रोशीले बगाएको बीपी राजमार्गको ३.२ किमि खण्डमा सुरूङ सहितको सडक बन्ने, आज शिलान्यास

जाइकाको २ अर्ब ६० करोड लगानीमा २ वर्षभित्र बन्ने

798
Shares

काठमाडौं । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक सहयोगमा पुनर्निर्माण हुन लागेको बीपी राजमार्गको ३.२ किलोमिटर सडक खण्डको आज शिलान्यास हुँदैछ ।

बीपी राजमार्गको बरखे खोलादेखि सुख्खा पहिरोसम्मको ३.२ किलोमिटर खण्डको सडक पुनर्निमार्ण गर्न आज शिलान्यास हुँदैछ ।

जापानी राजदूत माइदा तोरु र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले संयुक्त रुपमा उक्त खण्डको शिलान्यास गर्न लागेका हुन् ।

यो खण्ड भौगोलिक दृष्टिकोणले निक्कै जटिल र खर्चिलो भएकाले सरकारले यो खण्डको पुनर्निर्माण जापानले गरिदिओस् भन्ने इच्छा राखेको थियो । जापान सरकारले नै यो सडकको निर्माण गरेकाले सरकारले सम्पूर्ण क्षतिग्रस्त सडक पुननिर्माण गरिदिन जापान सरकारसँग कुटनीतिक रुपमा छलफल गर्दैआएको थियो ।

सरकारको आग्रह अनुसार जापान सरकारको जाइका (जापान सहयोग नियोग) उक्त खण्ड पुनर्निर्माण गरिदिन सैद्धान्तिक सहमति जनाएको हो । जापानले यो खण्ड निर्माणको लागि २०८२ कात्तिक १३ गते दुई अर्ब ६० करोड अनुदान सहयोग प्रदान गरेको थियो ।

यो खण्ड निर्माण गर्न कूल लागत २ अर्ब ८० करोड लागेपनि जापान सरकारले २ अर्ब ६० करोड नेपाली रुपैयाँ (२ अर्ब ८० करोड जापानिज ऐन) उपलब्ध गराएको छ । अपुग हुने रकम सरकारले आफै व्यहोर्ने छ ।

जाइकाले निर्माण गर्ने यो खण्डमा बाटो सोझ्याउन २० देखि ३० लम्बाई भएको केही ‘सर्ट टनेल’ (सुरूङ) समेत निर्माण हुनेछ ।

भक्तपुर काभ्रेपलाञ्चोक डिभिजन कार्यालयका प्रमुख सुमन योगेशका अनुसार यो सडक खण्डको निर्माण कार्य आगामी १९ महिनाभित्र अर्थात् सन् २०२७ को डिसेम्बरसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

परियोजनाका लागि आवश्यक ठेकेदारको छनौट जाइका स्वयंले गरेको र निर्माण कम्पनीले साइटमा आएर काम समेत सुरु गरिसकेको छ ।

निर्माण सुरु हुनुअघि परामर्शदाताबाट माटो परिक्षण भइसकेको र हाल निर्माण कम्पनीले त्यसको पुनः प्रमाणीकरण (भेरिफिकेसन) गरिरहेको योगेशले जानकारी दिए ।

यो सडक खण्ड बाहेक अन्य तीनवटा खण्डको ठेक्का प्रक्रिया अघि नै टुंगिएर निर्माण कार्य सुरु भइसकेको छ ।

महोत्तरीको बर्दिवासदेखि काभ्रेको धुलिखेलसम्म १६० किलोमिटर लम्बाइको बीपी राजमार्ग राजधानी काठमाडौंबाट पूर्वी तराई जोड्ने नेपालको महत्त्वपूर्ण राष्ट्रिय राजमार्ग हो । उक्त राजमार्ग जापान सरकारकै अनुदान सहयोगमा निर्माण गरिएको थियो ।

