कक्षा १२ को प्रश्नपत्र परीक्षाअगावै बाहिर ल्याउने दुई जना पक्राउ

77
Shares

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा सुरु हुनुभन्दा केही समय अगावै प्रश्नपत्र र त्यसको उत्तर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्युरो, भोटाहिटीको टोलीले सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ८ घर भई हाल काठमाडौंको सुविधानगर बस्ने ३७ वर्षीय निराजन शाही र धादिङ नीलकण्ठ नगरपालिका वडा नं. ३ घर भई हाल कपन बस्ने ३० वर्षीय प्रेम कुमार श्रेष्ठलाई सोमबार चाबहिलबाट पक्राउ गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डको पत्राचारका आधारमा ब्युरोले गरेको प्राविधिक विश्लेषण र अनुसन्धानबाट उनीहरूको संलग्नता पुष्टि भएको हो ।

प्रहरीका अनुसार उनीहरूले ‘क्लास १२ म्यानेजमेन्ट अन्ली’ नामक ह्वाट्सएप ग्रुप र फेसबुक मेसेन्जरका विभिन्न ग्रुपहरू बनाएर प्रश्नपत्र उत्तरसहित बाहिर ल्याउने गरेका थिए ।

पक्राउ परेका दुवै जनामाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । उनीहरूलाई जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।