
एजेन्सी । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा विश्वकै अग्रणी मानिने कम्पनी ‘ओपनएआई’ का मुख्य हस्तीहरूले धमाधम कम्पनी छाड्ने क्रम बढेको छ ।
हालै ओपनएआईका सह-संस्थापक तथा टेस्लाका पूर्व एआई प्रमुख आन्द्रे कार्पाथी पनि प्रतिस्पर्धी कम्पनी ‘एन्थ्रोपिक’ मा आबद्ध भएका छन् ।
एआई प्रविधिको विकासमा निकै प्रभावशाली मानिने कार्पाथीको बहिर्गमनले ओपनएआईभित्रको ‘ब्रेन ड्रेन’ लाई थप चर्चामा ल्याइदिएको छ ।
‘क्लाउड’नामक एआई मोडेल निर्माण गर्ने कम्पनी एन्थ्रोपिकमा कार्पाथीको प्रवेशलाई एआईको विश्वव्यापी होडबाजीमा कम्पनीको शक्ति विस्तारको रूपमा हेरिएको छ ।
उनले ठूला भाषा मोडेलको क्षेत्रमा आगामी केही वर्षहरू निकै निर्णायक हुने बताएका छन् ।
उनले एन्थ्रोपिकको ‘प्रि-ट्रेनिङ’ प्रमुख निक जोसेफको टोलीमा रहेर यसै सातादेखि काम सुरू गरेका हुन् ।
आन्द्रे कार्पाथीले यसअघि सन् २०२२ सम्म टेस्लाको स्व-चालित प्रविधि र एआई विकासमा नेतृत्वदायी भूमिका खेलेका थिए।
उनले सन् २०२४ मा ‘युरेका ल्याब्स’नामक एआई शैक्षिक प्लेटफर्म सुरू गर्ने घोषणा गरेका थिए ।
पछिल्लो समय ओपनएआईका प्रभावशाली व्यक्तित्वहरूले कम्पनी छाड्ने क्रम बढेको छ। यसअघि अर्का सह-संस्थापक जोन सुल्म्यान पनि एन्थ्रोपिकमा आबद्ध भइसकेका छन् ।
त्यस्तै, पूर्व मुख्य वैज्ञानिक इल्या सुत्स्केभर र ओपेनएआईकी पूर्व प्रविधि प्रमुख मिरा मुरातीले पनि कम्पनी छाडिसकेकी छन् । उनी अहिले ‘थिङ्किङ मेसिन्स’ एआई स्टार्टअपकी संस्थापक र सीईओ हुन् ।
हाल एन्थ्रोपिक र ओपनएआई बीच सबैभन्दा परिष्कृत एआई मोडेल विकास गर्ने तीव्र प्रतिस्पर्धा चलिरहेको छ।









प्रतिक्रिया