
एजेन्सी । सन् २०२४ को डिसेम्बर महिनामा स्पेनको तटभन्दा करिब ६० माइल टाढा भूमध्यसागरमा एउटा रुसी कार्गो जहाज उर्सा मेजर रहस्यमय परिस्थितिमा डुब्यो ।
बाहिरी रूपमा यो एउटा सामान्य दुर्घटना जस्तो देखिए पनि सीएनएनको एक विशेष अनुसन्धानले यस घटनाको पछाडि विश्वव्यापी भूराजनीति, आणविक प्रविधिको अवैध ओसारपसार र पश्चिमा शक्तिहरूको गुप्त हस्तक्षेपको एउटा सनसनीपूर्ण कथा लुकेको देखाएको छ । अनुसन्धानका अनुसार, यो जहाजले उत्तर कोरियाका लागि दुईवटा पनडुब्बीमा प्रयोग हुने आणविक रिएक्टरहरू बोकेको हुनसक्ने बलियो आधार फेला परेको छ ।
उर्सा मेजरको यो यात्रा र यसको अन्त्यको कथा डिसेम्बर २३, २०२४ देखि सुरु हुन्छ । तर, यसको गहिराइ बुझ्न अलि अघि जानुपर्ने हुन्छ । यो जहाज रुसको सेन्ट पिटर्सबर्गबाट हिँड्नुभन्दा दुई महिनाअघि मात्र उत्तर कोरियाली नेता किम जोङ उनले युक्रेनमा रुसी आक्रमणलाई सघाउन आफ्ना हजारौं सैनिकहरू पठाएका थिए ।
विश्लेषकहरूका अनुसार, रुसले उत्तर कोरियाको यो गुन तिर्नका लागि उनलाई अत्यन्तै संवेदनशील आणविक पनडुब्बी प्रविधि उपहार स्वरूप वा व्यापारिक सम्झौता अन्तर्गत पठाउन खोजिरहेको थियो । यो प्रविधि उत्तर कोरियाको हातमा पुगेको भए त्यसले पूर्वी एसिया र समग्र विश्वको सुरक्षा सन्तुलनलाई नै खतरामा पार्न सक्थ्यो ।
जहाजको यात्रा सुरुदेखि नै शंकास्पद थियो । रुसको सरकारी कम्पनी ओबोरोनलगिस्टिक्सको स्वामित्वमा रहेको यो जहाजले आधिकारिक रूपमा दुईवटा ठूला क्रेन, केही कन्टेनर र ढलका ढक्कन जस्ता देखिने वस्तुहरू बोकेको दाबी गरेको थियो ।
यसको गन्तव्य रुसकै सुदूर पूर्वमा रहेको भ्लादिभोस्तोक भनिएको थियो । तर, रुसको एक छेउबाट अर्को छेउमा सामान पुर्याउन रेल मार्गको विशाल सञ्जाल हुँदाहुँदै समुद्रको लामो र जोखिमपूर्ण बाटो रोज्नु नै पहिलो शंकाको विषय थियो ।
सीएनएनले विश्लेषण गरेको लोडिङ भिडियोहरूमा जहाजको भित्री भागमा ठूला वस्तुहरू लुकाइएको र त्यसको माथि क्रेनहरू राखिएको देखिएको छ ।
डिसेम्बर २२ को बिहान यो जहाज पोर्तुगाली जलक्षेत्र पार गरी स्पेनी जलक्षेत्रमा प्रवेश गर्दा यसको गति अचानक कम भयो ।
स्पेनी समुद्री अधिकारीहरूले जहाजमा कुनै समस्या छ कि भनेर सोध्दा चालक दलले सबै ठीक रहेको जवाफ दिएका थिए ।
तर, ठ्याक्कै २४ घण्टापछि डिसेम्बर २३ को दिउँसो जहाजबाट आपतकालीन सन्देश आयो । जहाजको दायाँ भागमा तीनवटा शक्तिशाली विस्फोट भएका थिए जसमा दुईजना कर्मचारीको मृत्यु भयो । बाँकी १४ जना कर्मचारीहरू लाइफबोटमार्फत बाहिर निस्किए र उनीहरूलाई स्पेनी उद्धार टोलीले उद्धार गर्यो ।
घटनाको सबैभन्दा नाटकीय मोड तब आयो जब उर्सा मेजरलाई सुरक्षा दिइरहेको रुसी सैन्य जहाज इवान ग्रेनले स्पेनी उद्धार टोलीलाई जहाजको नजिक जानबाट रोक्यो । स्पेनी उद्धारकर्मीहरूले जहाज डुब्न लागेको र त्यहाँ कोही बाँकी छ कि भनेर हेर्न चाहे पनि रुसी सेनाले उनीहरूलाई दुई नटिकल माइल टाढै बस्न आदेश दियो ।
राति १० बजेतिर रुसी जहाजबाट रातो रंगको फ्ल्यायर (संकेत) फालिएपछि पानीमुनि चारवटा ठूला विस्फोटहरू भए । स्पेनी भूकम्प मापन केन्द्रले ती विस्फोटहरू पानीमुनिको माइन वा शक्तिशाली बम जस्तो रहेको पुष्टि गरेको छ । केही बेरमै उर्सा मेजर समुद्रको २५ सय मिटर गहिराइमा विलीन भयो ।
