
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद खड्गबहादुर बुढाले प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थर्काउने र हुकुम चलाउनेहरू को हुन् भनी प्रश्न गरेका छन् ।
प्रधानमन्त्री कार्यालयमा बोलाएर कानुन र संविधानले नचिनेका गिरोहहरूले मुलुकमा हुकुम चलाउने काम गरेको भन्दै उनले सरकारसँग उनीहरू को हुन् भनी प्रश्न गरेका हुन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकको सुरुमै बोल्दै सांसद बुढाले संविधान र कानुनले नचिनेकाहरूले प्रधानमन्त्री कार्यालयमा बसेर कालो चस्मा लगाई मुलुकमाथि शासन चलाउन खोज्नु नयाँ गिरोहको रूप भएको आरोप लगाए ।
सांसद बुढाले सबै मन्त्रालयहरूमा मन्त्री देखाउने अनुहार मात्र भएको तर त्यहाँ चलाउने अर्कै अदृश्य शक्तिहरू रहेको जिकिर पनि गरे ।
उनले भने, ‘प्रधानमन्त्रीले बुझेका छन् कि छैनन् ? अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रधानमन्त्री कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्र होइन, संवैधानिक अंग हो । यसको काम आवश्यक परेको बेला सरकारमाथि पनि निगरानी राख्ने र राज्य शक्तिमा चेक एन्ड ब्यालेन्स कायम राख्ने हो । अख्तियार कसैको गोजीको संस्था होइन । आज प्रधानमन्त्री कार्यालयले अख्तियारलाई तर्साएर आफ्नो निर्णय गराउँछ भने भोलि प्रधानमन्त्रीले बदमासी गर्दा कसले छानबिन गर्छ? कुनै बेला केटाकेटी छँदा पञ्चायतकालमा भूमिगत गिरोहको बारेमा चर्चा गरेको मैले सुनेको थिएँ। ठ्याक्कै त्यस्तै लोकतान्त्रिक गणतन्त्रमा एउटा अर्को प्रकारको गिरोहको चर्चा हुन थालेको छ । प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियारलाई थर्काउने र हुकुम चलाउनेहरू को हुन्? तिनीहरू नेपालको संविधान र कानुनले नचिनेका केवल कालो चस्मा लगाएर राज्यका संयन्त्रहरू कब्जा गर्न बसेका नयाँ गिरोहका सदस्य हुन् । जनतामा एउटा गम्भीर चिन्ता छ– मन्त्रालयमा देखिएका मन्त्रीहरू देखाउने अनुहार मात्र हुन्। वास्तविक निर्णय अरू कसैले गरिरहेको छ भन्ने व्यापक गुनासो छ। यदि यस्ता आरोपहरू सत्य हुन् भने यो लोकतन्त्रका लागि शुभ संकेत होइन। लोकतन्त्र संस्थाले चल्छ, व्यक्तिले होइन। संविधानले चल्छ, अदृश्य शक्तिहरूले होइन ।’
सांसद बुढाले मन्त्रालयमा देखिएका ती अदृश्य शक्ति र व्यक्तिहरू मुलुक र लोकतन्त्रका लागि शुभ संकेत नभएको पनि बताए।






प्रतिक्रिया