरो र अलिक अप्ठ्यारो नै थियो । जाँदै गर्दा दार्चुला बजार पुग्नुभन्दा २० किलोमिटर वरबाट महाकाली नदी र पारिको इन्डिया देखिन थाल्यो । त्यहाँ महाकाली करिडोरको बाटो बनाउन थालिएको रहेछ । यताबाट हेर्दा इन्डियाको सडक पनि चिल्लो, घरहरू पनि गजबका । हाम्रोतर्फको बाटो र घरहरूसँग तुलना गर्दा मन कटक्क खाने । द्विदेशीय अन्तरलाई मनमा गम्दै हामी दार्चुला बजार पुग्यौं ।

बजार पुगेर भोजन गरेपछि हामी सीमामा रहेको पुलमा पुग्यौं । अलि वर होचो ठाउँमा एउटा मोटरेबल पुल बनेको रहेछ तर त्यो सञ्चालनमा थिएन । हामी सीमाको सानो पुलमा पुग्दा एउटा स्वागतद्वार जस्तोमा स्व. प्रेमसिंह धामीको ‘काठमाडौंलाई कालापानी किन दुख्दैन’ लेखेको देख्यौं । त्यहाँबाट उत्तरमा रहेको कालापानी–लिपुलेक–लिम्पियाधुराको नेपाली भूमिलाई भारतले अतिक्रमण गरेको छ । यस तीतो यथार्थले उद्वेलित बनायो ।

पुल तरेर भारतीय भूमि जाने इच्छा लागेन किनकि सीमा सशस्त्र बलले धेरै सोधखोज गर्छ र परिचयपत्र माग्छ भन्ने कुरा आयो । पुलको आधा जति भागमा पुगेर हामी फर्कियौं । त्यहाँ तस्बिरहरू खिचाएर हामी फर्किने यात्रामा लाग्यौं । हाम्रो यात्राको अन्तिम विन्दु नै त्यही रह्यो ।

हामीले त्यो दिन बैतडीमा बास बस्ने योजना बनाएका थियौं । त्यसैलाई लक्षित गर्दै हामी सतबाँझ पुग्यौं र बैतडीको सदरमुकाम गोठालापानीतर्फ लाग्यौं । बाटोमा पर्ने निङ्लासैनी मन्दिरमा देवीको दर्शन गर्ने सुअवसर प्राप्त भयो । बैतडीको प्रमुख तीर्थस्थल रहेछ ।

बैतडीका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई प्रकाशका दाइ हुनुहुन्छ । उहाँलाई भेट्न हामी जिल्ला प्रशासन कार्यालय गयौं । उहाँलाई त्यही दिन बझाङ जानुपर्ने भएकाले हामीसँग एक घण्टा जति मात्र समय दिन पाउनुभयो । त्यसक्रममा उहाँले बैतडीको भौगोलिक बनोट, सामाजिक अवस्था, भारतसँगको सम्पर्क, इतिहास र राष्ट्रियता लगायतका विषयमा गहन चर्चा गर्नुभयो ।

उहाँसँग छुट्टिएर हामी झुलाघाटतर्फ लाग्यौं । त्यहाँ पनि नेपाल र भारतको बोर्डर क्रसिङ हुने रहेछ । मध्य पहाडी राजमार्गको अन्तिम विन्दु पनि त्यही हो । त्यहाँ पुग्दा हाम्रो यात्रा सफल भएको अनुभव भयो । महाकाली नदीको बहाव साँघुरो भएको ठाउँमा सानो पुल बनेको रहेछ । प्रकाश र म पारि गयौं भने चन्द्र सर वारि नै बस्नुभयो ।

पुलपारि नाकामा भारतको सीमा सशस्त्र बलको कडा चेकिङ हुने रहेछ । क्यामरातिर हेरेर फोटो खिचाउन र आधिकारिक परिचयपत्र देखाउन लगाए । प्रकाशले सबै प्रक्रिया पूरा गरे तर मेरो मोबाइलमा परिचयपत्रको स्क्रीनशट थिएन । हामी यही बजारसम्म मात्र जाने हो भनी उनीहरूको कमान्डरलाई अनुरोध गरेपछि जान दिए ।

