चीनले प्रतिबन्ध लगाएका अमेरिकी विदेशमन्त्री रुबियो पनि बेइजिङ पुग्दै

217
Shares

एजेन्सी । चीनले सन् २०२० मा अमेरिकाका विदेशमन्त्री मार्को रुबियोमाथि दुईपटक प्रतिबन्ध लगाएको थियो ।

बुधबार रुबियो बेइजिङ प्रवेश गर्ने प्रतिबन्धित पहिलो अमेरिकी विदेशमन्त्री बन्दैछन् । उनी एयर फोर्स वानमा ठ्याक्कै त्यही नाइकी टेक फ्लिस लगाएर चढे जुन भेनेजुएलाका तत्कालीन राष्ट्रपति निकोलस मदुरोले गत जनवरीमा पक्राउ पर्दा लगाएका थिए । ह्वाइट हाउसले यसलाई भेनेजुएला नाइकी टेक भनेको छ ।

हङकङको स्वायत्तता र वीगर मानव अधिकारसम्बन्धी उनको कानुनको बदलामा चीनले जुलाई र अगस्ट २०२० मा तत्कालीन सिनेटर मार्को रुबियोमाथि प्रतिबन्ध लगाएको थियो । क्युबाली–अमेरिकी कम्युनिस्ट विरोधी रुबियो वीगरहरूको कथित जबर्जस्ती श्रमलाई लिएर चीनमाथि प्रतिबन्ध लगाउने संसद्को कानुनका मुख्य लेखक थिए ।

चिनियाँ प्रतिबन्धमा यात्रा प्रतिबन्ध र सम्पत्ति रोक्का समावेश थियो । ती प्रतिबन्धहरू कहिल्यै हटाइएनन् । रुबियो जनवरी २०२५ मा विदेशमन्त्रीको रूपमा अनुमोदित भएका थिए ।

साउथ चाइना मर्निङ पोस्टले मंगलबार मे १२ मा हेडलाइन दियो, ‘ट्रम्पको भ्रमणले मार्को रुबियोलाई चीन भ्रमण गर्ने पहिलो प्रतिबन्धित अमेरिकी विदेशमन्त्री बनाएको छ ।’

रोयटर्स र एएफपीले बेइजिङले रुबियोको नामको हिज्जे परिवर्तन मार्फत उनलाई प्रवेश अनुमति दिएको रिपोर्ट गरेका छन् ।

चिनियाँ अधिकारीहरूले रुबियोको नामको पहिलो चिनियाँ अक्षर बदलेका छन् । यी दुवैको उच्चारण लु भए पनि टोन र अर्थ भने फरक हुन्छन् ।

यो परिवर्तन रुबियोले पदभार ग्रहण गर्नुभन्दा चार दिनअघि जनवरी १६, २०२५ को परराष्ट्र मन्त्रालयको समाचार विज्ञप्तिमा देखिएको थियो । दुई कूटनीतिकर्मीहरूले एएफपीलाई बताए अनुसार, रुबियो पुरानो हिज्जे अन्तर्गत प्रतिबन्धित भएकाले यो परिवर्तन तत्कालका लागि निकालिएको एउटा उपाय थियो ।

चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता माओ निङले भनिन्, ‘उनको अंग्रेजी नाम बढी महत्त्वपूर्ण थियो ।’

एयर फोर्स वानमा रुबियो खैरो रंगको नाइकी टेक फ्लिस ट्य्राकसूटमा देखिए । यो ठ्याक्कै त्यही हिदर ग्रे मोडल र रंग हो जुन ३ जनवरी २०२६ को राति अपरेसन एब्सोल्युट रिजोल्भमा अमेरिकी सेनाले पदच्युत भेनेजुएलाका नेता निकोलस मदुरोलाई पक्राउ गर्दा उनले लगाएका थिए ।

