हिमालय एयरलाइन्सले जुन ४ देखि काठमाडौं शेन्जेन सिधा उडान सुरु गर्ने

287
Shares

काठमाडौं । नेपाल–चीन संयुक्त लगानीको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आगामी जुन ४, २०२६ देखि काठमाडौं र चीनको ‘सिलिकन भ्याली’ मानिने शेन्जेन सहरबीच ऐतिहासिक सिधा उडान सुरु गर्ने भएको छ।

यस नयाँ रुटको सुरुवातसँगै हिमालय एयरलाइन्सले आफ्नो क्षेत्रीय सञ्जाल विस्तार गर्ने तयारी गरेको हो। कम्पनीका अनुसार काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र शेन्जेनस्थित बाओ’आन अन्तर्राष्ट्रिय विमानस्थलबीच हप्तामा दुईवटा उडानहरू सञ्चालन हुनेछन्।

हिमालय एयरलाइन्सले सार्वजनिक गरेको तालिका अनुसार काठमाडौंबाट शेन्जेनका लागि प्रत्येक मङ्गलबार र बिहीबार राती २१:५० मा उडान हुनेछ। उक्त जहाज भोलिपल्ट बिहान ०४:३० मा शेन्जेन पुग्नेछ। त्यसैगरी, शेन्जेनबाट काठमाडौंका लागि प्रत्येक बुधबार र शुक्रबार बिहान ०५:५५ मा उडान हुनेछ, जुन सोही दिन बिहान ०८:३५ मा काठमाडौं अवतरण गर्नेछ।

यो नयाँ सेवाले नेपाल र चीनबीचको लामो समयदेखिको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास लिइएको छ। चीनको प्रमुख प्रविधि र व्यापारिक केन्द्र शेन्जेनसँग सिधा सम्पर्क जोडिँदा नेपालको पर्यटन र व्यापारिक क्षेत्रमा नयाँ अवसरहरू सिर्जना हुने कम्पनीले जनाएको छ।

विमान कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले यस ऐतिहासिक उडानप्रति उत्साह व्यक्त गर्दै भने, “हिमालय एयरलाइन्सले सधैं चीनका नयाँ गन्तव्यहरू खोज्दै नियमित उडान सञ्चालन गर्दै आएको छ। यो रुटले दुई देशका नागरिकबीचको सम्बन्ध बलियो बनाउनुका साथै पर्यटन र व्यापार प्रवर्द्धन गर्ने हाम्रो उद्देश्यलाई टेवा पुर्‍याउनेछ।”

हिमालय एयरलाइन्सले आफ्ना यात्रुहरूलाई गुणस्तरीय सेवा र सुरक्षित यात्राको अनुभव प्रदान गर्न सदैव प्रतिबद्ध रहेको र यस ऐतिहासिक उडानले यात्रुहरूलाई आरामदायी यात्राको विकल्प दिने बताएको छ।