१०–१५ वटा पसल भएका बजार रहेछन्, अरू खासै केही थिएनन् । एकछिन घुमेर हामी नेपालतर्फ फर्कियौं । बाटोमा त्रिपुरसुन्दरी देवीको दर्शन गर्यौं । त्यो विगतमा ब्रिटिश इन्डियासँगको लडाइँमा उपयोग गरिएको किल्ला पनि रहेछ ।

त्यो रात गोठालापानीमा बास बस्यौं । भोलिपल्ट उठेर हामी सतबाँझ र खोड्पे हुँदै डडेलधुरा झर्यौं । डडेलधुरामा उग्रतारा मन्दिरमा दर्शन गर्यौं । गाडीमा डिजल कम भएकाले हाल्न खोज्दा पाउन मुश्किल भयो । कि त पम्प बन्द छन्, कि त बिजुली नभएकाले हाल्न नमिल्ने स्थिति थियो । स्याउले बजारबाट अलिक अगाडि बढ्दा एउटा पेट्रोल पम्प त भेटियो र त्यसले गाडी फुल गरिदिन मानेन । तल अत्तरियासम्म पुग्ने तेल मात्र हालिदियो । त्यहाँ खासमा जर्किनमा तेल बेच्दा रहेछन्, चर्को मूल्यमा । ३०० रुपैयाँ लिटरमा किनबेच हुने रहेछ । पेट्रोल पम्प र जर्किनवालाहरूको साँठगाँठ होला ।

अब हामी मध्यपहाडी राजमार्ग छोडेर तल अत्तरियातर्फ लाग्यौं । जति तल आयो, त्यति गर्मी हुँदै गयो । बाटोमा पर्ने प्रसिद्ध बाजेको पसलमा खीर र खुवा खाइयो । त्यसपछि डरलाग्दो भासुको भीर काटेर हामी मध्य दिउँसो अत्तरिया पुग्यौं । त्यहाँबाट प्रदेश राजधानी धनगढीतर्फ नलागी हामी पश्चिमतर्फ महेन्द्रनगर गयौं । महाकालीपारिका चाँदनी दोधारा पुग्ने लक्ष्य थियो ।

महेन्द्र राजमार्गमा ड्राइभर सुनिलले बेतोडले गाडी हाँके । महेन्द्रनगरमा शारदा ब्यारेज टाढैबाट हेरियो । भारतीय सुरक्षाकर्मीहरूको समन्वयमा नजिकै जान मिल्थ्यो तर उनीहरूलाई अनुरोध गरिरहन मन लागेन । हामी चाँदनी दोधारातर्फ सोझियौं ।

महाकालीको विशाल बगरमा ठूला तालहरू बनाउने नेपाल सरकारको योजना रहेछ । निर्माणको काम खासै अघि बढेको देखिएन । अलि पर पुगेपछि महाकालीको पुल आयो । भारतले महाकालीको पानी गंगासँग जोड्नका लागि आफैंले धेरै लगेकाले नेपालतर्फ खासै पानी नै रहेनछ । त्यो देख्दा मनै अमिलो भयो । नेपालले गरेका अनेकौं असमान सन्धिमध्ये यो एक हो । यस सन्धिबाट नेपाललाई खासै केही फाइदा भएको छैन ।

चाँदनी दोधारामै एउटा आर्क ब्रिज बनेको रहेछ । त्यहाँ फोटो खिच्नका मानिसहरू ठूलो संख्यामा पुग्ने गरेकाले भाइरल पुल भनिँदो रहेछ । हामी पनि त्यहाँ पुगेर तस्बिरहरू खिचायौं । तर, उखुम गर्मी भएकाले त्यहाँ धेरै बेर बस्न सकिएन ।

