
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्यमा २७ जनाबाट छानिएर ५ जना नियुक्त भएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निगमको रिक्त सञ्चालक सदस्य पदमा पहिलोपटक खुला प्रतिस्पर्धाबाट नियुक्त भएका छन्। मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै मन्त्रीस्तरीय निर्णयबाट नियुक्त भएका सदस्यहरूको नामावली सार्वजनिक गरेको छ ।
नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा ४ बमोजिम खुला प्रतिस्पर्धाद्वारा सदस्य नियुक्त गर्न मन्त्रालयले गत वैशाख १२ गते गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गरेको थियो। सो पदका लागि २७ जनाले आवेदन दिएका थिए।
आवेदकहरूमध्येबाट शैक्षिक योग्यता, कार्य अनुभव, व्यावसायिक कार्ययोजनाको परीक्षण, प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा छनोट समितिले सिफारिस गरेका उम्मेदवारहरूलाई नियुक्त गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार कास्कीका डा. दिपक प्रसाद बास्तोला, चितवनका प्रविन भट्टराई, ललितपुरका महेश्वरभक्त श्रेष्ठ, काठमाडौंकी रुपा लामिछाने र स्याङ्जाका लिलाराज ढकाल नियुक्त भएका छन् ।
बास्तोला नेपाली सेनाका पूर्व क्याप्टेन हुन। भट्टराई नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व कर्मचारी हुन उनले हाल ड्रोन सम्बन्धी काम गरिरहेका छन । श्रेष्ठ वायुसेवा निगमकै पूर्व कर्मचारी हुन भने उनी पछिल्लो २० वर्षदेखी हवाई उड्डयन विदका रुपमा परिचित छन । लामिछाने चार्टर्ड एकाउन्टेन्ट हुन ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता जयनारायण आचार्यका अनुसार नवनियुक्त सदस्यहरूलाई नियुक्ति पत्र लिन ७ (सात) दिनभित्र मन्त्रालयमा उपस्थित हुन सूचित गरिएको छ। निगमको व्यवस्थापनलाई थप सुदृढ र व्यावसायिक बनाउन मन्त्रालयले पहिलोपटक निगमको सञ्चालकमा खुला प्रतिस्पर्धाबाट विज्ञ सदस्यहरू छनोट गरिएको उल्लेख छ ।






प्रतिक्रिया