२०८१ सालको असोजमा अविरल वर्षा र बाढी पहिरोका कारण उक्त राजमार्गको राजमार्गको एक सय ६० किलोमिटरमध्ये २८ किलोमिटर क्षतिग्रस्त भएको थियो । विशेषगरी रोशी नदी आसपासका केही भागमा पूर्ण रुपमा क्षति भएको थियो । सामान्य वर्षा हुनासाथ पूर्ण रुपमा बन्द हुने उक्त राजमार्ग घाम लागेपछि मात्रै जसोतसो सञ्चालन भइरहेको छ ।

यसमध्ये भक्तपुर–काभ्रे सडक डिभिजनअन्तर्गत २५ किलोमिटर र सिन्धुली–रामेछाप (खाल्टे) डिभिजनअन्तर्गत ३ किलोमिटर खण्ड पर्छ ।

सडक विभागका अनुसार काभ्रेप्लाञ्चोकको रोशी खोलादेखि सिन्धुलीको नेपालथोकसम्मको १३ किलोमिटर सडकखण्ड पूर्ण रुपमा क्षतिगस्त बनेको छ भने साढे ८ किलोमिटर सडक जमिन (जग) बाटै पूर्ण रुपमा बगेको छ । बाँकी खण्डमा भने भत्केर क्षतिग्रस्त बनेको छ ।

मन्त्रालयले क्षतिग्रस्त भएको र पूर्ण रुपमा वगेको सडक खण्डलाई ४ भागमा बर्गीकरण गरेर त्यसमध्ये ३ टुक्रा खण्डको पुर्ननिर्माण गर्न ठेक्का आह्वान गरेर निर्माण कार्य सुरु गरिसकेको छ । ४ भागमध्ये तीन भाग काभ्रेप्लाञ्चोक र एक भाग सिन्धुली जिल्लाभित्र पर्छ ।

सरकारले आफ्नै खर्चमा निर्माण गर्नेगरी अहिले तीन टुक्रामा भक्तपुर–काभ्रेप्लाञ्चोक डिभिजन अन्तर्गत मूल्य अभिवृद्धि करसहित २ अर्ब ५४ करोड लागतको चारसयवेसी–भकुन्डेवेसी (११ किलोमिटर) खण्डको ठेक्का लगाएको छ ।

त्यस्तै सोहि डिभिजनअन्तर्गत २ अर्ब ४७ करोड लागतको डल्लावेसी–चारसयवेसी (साढे ८ किलोमिटर) र सिन्धुली–रामेछाप (खाल्टे) डिभिजन अन्तर्गत १ अर्ब लागतको नेपालथोक–बर्खेखोला खण्ड (५ किलोमिटर) को सडक तत्काल पुनर्निर्माण र पहिरो नियन्त्रणसम्बन्धी ठेक्का लगाइएको छ ।

कुल क्षतिग्रस्त २८ किलोमिटर सडक खण्ड अब भने ढलसहितको १० मिटर चौडाई भएको दुई लेनमा विस्तारका साथै पुनर्निर्माण हुँदैछ । यसमा सवारी गुड्ने गरी ७ मिटर चौडाईमा कालोपत्रे निर्माण हुनेछ ।

पहिले साधारण वाल उठाएर निर्माण भएको विपी राजमार्गको भत्केको खण्ड अब भने विशिष्टीकृत रुपमा निर्माण हुँदैछ ।

यसअन्तर्गत खोला किनारतर्फ जमिनमुनिबाट माइक्रो पाइल उठाएको छ । यसरी जमिनमुनिबाट उठाइएको माइक्रो पाइलमाथि आरसीसी (कंक्रिट) वाल उठाएर दुई लेनको कालोपत्रे सडक निर्माण गर्न लागिएको छ ।

यस्तै स्थानअनुसार आवश्यकताको आधारमा माइक्रो पाइलमाथि आरसीसी (कंक्रिट) वाल उठाएर सडकको पुनर्निर्माण गरिने सडक डिभिजन कार्यालय भक्तपुर–काभ्रेप्लाञ्चोकका डिभिजन प्रमुख सुमन योगेशले जानकारी दिए ।