हामी फर्केर अत्तरिया हुँदै पूर्वतर्फ हानियौं । कोहलपुरमा बास बस्ने लक्ष्यका साथ हामी अघि बढिरह्यौं । कैलाली र बर्दियाको सीमामा पर्ने कर्णाली पुलमा फोटो खिचाउनेहरूको भीडभाड थियो । हामीले पनि त्यहाँ तस्बिर र भिडियो खिच्यौं । साथीहरूले कर्णालीको माछा खाए, मैले भने समोसा खाएर छाक टारें ।

अब हामी बर्दिया राष्ट्रिय निकुञ्जको क्षेत्रमा प्रवेश गरेका थियौं । त्यहाँ टाइम कार्डको व्यवस्था रहेछ । एउटा निश्चित गतिमा र समयभित्र पुग्ने गरी गाडी चलाउन पाइने भएकाले बिस्तारै हामी अगाडि बढ्यौं । वन्युजन्तुहरूले क्रस गर्ने क्षेत्र भएकाले तीव्र गतिमा आएको गाडीसँग ठोकिएर उनीहरूको मृत्यु वा घाइते हुने सम्भावना भएकाले टाइम कार्डको व्यवस्था गरिएको रहेछ । बाटोमा हामीले एक ठाउँमा मृगहरू झुण्डमा चरिरहेको देख्यौं । अरू वन्यजन्तु खासै देखिएन ।

साँझको ७ः३० बजेतिर हामी कोहलपुर पुग्यौं । भयंकर गर्मी थियो । एउटा सामान्य होटल खोजेर बस्यौं । त्यहाँ एसी र फ्यान भए पनि गर्मी भगाउन सकेन । जसोतसो रात काटियो ।

बिहान उठेर हामी लमहीतिर अघि बढ्यौं । त्यहाँबाट स्वर्गद्वारी पुग्ने हाम्रो योजना थियो । भालुवाङबाट जाने कि घोराही र होलेरी हुँदै जाने भन्ने विषयमा सोधखोज गरियो । धेरैजनाले भालुवाङको बाटो जान नै सल्लाह दिए । तर, नयाँ जिल्ला पुगिने लोभमा हामी रोल्पाको बाटो जाने भइयो ।

लमहीमा ब्रेकफास्ट गरेर हामी घोराहीतर्फ अघि बढ्यौं । त्यहाँबाट हामी रोल्पाको होलेरीतिर लाग्यौं । बाटो बिग्रेको रहेछ ।

होलेरीमा सशस्त्र द्वन्द्वका क्रममा प्रहरी र माओवादीबीच भिडन्त भएको र माओवादीहरूले प्रहरीलाई बन्धक बनाएर लगेको इतिहास छ । त्यस घटनापछि तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले सेना परिचालन गर्ने निर्णय लिँदा राजा वीरेन्द्रले रोकेका थिए । अनि त्यही निहुँमा कोइरालाले राजीनामा दिएका थिए ।

प्रहरी र माओवादीको भिडन्त भएको ठाउँमा दुवैका मूर्तिहरू बनाएर राखिएका रहेछन् । द्वन्द्वको स्मरण गराउने त्यो सशक्त माध्यम हो । त्यहाँ तस्बिरहरू खिचेर हामी प्यूठानको स्वर्गद्वारीतर्फ बढ्यौं ।

बाटो राम्रो रहेनछ । तर, वरपरका डाँडाकाँडा चाहिँ सुन्दर थिए । स्वर्गद्वारीमा पुगेर गाडी रोकेर हामी आधा घण्टा जति भर्‍याङको बाटो हुँदै उकालो लाग्यौं । महाभारतको लडाइँ सकिएपछि पाण्डवहरू यही बाटो भएर स्वर्ग प्रस्थान गरेको किंवदन्ती रहेछ । त्यहाँ भक्तजनको संख्या बढेकाले मन्दिरको विस्तार र नवनिर्माणको काम चलिरहेको रहेछ । त्यहाँ अधिकांश भारतीय तीर्थयात्रीहरू थिए । नेपाली तीर्थयात्री एकाध मात्र भेटिए ।

