धितोपत्र बोर्डको अध्यक्षका लागि सर्टलिस्टमा परेका ४ जनाको पृष्ठभूमि कस्तो ?

1.2k
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डको आगामी अध्यक्षमा राष्ट्र बैंकका अवकाशप्राप्त पूर्वकर्मचारी र बोर्डकै बहालवाला तथा पूर्वकर्मचारीमध्ये एक आउने निश्चित भएको छ ।

सरकारले गठन गरेको धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले एक सूचना प्रकाशित गरी आकांक्षीहरूको व्यक्तिगत विवरण माग गरेको थियो ।

सिफारिस समितिमा कुल ४७ जनाले व्यक्तिगत विवरण पेस गरेकामा समितिले ४ जनाको नाम सर्टलिस्ट गरेको छ ।

अध्यक्ष छनोट सिफारिस समितिले सेबोनका पूर्वकार्यकारी निर्देशक डा. नवराज अधिकारी, सेबोनकै कार्यकारी निर्देशक विनयदेव आचार्य, राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक मुकुन्दकुमार क्षेत्री र राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक डा. गोपाल भट्टको नाम सर्टलिस्ट गरेको हो ।

सरकारले बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका लागि नाम सिफारिस गर्न धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा (३) बमोजिम गठित अध्यक्ष छनोट सिफारिस समितिबाट वैशाख १५ मा इच्छुक व्यक्तिहरूको व्यक्तिगत विवरण माग गरेको थियो ।

उक्त तोकिएको म्यादभित्र ४७ जनाले व्यक्तिगत विवरण पेस गरेका थिए । जसअनुसार समितिले हाल चार जनाको संक्षिप्त सूची तयार पारेको हो । संक्षिप्त सूचीमा नाम समावेश भएका व्यक्तिहरूसँग सिफारिस समितिले अब थप छलफल गर्ने जनाइएको छ।

सर्टलिस्टमा परेका ४ जनासँग छलफल गरेपछि सिफारिस समितिले ३ जनाको नाम सरकारलाई सिफारिस गर्नेछ भने मन्त्रिपरिषद्ले सिफारिस भएका ३ मध्ये १ जनालाई अध्यक्ष नियुक्त गर्नेछ ।

सिफारिस समितिको सर्टलिस्टमा परेका चारै जना धितोपत्र बजारका जानकार हुन् ।

डा. नवराज अधिकारी धितोपत्र बोर्डकै कार्यकारी निर्देशकबाट अवकाश पाएका व्यक्ति हुन् ।

५८ वर्षे उमेरहदका कारण डा. अधिकारीले यही वैशाखमा अवकाश पाएका हुन् । धितोपत्र बजारकै विषयमा शोध गर्न रुचाउने अधिकारीले पुँजी बजारमै विद्यावारिधि (पीएचडी) गरेका छन् ।

अधिकारीले बोर्डको सचिव, प्रवक्ता तथा कार्यकारी निर्देशकका रूपमा काम गरेका छन् । उनी २०७९ जेठ २६ गते कार्यकारी निर्देशकमा बढुवा भएका थिए । अधिकारीले नीति निर्माण, कर्मचारी क्षमता विकास, लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि, बजार सुपरीवेक्षण र अनुगमनको क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

यस्तै, बोर्डकै कार्यकारी निर्देशक विनयदेव आचार्य पनि सर्टलिस्टमा परेका छन् । शंकरदेव क्याम्पसबाट एमबीए गरेका आचार्य धितोपत्र बोर्डमा ३० वर्षे सेवा अवधिका कारण चाँडै अवकाश हुँदैछन् । उनले धितोपत्र बोर्डमा लामो समय व्यवस्थापन विभागमा रहेर काम गरेका छन् भने नियमन र सुपरिवेक्षणमा पनि दख्खल राख्छन् ।

सर्टलिस्टमा पर्ने राष्ट्र बैंकका दुई पूर्वकार्यकारी निर्देशक मुकुन्दकुमार क्षेत्री र डा. गोपाल भट्ट हुन् ।

मुकुन्द क्षेत्री नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट २०८१ चैतमा अवकाश भएका थिए । चार्टर्ड एकाउन्टेन्ट समेत रहेका क्षेत्री रमेश हमाल धितोपत्र बोर्डको अध्यक्ष हुँदा बोर्डको सञ्चालकका रूपमा पनि काम गरेका थिए ।

यस्तै उनले राष्ट्र बैंकका तर्फबाट नेपाल स्टक एक्सचेन्जको सञ्चालक भएर पनि काम गरेका थिए ।

कार्यकारी निर्देशकका रूपमा उनले राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभाग लगायतका महत्त्वपूर्ण विभागको नेतृत्व गरेका थिए । भारतबाट चार्टर्ड एकाउन्टेन्सी र बीकम गरेका उनले बेलायतको ब्राडफोर्ड युनिभर्सिटीबाट ह्युमन रिसोर्स म्यानेजमेन्टमा मास्टर्स गरेका छन् ।

डा. गोपाल भट्ट पनि राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् । रमेश हमाल बोर्डको अध्यक्ष नियुक्त हुँदा भट्टलाई पनि सिफारिस समितिले ३ जनाको सूचीमा सिफारिस गरेको थियो । तर, सरकारले भट्टलाई नियुक्त नगरी हमाललाई अध्यक्ष नियुक्त गरेको थियो ।

उनले ‘स्टक मार्केट इफिसिएन्सी इन नेपाल’ विषयमा पीएचडी गरेका छन् ।

भट्टले राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा लामो समय काम गरेका थिए । पूँजी बजार विकासका लागि बजारमा धितोपत्रका औजारहरूको विस्तार र विविधीकरण गर्नुपर्ने तर्क उनले गर्दै आएका छन् ।

उनले शंकरदेव कलेज, एपेक्स कलेज, एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट, किंग्स कलेज, प्रेसिडेन्सियल बिजनेस स्टडिज, ह्वाइटहाउस कलेज, एभरेस्ट कलेज, क्याम्पियन कलेज र द ब्रिटिस कलेजहरूमा वित्तीय व्यवस्थापन, लगानी व्यवस्थापन, अन्तर्राष्ट्रिय वित्तीय व्यवस्थापन, फाइनान्सियल इन्स्टिच्युसन तथा मार्केट लगायतका विषयमा अध्यापन समेत गराएका छन् ।