निर्माण क्षेत्रको संकट समाधान गर्न परिसंघको माग

0
Shares

काठमाडौं । नेपाल उद्योग परिसंघले निर्माण क्षेत्रमा देखिएका गम्भीर समस्याहरूलाई तत्काल सम्बोधन गर्न सरकार तथा सम्बन्धित निकायहरूसँग आग्रह गरेको छ।

मध्यपूर्वमा जारी युद्धका कारण इन्धन र निर्माण सामग्रीको मूल्यमा भएको अत्यधिक वृद्धिका कारण निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको भन्दै परिसंघले चिन्ता व्यक्त गरेको हो।

परिसंघका अनुसार, मध्यपूर्वको युद्ध सुरु हुनुअघि (फेब्रुअरी १५ मा) प्रतिलिटर १३९ रुपैयाँ रहेको डिजेलको मूल्य हाल २२५ रुपैयाँ पुगेको छ। त्यसैगरी, निर्माण कार्यमा प्रयोग हुने बिटुमिनको मूल्य पनि प्रति केजी ७५ रुपैयाँबाट बढेर १५५ रुपैयाँ पुगेको छ।

नेपाल निर्माण व्यवसायी महासंघले उपलब्ध गराएको तथ्याङ्कलाई उद्धृत गर्दै परिसंघले जनाएअनुसार, डिजेल, मट्टितेल, बिटुमिन लगायतका सामग्री र ढुवानी लागतमा भएको यो वृद्धिका कारण निर्माण व्यवसायीहरूले हालसम्म १० अर्ब रुपैयाँभन्दा बढीको नोक्सानी व्यहोर्नु परेको छ।

‘निर्माण परियोजनाहरू प्रभावित हुँदा यससँग प्रत्यक्ष जोडिएका अन्य उद्योगहरूमा समेत शिथिलता आउने निश्चित छ,’ परिसंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसले समग्र अर्थतन्त्रको चक्रलाई नै प्रभावित बनाउने भएकाले निर्माण व्यवसायीमाथि परेको आर्थिक र मानसिक दबाब कम गर्न आवश्यक छ।’

परिसंघले निर्माण क्षेत्रलाई चलायमान बनाउन र व्यवसायीहरूको उचित समस्या सम्बोधन गर्न सरकारसँग विशेष अनुरोध गरेको छ। निर्माण क्षेत्र शिथिल हुँदा सिमेन्ट, फलामे डण्डी लगायतका अन्य उत्पादनमूलक उद्योगहरूमा समेत नकारात्मक असर पर्ने भन्दै समयमै उचित कदम चाल्न सरोकारवालाहरूको ध्यानाकर्षण गराइएको छ।