रुसी चालक दलका सदस्यहरूलाई स्पेनको कार्टाहेना बन्दरगाहमा ल्याइएपछि स्पेनी अनुसन्धानकर्ताहरूले सोधपुछ गरे । सुरुमा मौन रहेका जहाजका क्याप्टेन इगोर अनिसिमोभले पछि एउटा सनसनीपूर्ण खुलासा गरे । जहाजको आधिकारिक सूचीमा ढलका ढक्कन भनिएका वस्तुहरू वास्तवमा पनडुब्बीमा प्रयोग हुने दुईवटा आणविक रिएक्टरका पार्टपुर्जाहरू थिए, उनले स्वीकार गरे ।
यो सामान रुसको अर्को बन्दरगाहमा नभई उत्तर कोरियाको रासन बन्दरगाहमा पुर्याउनुपर्ने उनको विश्वास रहेको उनले बताए । क्याप्टेनको यस बयानले पश्चिमा गुप्तचर निकायहरूको आशंकालाई सत्य साबित गरिदियो ।
यो घटनाको अर्को रहस्यमय पक्ष जहाजको जिउमा भेटिएको प्वाल हो । अनुसन्धानका अनुसार, जहाजको जिउमा करिब ५० सेन्टिमिटरको एउटा प्वाल भेटिएको थियो जसको धातु भित्रतिर मोडिएको थियो । विज्ञहरूका अनुसार, यस्तो प्वाल बाराकुडा नामक विशेष प्रकारको सुपरक्याभिटेटिङ टोर्पिडोले मात्र बनाउन सक्छ ।
यस्तो प्रविधि रुस, अमेरिका र इरान जस्ता केही सीमित देशहरूसँग मात्र छ । रुसले उत्तर कोरियालाई आणविक प्रविधि हस्तान्तरण गर्न लागेको थाहा पाएपछि कुनै पश्चिमा सैन्य शक्तिले (सम्भवतः अमेरिकाले) यसलाई रोक्न गुप्त रूपमा यो आक्रमण गरेको हुनसक्ने आशंका गरिएको छ ।
यो घटना जो बाइडनको राष्ट्रपतिकालको अन्तिम दिनहरूमा भएको थियो जब अमेरिका रुससँग सिधै युद्धमा नहोमिएर पनि उसका रणनीतिक चालहरूलाई विफल पार्न चाहन्थ्यो ।
जहाज डुबेपछि पनि यसको वरिपरिको रहस्य सकिएको छैन । अमेरिकी वायुसेनाका दुर्लभ न्युक्लियर स्निफर विमानहरू, जसले हावामा रेडियोधर्मी कणहरू पत्ता लगाउँछन्, त्यस क्षेत्रमा दुईपटक उडान भरेका छन् । यस्ता विमानहरू सामान्यतया रुसी आर्कटिक वा इरानको आणविक गतिविधि निगरानी गर्न मात्र प्रयोग गरिन्छ ।
यसका साथै, जहाज डुबेको एक हप्तापछि रुसी जासुसी जहाज यान्तार त्यस क्षेत्रमा पुगेर पाँच दिनसम्म बसेको थियो । यान्तारले पानीमुनि रहेका उर्सा मेजरका अवशेषहरूलाई नष्ट गर्न वा त्यहाँबाट महत्त्वपूर्ण डेटा रिकभर गर्न थप विस्फोटहरू गरेको आशंका गरिएको छ ।
स्पेनी सरकारले यस विषयमा निकै कम जानकारी सार्वजनिक गरेको छ । विपक्षी सांसदहरूको दबाबपछि मात्रै सरकारले क्याप्टेनको बयान र रिएक्टरको कुरा स्वीकार गरेको हो । तर, सरकारले २५ सय मिटरको गहिराइबाट जहाजको ब्ल्याक बक्स निकाल्न प्राविधिक रूपमा असम्भव र जोखिमपूर्ण रहेको दाबी गर्दै आएको छ ।
यद्यपि, धेरै विज्ञहरूले यो कुरामा विश्वास गरेका छैनन् । आधुनिक प्रविधिले यति गहिराइबाट सामान निकाल्न असम्भव छैन र शायद कसैले पहिले नै त्यो ब्ल्याक बक्स कब्जा गरिसकेको हुनसक्ने उनीहरूको भनाइ छ ।
यो सम्पूर्ण प्रकरणले रुस र उत्तर कोरियाबीचको खतरनाक सैन्य साझेदारीलाई उजागर गरेको छ । उत्तर कोरियाले लामो समयदेखि रुससँग आणविक पनडुब्बी बनाउने प्रविधि माग गर्दै आएको थियो ।
डिसेम्बर २०२५ मा उत्तर कोरियाले आफ्नो पहिलो आणविक पनडुब्बीको फोटो सार्वजनिक गर्दा विश्वभर चिन्ता बढेको थियो । उर्सा मेजरमा पठाइएका रिएक्टरहरू शायद सोही पनडुब्बीका लागि हुनसक्ने अनुमान गरिएको छ ।
रुसले यसरी नै उत्तर कोरियालाई प्रतिबन्धित प्रविधिहरू उपलब्ध गराउँदै जाने हो भने यसले दक्षिण कोरिया, जापान र समग्र प्रशान्त क्षेत्रको सुरक्षालाई ठूलो खतरामा पार्ने निश्चित छ ।









प्रतिक्रिया