
काठमाडौं । भन्सार विभागले कस्टम भ्यालुएसन डाटाबेस सिस्टममा अन्तर्राष्ट्रिय बजार मूल्य सम्बन्धी सूची समावेश गर्ने प्रक्रिया सुरू गरेको छ ।
विभागले उक्त प्रणालीलाई थप प्रभावकारी बनाउँदै अन्तर्राष्ट्रिय बजार मूल्य हेर्न मिल्ने व्यवस्था विकास गरी कार्यान्वयनमा ल्याएको हो ।
अर्थ मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले उक्त प्रणालीको शुभारम्भ गरेका हुन् ।
अर्थमन्त्री वाग्लेले प्रणाली कार्यान्वयनपछि अन्तर्राष्ट्रिय व्यापारमा थप सहजीकरण हुने, भन्सार मूल्याङ्कन प्रणाली अझ पारदर्शी र यथार्थपरक बन्ने बताएका थिए।
कार्यक्रममा अर्थ मन्त्रालयका सचिव, राजस्व सचिव, राजस्व व्यवस्थापन महाशाखा प्रमुख, भन्सार विभागका महानिर्देशक, उपमहानिर्देशक, एसियाली विकास बैंकका परामर्शदाता तथा विभागका सम्बन्धित कर्मचारीहरूको उपस्थिति थियो ।
भन्सार विभागका अनुसार यसअघि २०८२ असोज ८ गते विराटनगर भन्सार कार्यालयबाट कस्टम भ्यालुएसन डाटाबेस सिस्टमको कार्यान्वयन सुरू गरिएको थियो ।
त्यसपछि २०८२ पुस १८ गतेबाट आशिकुडा प्रणाली लागू भएका सबै भन्सार कार्यालयहरूमा यो प्रणाली विस्तार गरिएको विभागले जनाएको छ ।
विभागले यो प्रणाली कार्यान्वयनसँगै विश्व व्यापार संगठनको मूल्याङ्कन सम्बन्धी सम्झौता गट भ्यालुसनको पूर्ण रूपमा कार्यान्वयन गर्न तथा पैठारी हुने वस्तुको कारोबार मूल्य निर्धारणमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।





प्रतिक्रिया