स्वर्गद्वारी दर्शनपछि हामी भालुवाङ निस्कने सजिलो बाटो समातेर तल झर्यौं । त्यहाँ पनि ठाडो उकालो रहेछ तर बैतडीमा जस्तो सातो जाने खालको हैन । बाटोमा एउटा होटलमा पसेर भोजन गरी हामी अगाडि बढ्यौं ।

त्यतैबाट अर्घाखाँची निस्केर पाल्पा पनि जाने हो कि भन्ने सल्लाह भयो । चकचके भन्ने ठाउँबाट बाटो छुट्टिने रहेछ । तर, ड्राइभर सुनिलले पहिला पनि त्यो बाटो आएको र त्यो ठाडो एवम् अप्ठ्यारो छ भनेर जान मन गरेनन् । उनले पटक्कै नमानेपछि हामी भालुवाङतर्फ सोझियौं ।

भालुवाङबाट हामी महेन्द्र राजमार्ग पछ्याउँदै कपिलवस्तु प्रवेश गर्यौं । चन्द्रौटा पुगेर हामी दक्षिणतिर भैरहवा जाने गरी अघि बढ्यौं । त्यो रात भैरहवामा बस्ने योजना थियो । विमानस्थल नजिकको होटलमा बास बसियो ।

भोलिपल्ट उठेर हामी काठमाडौं आउनका लागि हुँइकियौं । मुग्लिनमा खाना खाएर हामी दिउँसो २ बजेतिर काठमाडौं आइपुग्यौं । यसरी हाम्रो आठ दिनको यात्रा टुंगियो । दिनको १२–१३ घण्टा जतिको यात्रा गरी हामीले पाँचवटा प्रदेश र २० वटा जति जिल्लाको भ्रमण गर्न सफल भयौं । सबै गरी २६०० किलोमिटर यात्रा गरिएछ ।

मध्य पहाडी राजमार्गको कुरा गर्नुपर्दा अझै पनि विभिन्न सडकखण्डमा धेरै काम हुन बाँकी छ । सबै खण्डको राम्रो पिच भएमा सहज र आनन्ददायी यात्रा हुने थियो ।

तर, यो बाटोको औचित्य के हो भन्ने प्रश्न पनि उठाउन सकिन्छ किनकि बाटोले छोएको ठाउँमा सन्तोषजनक आर्थिक गतिविधि भएको पाइएन । यो बाटो बनाउनका लागि २०६५ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहल गरेका थिए । तर, बाटो बनाउन ढिलाइ हुँदा पहाडका मानिस त्यहाँ होल्ड हुन सकेनन् ।

हुन त मध्य पहाडी बन्नुअघि नै तराई, काठमाडौं र विदेशतर्फ पहाडीहरूको पलायन हुन थालिसकेको थियो । तैपनि समयमा बाटो बनेको भए आर्थिक गतिविधिका कारण मानिसहरू त्यहाँ अडिन्थे होलान् । पहाडको जनसंख्या घट्दो क्रममा रहेकाले बाटोले दिने प्रतिफल खासै नरहेको अनुभूति भयो ।

तर, पहाडको कनेक्टिभिटीमा आएको क्रान्तिको सराहना गर्नैपर्छ । धेरै ठाउँमा बाटो पुगेकाले सुगमता सुनिश्चित भएको छ ।

बाटोमा बढीभन्दा बढी मानिससँग अन्तर्क्रिया गर्न पाएको भए झन् गहिरो र बृहद् बुझाइ हुन्थ्यो होला । छोटो समयमा धेरै ठाउँ कभर गर्ने हुँदा ठाउँ ठाउँमा रोकिएर मानिसहरूसँग कुरा गर्न नपाएकोमा हामी तीनैजनालाई पछुतो लागिरह्यो । तथापि, आफ्नो देशका कुनाकाप्चामा सफलतापूर्वक यात्रा गर्ने अवसर जुटेकोमा प्रफुल्लित भइएको छ ।