काठमाडौँमा ‘एचआर इन द एज अफ एआई, डाटा एन्ड डिजिटल’ सम्मेलन हुँदै

21
Shares

काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र डिजिटल प्रविधिको तीव्र विकासले कार्यक्षेत्रमा ल्याएको परिवर्तनलाई मध्यनजर गर्दै काठमाडौँमा एक विशेष मानव संशाधन (एचआर) सम्मेलन आयोजना हुने भएको छ ।

काठमाडौँ फिनटेकको आयोजनामा जेठ १३ गते दिन ‘एचआर इन द एज अफ एआई, डाटा एन्ड डिजिटल’ शीर्षकमा यो सम्मेलन हुन लागेको हो ।

सम्मेलनले विशेषगरी एआईको युगमा नेतृत्वको भविष्य कस्तो हुन्छ र जनशक्तिलाई कसरी सही दिशा दिने भन्ने विषयमा बृहत् छलफल गर्ने बताइएको छ ।

यस कार्यक्रममा एचआर, बैंकिङ, एआई र डिजिटल रूपान्तरण क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूलाई एउटै मञ्चमा ल्याएर बदलिँदो परिवेशमा संस्थाहरूलाई कसरी प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउने भन्नेबारे मार्गचित्र तयार पारिने आयोजकले जनाएको छ ।

सम्मेलनमा एचआरमा एआईको प्रयोग, डाटामा आधारित रणनीतिक निर्णय, डिजिटल कर्मचारी अनुभव र भविष्यको कार्यक्षेत्र एवं सीप विकास जस्ता समसामयिक विषयहरूमा गहन बहस हुनेछ ।

सम्मेलनमा कर्पोरेट र प्रविधि क्षेत्रका ख्यातिप्राप्त विशेषज्ञहरूले वक्ताका रूपमा आ-आफ्नो प्रस्तुति दिनेछन् । भारतको बैंकिङ तथा वित्तीय क्षेत्रका स्थापित अधिकारी हर्ष कुमारले संस्थाको कार्यसंस्कृति परिवर्तनमा एचआरको भूमिकाबारे जानकारी दिनेछन् ।

त्यस्तै, प्रमाणित एआई व्यावसायिक एवं वरिष्ठ अधिकारी शिल्पाले एआई र एचआरको व्यावहारिक संयोजनबारे चर्चा गर्नेछिन् भने नेपालको बैंकिङ क्षेत्रमा एआई प्रयोगका विज्ञ आलोकले नेपाली उद्योगमा एआई भित्र्याउँदाका चुनौती र अवसरहरूबारे आफ्नो अनुभव साझा गर्नेछन्।

काठमाडौँ फिन्टेकका अनुसार यस सम्मेलनको एउटा मुख्य उद्देश्य एचआर क्षेत्रका उदाउँदा युवा प्रतिभाहरूलाई प्रोत्साहन गर्नु र उनीहरूको क्षमता उजागर गर्नु पनि हो ।

अबको एचआर पेसा परम्परागत प्रशासनिक काममा मात्र सीमित नभई डाटामा आधारित ‘पिपल इन्टेलिजेन्स’तर्फ अगाडि बढ्नुपर्ने सन्देश सम्मेलनले दिन चाहेको छ ।

यो सम्मेलन विभिन्न उद्योगका एचआर प्रबन्धकहरू, उच्च पदस्थ अधिकारीहरू, विभागीय प्रमुखहरू र नेतृत्वदायी भूमिकामा रहेका व्यक्तित्वहरूका लागि अत्यन्त उपयोगी हुने अपेक्षा गरिएको छ ।

डिजिटल रूपान्तरणले संगठनात्मक रणनीतिमा पार्ने दूरगामी प्रभावलाई बुझ्न र आफ्नो संस्थालाई आधुनिक प्रविधिसँग जोड्न चाहनेहरूका लागि यो सम्मेलन एउटा महत्वपूर्ण अवसर हुने आयोजकको विश्वास छ ।