
काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले स्वदेशी उद्योग र उत्पादनलाई प्रोत्साहन गर्न ठूलो आर्थिक प्याकेज ल्याउने भएको छ । विशेषगरी ५० प्रतिशतभन्दा बढी ‘भ्यालु एडिसन’ (मूल्य अभिवृद्धि) गर्ने १२ वटा वस्तुहरूलाई सरकारले विशेष सहुलियत र सुविधा दिने तयारी गरेको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज अपराह्न ४ बजे संसदमा प्रस्तुत गर्ने बजेटमा यी वस्तुहरूको प्रवर्द्धनका लागि कर छुट, सहुलियतपूर्ण ऋण र निर्यातमा अनुदान जस्ता कार्यक्रमहरू समावेश गरिएको स्रोतले जनाएको छ ।
विशेष सहुलियत पाउने १२ वस्तुहरूको सूचीमा सेरामिक टायल, प्लाइउड, सिमेन्टदेखि कार्बनिक सफ्ट ड्रिंक्स समेत छन् । यसैगरी इनर्जी ड्रिङ्कस्, पेन्ट्स, कागज, औषधि, जुत्ता र गलैंचालाई पनि विशेष सहुलियत दिइनेछ । स्रोतका अनुसार विशेष सहुलियत पाउने उत्पादनहरू हस्तकला र पोलिमरमा आधारित टाँस्ने पदार्थ समेत छन् ।
प्रधानमन्त्री बालेन शाहले यी वस्तुहरूको उत्पादनमा मात्र नभई तिनका लागि आवश्यक पर्ने कच्चा पदार्थहरू समेत नेपालमै उत्पादन गर्ने वातावरण बनाइने आश्वासन दिएका छन् ।
बजेटमा यी क्षेत्रका उद्योगहरूलाई प्रविधि हस्तान्तरण र स्वदेशी कच्चा पदार्थ प्रयोग गर्दा अतिरिक्त सहुलियत दिनेसम्मको सुविधा दिनेछ । मुलुकको व्यपार घाटा कम गर्न र रोजगारी सिर्जना गर्न ठूलो मद्दत पुग्ने विश्वास गरिएको छ ।





प्रतिक्रिया