५ प्रदेशका १३ जिल्लामा थ्रीजी सेवा बन्द गर्दै एनसेल, भोल्टे प्रयोग गर्न आग्रह


काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेलले आफ्नो सेवालाई अत्याधुनिक प्रविधिमा स्तरउन्नति गर्ने योजना अनुसार देशका विभिन्न ५ प्रदेशका १३ जिल्लाका विभिन्न स्थानीय तहमा थ्रीजी सेवा बन्द गर्ने भएको छ ।

एनसेलले आगामी असार २२ गतेदेखि कोशी, मधेश, वागमती, लुम्बिनी र कर्णाली प्रदेशका जिल्लाहरुका स्थानीय तहमा थ्रीजी सेवा बन्द गर्न लागिएको जानकारी दिएको हो ।

एनसेलका अनुसार नयाँ प्रविधिलाई अबलम्बन गर्दै सेवाको गुणस्तर सुधार्ने उद्देश्यले फोरजी चलाउन ग्राहकहरुलाई आग्रह गरिएको छ । थ्रीजी सेवा बन्द भए पनि ग्राहकहरूले भोल्टे प्रयोग गरेर ४ जीकै सेवा लिन सक्ने छन् ।

ग्राहकले उही शुल्कमा अझ राम्रो र गुणस्तरीय भोइस तथा डाटा सेवा लिन सक्नेछन् । यसका लागि ग्राहकहरूले आफ्नो मोबाइलमा भोल्टे सेवा सक्रिय गर्नुपर्ने जानकारी एनसेलले दिएको छ ।

एनसेलका अनुसार यसका लागि मोबाइलबाट *१२३*११# डायल गर्नुपर्ने छ । त्यसपछि मोबाइलको सेटिङमा गएर भोल्टे विकल्पलाई अन’ (इल) गर्नुपर्ने छ ।

एनसेलले देशको करिब ९५ प्रतिशत जनसंख्यामा ४जी नेटवर्क विस्तार भइसकेकोले पनि ग्राहकलाई अझ उन्नत प्रविधिमार्फत उच्च गुणस्तरको सेवा प्रदान गर्न आफूहरू प्रतिबद्ध रहेको बताएको छ ।

थ्रीजी प्रविधि विस्तारै पुरानो हुँदै गएको र विश्वव्यापी रूपमै टेलिकम कम्पनीहरूले यसलाई बन्द गरेर ४जी र ५जीमा केन्द्रित भइरहेको पनि पुरानो प्रविधि बन्द गर्ने निर्णय गरेको हो ।

त्यसो त एनसलका हाल १ करोड ४६ लाख फोरजी सेवाग्राही छन । यसबाहेक थ्रीजीका ग्राहक भने जम्मा ९० हजार मात्रै रहेको नेपाल दूरसञ्चार प्राधिकरणले वैशाखमा सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । टेलिकम कम्पनीहरुले पछिल्लो समय फोरजीमा सेवा विस्तार गर्दै गएका कारण पनि थ्रीजीलाई फेज आउन गर्दै जान थालेका छन ।