त्यसपछि उनलाई यूएसएस इवो जिमा जहाजमार्फत न्युयोर्क पठाइएको थियो । मदुरोको तस्विर फैलिएको केही घण्टाभित्रै १४० डलर मूल्यको नाइकी विन्डरनर फुल–जिप नाइकीको अमेरिकी वेबसाइटमा सबै बिक्री भयो ।

ह्वाइट हाउसका सञ्चार निर्देशक स्टिभन च्युङले एयर फोर्स वनको तस्बिर पोस्ट गर्दै विदेशमन्त्री रुबियो नाइकी टेक भेनेजुएलामा ठाँटिएका छन् भनी ट्याग गरे । यो पोस्ट भाइरल भयो । केही घण्टामै एक्समा रुबियो र मदुरोका तस्विरहरू एकैसाथ जताततै फैलिए ।

ट्रम्प मे १४ र १५ मा सी जिनपिङसँगको शिखर सम्मेलनका लागि बुधबार साँझ बेइजिङ पुग्दैछन् । यस प्रतिनिधिमण्डलमा सहभागी सीईओहरूको कुल नेटवर्थ (सम्पत्ति) करिब ८७० अर्ब डलर छ । यस टोलीमा टेस्लाका इलोन मस्क, एप्पलका टिम कुक, ब्ल्याकरकका ल्यारी फिंक, गोल्डम्यान स्याक्सका डेभिड सोलोमन, ब्ल्याकस्टोनका स्टिफन श्वार्जम्यान, सिटीग्रुपकी जेन फ्रेजर र बोइङका केली ओर्टबर्ग सवार छन् ।

एनभिडियाका जेन्सेन ह्वाङ ट्रम्पको व्यक्तिगत फोनपछि मंगलबार अन्तिम समयमा एन्कोरेजबाट एयर फोर्स वानमा चढे ।

चीनले बुधबार ताइवानबारे नयाँ चेतावनी जारी गर्दै अमेरिकी हतियार बिक्रीको विरोध गरेको छ र स्वतन्त्रतालाई कुल्चने प्रतिबद्धता जनाएको छ । आफूले सीबाट न्यानो अंकमालको अपेक्षा गरेको ट्रम्पले पत्रकारहरूलाई बताए ।

रुबियोको यो विरोधाभासका तीन तहहरू छन् । ६ वर्षअघि उनले त्यस्तो कानुन लेखे जसका कारण उनलाई चीनले प्रतिबन्ध लगायो । आज उनी अमेरिकाको मुख्य कूटनीतिकर्मीका रूपमा चीन उडिरहेका छन् ।

पाँच महिनाअघि अमेरिकी सेनाले काराकासमा मादुरोलाई पक्राउ गर्यो । आज रुबियोले आफूलाई प्रतिबन्ध लगाउने देशमा मदुरोकै पोशाक लगाएर प्रवेश गरिरहेका छन् ।

रुबियोको कम्युनिस्ट विरोधी यात्रा क्युबादेखि भेनेजुएला हुँदै चीनसम्म पुगेको छ ।

ह्वाइट हाउसले उक्त तस्विरलाई “भेनेजुएला नाइकी टेक“ को रूपमा प्रचार गर्यो ।

कूटनीति अहिले मिम युद्ध बनेको छ ।

शिखर सम्मेलनको एजेन्डामा ताइवान, इरान, एआई चिप्स, दुर्लभ खनिज पदार्थ, कृषि वस्तु र बोइङ विमानहरू छन् । सीले यस्तो प्रतिनिधिमण्डललाई स्वागत गर्दैछन् जसमा चीनले कानुनी रूपमा प्रतिबन्ध लगाएको व्यक्ति समावेश छ ।

नियमहरूमा छिद्रहरू देखिएका छन् । मर्यादाका प्रोटोकलहरू फेरि लेखिएका छन् । मदुरोको ट्य्राकसुट नै अहिले वार्ताको एउटा मुख्य पासा बनेको छ ।