
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटको स्वागत गरेको छ ।
सरकारले बजेटमार्फत गैरआवासीय नेपाली, वैदेशिक रोजगारमा रहेका श्रमिक र विश्वभर फैलिएको नेपाली डायस्पोराको योगदानलाई उच्च कदर गर्दै विभिन्न महत्वपूर्ण नीतिगत व्यवस्थाहरू ल्याएकोमा संघले सरकारलाई धन्यवाद समेत ज्ञापन गरेको छ ।
संघले जारी गरेको विज्ञप्तिमा संविधानले सुनिश्चित गरेको गैर-आवासीय नेपाली नागरिकता सम्बन्धी प्रावधानमा समसामयिक संशोधन गर्ने र ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने मूल नारालाई मूर्त रूप दिने घोषणाले विश्वभरका नेपालीमा खुसीको सञ्चार गरेको उल्लेख छ ।
गैर-आवासीय नेपालीलाई सबै किसिमका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्रदान गरी राष्ट्र निर्माणको मूल अभियानमा सामेल गराउने सरकारको नीतिलाई संघले ऐतिहासिक उपलब्धिको रूपमा लिएको छ ।
बजेटमा गैरआवासीय नेपालीलाई नेपालको धितोपत्र (सेयर) को दोस्रो बजारमा सहभागी गराउने, डायस्पोरा बण्ड जारी गर्ने र स्टार्टअप तथा नवप्रवर्तन क्षेत्रमा सह–लगानी प्रोत्साहन गर्ने व्यवस्था गरिएको छ । यी कदमहरूले नेपालमा वैदेशिक मुद्रा भित्र्याउन र पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका खेल्ने संघको विश्वास छ ।
विदेशमा रहेका नेपालीलाई लोकतान्त्रिक प्रक्रियामा सहभागी गराउन मतदानको अधिकार सुनिश्चित गर्ने र त्यसका लागि आवश्यक कानुनी तथा प्राविधिक पूर्वाधार तयार गर्ने घोषणालाई संघले सकारात्मक रूपमा लिएको जनाएको छ ।
साथै, नेपालमै बसेर विदेशी रोजगारदाताका लागि काम गर्न सकिने (रिमोट वर्क) लाई कानुनी आधार दिने सरकारको निर्णयले नयाँ पुस्ताका प्राविधिक र युवाहरूका लागि ठूलो अवसर सिर्जना गर्ने संघले जनाएको छ ।
वैदेशिक रोजगारमा रहेका र फर्किएका नेपाली श्रमिकको सीपलाई औपचारिक मान्यता दिने, श्रमिक सुरक्षा, बीमा, सामाजिक सुरक्षा र श्रम शोषण नियन्त्रणसम्बन्धी बजेटका व्यवस्थाहरूलाई पनि संघले स्वागत गरेको छ ।
डायस्पोराको लगानी, ज्ञान र सीपलाई नेपालको विकासमा जोड्ने विषयमा संघले विगतदेखि उठाउँदै आएका मागहरू सम्बोधन भएको भन्दै सरकार, अर्थ मन्त्रालय र सम्बन्धित निकायप्रति आभार व्यक्त गरिएको छ ।
संघले बजेटमा घोषणा गरिएका यी सकारात्मक व्यवस्थाहरूलाई यथाशीघ्र ऐन–कानुन बनाएर कार्यान्वयनको चरणमा लैजान सरकारसँग आग्रह गरेको छ ।
घोषणा गरिएका योजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक सहकार्य, सुझाव र समन्वयका लागि संघ सदैव प्रतिबद्ध रहेको समेत विज्ञप्तिमा उल्लेख छ ।





प्रतिक्रिया