सेयर बजार म्यानिपुलेट गर्न बोट परिचालन गरेर खरिद आदेश, २ वर्षदेखि नेप्सेको सिस्टम अडिट भएन

7k
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सूचना प्रविधि प्रणालीमा गम्भीर चुनौति देखिएको छ । पी. आनन्द एन्ड एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सले तयार पारेको आर्थिक वर्ष २०८१/०८२ को प्रारम्भिक लेखापरीक्षण प्रतिवेदनले नेप्सेका सूचना प्रविधि सुशासन र सुरक्षा प्रणालीमा गम्भीर विचलन देखाएको हो ।

नेप्सेले सञ्चालक समितिको अनुमतिबिना नै कारोबार प्रणालीको संवेदनशील प्रक्रिया घरबाटै सञ्चालन गरेको, अनिवार्य प्रणाली लेखापरीक्षण नगरेको र बजारमा ‘बोट’ मार्फत हुने अस्वाभाविक कारोबारलाई प्रश्रय दिएको पाइएको छ ।

प्रतिवेदनले नट्स बोडको रिमोट (टाढाबाट) सञ्चालन भइरहेको र यो अत्यन्त गम्भीर (सुशासन र सुरक्षाको ठूलो विफलता) रहेको बउल्लेख गरेको छ । कोर ट्रेडिङ प्रणालीको सुरक्षामा असर पार्ने सुशासन सम्बन्धी निर्णयहरूका लागि सञ्चालक समितिको स्वीकृति आवश्यक परेपनि नेप्सेमा भने व्यवस्थापन स्तरको टिप्पणीका आधारमा काम गरिएको रिपोर्टले जनाएको छ।

‘२०८१ पुस १८ देखि नेप्सेको अनलाइन कारोबार प्रणालीको दिनको सुरुवात प्रक्रिया प्रणाली सञ्चालन कर्मचारीहरूले घरबाटै गरिरहेका छन् । यो कार्य व्यवस्थापन-प्रमुख कार्यकारी अधिकृतको स्वीकृतिमा भइरहेको र सुरक्षाको दृष्टिकोणमा यति ठूलो परिवर्तन ल्याउने निर्णयका लागि सञ्चालक समितिबाट कुनै औपचारिक प्रस्ताव पारित भएको देखिँदैन,’ प्रतिवेदनमा भनिएको छ, ‘यसलाई गम्भीर सूचना–सुरक्षाको विषय मान्नुको साटो सामान्य कर्मचारी प्रशासनको विषयको रूपमा हेरिएको छ ।’

रिपोर्टले यसरी सञ्चालक समितिको अधिकार क्षेत्रभित्र पर्ने उच्च जोखिमयुक्त सुरक्षा निर्णय व्यवस्थापन स्तरबाटै गरिएको बताएको छ । तालिमप्राप्त वैकल्पिक कर्मचारीहरूको अभाव हुनु र जोखिमपूर्ण विकल्पमा भर पर्नुले पनि नेप्सेको प्रणाली जोखिमपूर्ण रहेको लेखिन्छ ।

प्रतिवेदनले नेप्सेको अनिवार्य प्रणाली लेखापरीक्षणको उल्लंघन भएको पनि जनाएको छ । धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम १२(३) को विपरीत नेप्सेले हरेक २ वर्षमा गर्नुपर्ने अनिवार्य ‘सिस्टम अडिट’ गर्न असफल भएको रिपोर्टमा उल्लेख छ ।

अन्तिम पटक आर्थिक वर्ष २०७९/८० मा लेखापरीक्षण गरिएकोमा २०८२ मंसिर २० सम्म पनि नयाँ लेखापरीक्षण प्रक्रिया सुरु भएको छैन । यसले गर्दा कोर ट्रेडिङ इन्जिन लामो समयदेखि स्वतन्त्र सुरक्षा प्रमाणीकरण बिना नै चलिरहेको छ ।

रिपोर्ट नियमनविहीन बोटको प्रयोग र बजार चलखेलको जोखिमका विषयमा पनि बोलेको छ । समयमै प्रणाली लेखापरीक्षण नभएको अवस्थामा कारोबार लगहरूको अध्ययन गर्दा शंकास्पद गतिविधिहरू फेला परेका छन् ।

‘बजार खुल्ने बित्तिकै (बिहान ११ः०० बजे), अर्डरहरू ११ः००ः००.००१ (एक मिलिसेकेन्ड) मै कार्यान्वयन भइरहेका छन् । यो गति मानवले गर्न असम्भव छ र यसले अनियन्त्रित बोटको प्रयोग भएको स्पष्ट पार्छ,’ रिपोर्टमा भनिएको छ, ‘नेपालमा यस्तो कारोबारलाई नियमन गर्ने कानुन नभएको अवस्थामा, प्रविधिमा पहुँच भएका सीमित लगानीकर्ताहरूले प्रणालीको दुरुपयोग गरी सर्वसाधारण लगानीकर्तालाई घाटा पुर्‍याइरहेको र बजारको निष्पक्षतामा प्रश्न उठेको देखिन्छ ।’

नेप्सेमा आईटी विकास विभागलाई निष्क्रिय राखिएको र आईटी सञ्चालन विभागले नै सफ्टवेयर विकासको काम गरिरहेकोले यसले स्वार्थको द्वन्द्व सिर्जना गरेको प्रतिवेदनमा उल्लेख छ । ‘यसमा करारका कर्मचारीहरूलाई समेत मुख्य प्रणालीमा पहुँच दिइएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘एउटै व्यक्तिले कोड लेख्ने र त्यसलाई बजारमा लागू गर्ने गर्नाले यो एउटा ‘ब्ल्याक बक्स’ वातावरण बनेको छ, जहाँ चलखेल र ठगीको उच्च सम्भावना रहन्छ ।’