
काठमाडौँ । अन्तर देशीय डिजिटल भुक्तानी कारोबारलाई थप सरल र सुरक्षित गर्ने उद्देश्यले श्रीलंकाको लंका पे र नेपालको नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बीच क्रस–बोर्डर क्यूआर भुक्तानीको थालनी भएको छ ।
उक्त व्यवस्थाले श्रीलंका भ्रमण गर्ने नेपाली यात्रुहरुले कनेक्टआईपीएस वा अन्य मोबाईल बैंकिङ्ग एप मार्फत श्रीलंकामा रहेका ४ लाखभन्दा बढी लंकाक्यूआर मर्चेन्टहरुमा स्क्यान गरी सजिलै भुक्तानी गर्न सक्नेछन् ।
श्रीलंकाको कोलाम्बोमा आयोजित एक विशेष कार्यक्रममा राष्ट्र बैंक, सेन्ट्रल बैंक अफ नेपाल, नेपाल क्लियरिङ्ग हाउस लिमिटेड, लन्कापे तथा दुवै देशहरूका सहभागी बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा औपचरिक रुपमा क्रस–बोर्डर भुक्तानीको शुरुवात भएको संयूक्त रुपमा घोषणा गरिएको हो ।
यस सुरूवातलाई दक्षिण एशियाली देशहरु बीचको डिजिटल भुक्तानीको क्षेत्रीय अन्तरआबद्धताको लागि एक महत्वपूर्ण कोषेढुङ्गाको रुपमा लिइएको कम्पनीले जनाएको छ ।
यसले सुरक्षित, रियल टाइम तथा अन्तरआबद्ध माध्यमहरु प्रदान गर्दै दुई देश बीच भुक्तानी ईकोसिस्टम थप सुदृढ बनाउने विश्वास गरिएको कम्पनीले जनाएको छ ।
नेपाल र श्रीलंका बीच दीर्घकालीन ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक सम्बन्ध रहँदै आएको छ ।
दुई देश बीचको बढ्दो पर्यटन तथा व्यापारिक आदान प्रदानले यस सम्बन्धलाई थप प्रगाढ बनाएको कम्पनीले जनाएको छ ।
हाल थालनी गरिएको यस क्रस–बोर्डर भुक्तानीको व्यवस्थाले पर्यटक र व्यापारिक भ्रमणको अनुभवलाई सहज, सुरक्षित र नगदरहित भुक्तानीको विकल्प प्रदान गरेर थप सहयोग पुर्याउने अपेक्षा गरिएको कम्पनीको भनाइ छ ।
नेपाल र श्रीलंकाका राष्ट्रिय भुक्तानी पूर्वाधार बीचको अन्तर आबद्धताले साना तथा मध्यस्मस्तरीय उद्यमहरुलाई समेत अन्तराष्ट्रिय ग्राहकहरु सम्मको पहुँच दिने नयाँ अवसर सिर्जना गरेको छ ।
यस व्यवस्था अनुसार, नेपाली प्रयोगकर्ताहरुले नेपालका हाल सहभागी डिजिटल भुक्तानी एपहरु मार्फत श्रीलंकामा लंकाक्यूआर स्क्यान गरी वास्तविक समयमै भुक्तानी गर्न सक्ने छन् ।
यस्ता भुक्तानीहरु राष्ट्रिय स्तरका सुरक्षित भुक्तानी प्रणाली मार्फत हुने भएकाले भुक्तानी कर्ता तथा मर्चेन्टका लागी सुरक्षित र सहज भुक्तानीको माध्यमको रुपमा उपलब्ध हुने छ ।
यो सेवा प्रारम्भिक चरणमा लक्ष्मी सनराइज बैंकले इस्युअर बैंकको रूपमा सुरू गरेको छ ।
जसअनुसार लक्ष्मी सनराइज बैंकद्वारा जारी गरिएका डलर कार्ड/इन्स्ट्रुमेन्टहरू कनेक्ट आइपीएस एपसँग लिंक गरी श्रीलंकामा क्यूआर भुक्तानी गर्न सकिने छ ।
आगामी दिनमा अन्य मोबाइल बैंकिङ एपहरूमा पनि यो सुविधा थप गरिने बताइएको छ ।









प्रतिक्रिया