चीनको एआई कम्पनी डीपसीकले नयाँ मोडलको मूल्य ७५ प्रतिशतले घटाउने

70
Shares

एजेन्सी । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप डीपसीकले आफ्नो प्रमुख भी४–प्रो एआई मोडलको मूल्यमा गरिएको ७५ प्रतिशत कटौतीलाई स्थायी बनाउने घोषणा गरेको छ ।

शनिबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले अब मूल्य पहिलेको तुलनामा एक चौथाइ मात्र रहने बताएको छ ।

डीपसीकले यो स्थायी मूल्य कटौती ह्वावेको एसेन्ड ९५० चिप्सको आपूर्ति बढेका कारण हो कि होइन भन्ने कुरा खुलाएको छैन । त्यसलाई कम्पनीले भी४ को कार्यक्षमता बढाउन प्रयोग गरेको थियो ।

विज्ञप्तिका अनुसार, कम्पनीले भी४–प्रो एपीआईको लागत प्रयोगको प्रकार अनुसार प्रति १० लाख टोकन ०.०२५ देखि ६ युआनमा झारेको छ जुन पहिले ०.१ देखि २४ युआन थियो । टोकन एआई मोडलले प्रशोधन गर्ने पाठको एउटा एकाइ हो ।

ह्वावेको एआई चिप बिक्रीलाई अमेरिकी निर्यात नियन्त्रणले फाइदा पुर्याएको छ जसले एनभिडियालाई चीनमा आफ्ना सबैभन्दा उन्नत सेमिकन्डक्टरहरू बिक्री गर्नबाट रोक्छ । तर, चिप बनाउने उपकरणहरूको निर्यातमा लगाइएको अन्य प्रतिबन्धहरूले ह्वावेको एसेन्ड उत्पादन बढाउने क्षमतालाई सीमित गरिदिएको छ ।

गत महिना डीपसीकले भी४ सार्वजनिक गर्दा हाई–इन्ड कम्प्युट क्षमतामा रहेका अवरोधहरूका कारण प्रो भर्सन कम शक्तिशाली फ्ल्यास भर्सनको तुलनामा १२ गुणासम्म महँगो हुने र यसको उपलब्धता सीमित हुने बताएको थियो ।

वर्षको दोस्रो आधा भागमा ह्वावे एसेन्ड ९५० सुपरनोड्स ठूलो परिमाणमा उपलब्ध भएपछि प्रो भर्सनको मूल्यमा भारी गिरावट आउने अपेक्षा गरिएको छ ।