
एजेन्सी । मेटा कम्पनीले आफ्नो आम्दानीको स्रोत बढाउन र विज्ञापनमा मात्र निर्भर रहने अवस्थालाई अन्त्य गर्न नयाँ सशुल्क सब्सक्रिप्शन योजनाहरू ल्याउने तयारी गरेको छ ।
कम्पनीले प्रयोगकर्ताहरूलाई प्रिमियम फिचर्स, उत्कृष्ट अनुभव र थप पहुँच प्रदान गर्नका लागि अब मासिक शुल्क लिने बाटो रोजेको हो।
यस योजना अन्तर्गत इन्स्टाग्राम प्लस र फेसबुक प्लसको मासिक शुल्क ३.९९ डलर तोकिएको छ भने ह्वाट्सएप प्लसका लागि प्रयोगकर्ताले मासिक २.९९ डलर बुझाउनुपर्ने हुन्छ। यद्यपि मेटाले नेपाल लगायतका दक्षिण एसियाली देशहरूका लागि आधिकारिक मूल्यको घोषणा गर्न अझै बाँकी छ।
टेक क्रन्चको रिपोर्ट अनुसार ह्वाट्सएप प्लसमा प्रयोगकर्ताले व्यक्तिगत मेसेजिङ अनुभवका लागि कस्टम थिम, विशेष रिंगटोन, प्रिमियम स्टिकर्स र धेरै च्याटहरू पिन गर्ने जस्ता सुविधाहरू पाउनेछन्।
त्यसैगरी, इन्स्टाग्राम प्लसका ग्राहकहरूले आफ्नो स्टोरी कति पटक फेरि हेरियो भन्ने जानकारी पाउनुका साथै भ्युअर्स लिस्टमा नदेखिई अरूको स्टोरी प्रिभ्यु हेर्न सक्नेछन्।
इन्स्टाग्राम प्लसमा प्रयोगकर्ताले स्टोरीलाई २४ घण्टाभन्दा बढी समयसम्म राख्न मिल्ने, हप्तामा एउटा स्टोरीलाई ‘स्पटलाइट’ गरी धेरै मानिससम्म पुर्याउन मिल्ने र स्टोरी भ्युअर्स लिस्टमा नाम खोज्न मिल्ने जस्ता विशेष सुविधाहरू पनि उपलब्ध हुनेछन्। यसका साथै एनिमेटेड सुपर हार्ट रियाक्सन, कस्टम एप आइकन र बायोका लागि विशेष फन्ट जस्ता सजावटका सुविधाहरू पनि यी प्लानमा समावेश गरिएको छ।
मेटाका यी नयाँ योजनाहरू हाल सञ्चालनमा रहेको ‘मेटा भेरिफाइड’ सेवाभन्दा पूर्णतः फरक छन्, जसले केवल पहिचान प्रमाणीकरण र ग्राहक सहयोगमा ध्यान दिन्छ।
मेटाको यो योजना सामाजिक सञ्जालमा मात्र सीमित नभई एआई, क्रिएटर र बिजनेस केन्द्रित पनि रहेको छ। कम्पनीले ‘मेटा वन’ नाममा एआईका लागि दुईवटा सब्सक्रिप्शन टियरहरू पेश गरेको छ, जसमा तस्बिर र भिडियो बनाउनेहरूका लागि ७.९९ डलरको ‘मेटा वन प्लस’ र उच्च प्रयोग सीमा भएको १९.९९ डलरको ‘मेटा वन प्रिमियम’ प्लान रहेका छन्। मेटा एआईको निःशुल्क प्रयोग जारी रहने भए तापनि धेरै सामग्री उत्पादन गर्ने प्रयोगकर्ताहरू पछि सशुल्क योजना लिन बाध्य हुने देखिन्छ।
यसैगरी, क्रिएटर र व्यवसायीहरूका लागि पनि मेटाले ‘मेटा वन एसेन्सियल’ र ‘मेटा वन एडभान्स्ड’ योजनाहरू ल्याएको छ। १४.९९ डलर पर्ने एसेन्सियल प्लानमा प्रमाणीकरण र राम्रो लिङ्क फिचर्स पाइनेछ भने एडभान्स्ड प्लानमार्फत व्यवसायी र इन्फ्लुएन्सरहरूले आफ्नो पहुँच बढाउन फेसबुक फिड र सर्च रिजल्टमा प्राथमिकता पाउनेछन्। समग्रमा, मेटाले आफ्ना सबै प्लेटफर्मलाई बिस्तारै सशुल्क मोडेलतर्फ लैजाने रणनीति अपनाएको प्रष्ट देखिन्छ।









प्रतिक्रिया