विदेशी पर्यटकलाई भिसामा कडाइ गर्दै थाइल्यान्ड, संख्याभन्दा गुणस्तरमा जोड

112
Shares

एजेन्सी । थाइल्यान्डले विदेशी आगन्तुकका लागि आफ्नो भिसा नियमहरूमा कडाइ गर्ने तयारी गरिरहेको छ ।

सरकारले पर्यटकको कुल संख्याभन्दा पनि उनीहरूको गुणस्तरमा ध्यान केन्द्रित गर्दै र सुरक्षा जाँचलाई मजबुत बनाउन सबै प्रमुख भिसा श्रेणीहरूको पुनरवलोकन गरिरहेको छ ।

सरकारी प्रवक्ता रचादा धन्दिरेकका अनुसार, प्रधानमन्त्री अनुतिन चर्नविराकुलले वर्तमान भिसा नियमहरूमा सुधार आवश्यक रहेको मन्त्रीहरूलाई जानकारी गराएका छन् । बैंकक पोस्टको रिपोर्ट अनुसार, यो पुनरवलोकन प्रक्रियाले पर्यटक, विद्यार्थी र लगानीकर्ताहरूलाई जारी गरिने भिसाहरूलाई समेट्नेछ ।

विदेशीहरूका लागि सहज प्रवेश व्यवस्थाका कारण विभिन्न समस्याहरू उब्जिएको भन्दै सरकारले उपप्रधानमन्त्री पाकोर्न निलप्रापुन्तलाई यस पुनरवलोकन प्रक्रियाको नेतृत्व गर्ने जिम्मेवारी दिएको छ ।

पर्यटन तथा खेलकुद मन्त्री सुरासाक पञ्चरोएनवोराकुलले हालको भिसा नीतिले सहज पहुँच र नियन्त्रणबीच सही सन्तुलन कायम गरेको छ कि छैन भन्ने विषयमा छलफल भइरहेको बताए । उनले सहज यात्रा नियमले गर्दा केही जटिलताहरू सिर्जना भएकाले अहिले सूक्ष्म परीक्षणको आवश्यकता देखिएको उल्लेख गरे ।

मन्त्रिपरिषद्ले भिसा मापदण्ड परिमार्जन गर्न र कडा छनोट प्रक्रिया सिफारिस गर्न एउटा विशेष समिति गठन गर्ने अपेक्षा गरिएको छ । यसको मुख्य उद्देश्य थाइल्यान्डको अन्तर्राष्ट्रिय आकर्षणलाई कायम राख्दै सुरक्षा प्रणालीलाई बलियो बनाउनु हो ।

थाइल्यान्डले हाल कार्यान्वयनमा रहेको ६० दिने भिसा–मुक्त प्रवेश कार्यक्रमलाई अन्त्य गर्ने बारे पनि गम्भीरतापूर्वक विचार गरिरहेको छ । विदेश मन्त्रालयले यसबारेको प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने तयारी गरेको छ ।

प्रस्तावित परिवर्तनहरू लागू भएमा आगन्तुकहरूले कडा पृष्ठभूमि जाँचको सामना गर्नुपर्नेछ । अब आर्थिक क्षमताको प्रमाण पेश गर्दैमा मात्र भिसा स्वीकृत हुने ग्यारेन्टी रहने छैन ।

मन्त्री सुरासाकले भने, ‘सरकारले पर्यटकको संख्यालाई भन्दा पनि उनीहरूको गुणस्तरलाई प्राथमिकता दिनेछ ।’ पर्यटकको संख्या धेरै हुनुले सधैं देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउँछ भन्ने हुँदैन, उनले थपे ।

प्रधानमन्त्री अनुतिनले भिसा नियममा गरिने कुनै पनि परिवर्तनका लागि विभिन्न सरकारी निकायहरूसँग परामर्श गरिने बताए ।

‘भिसा–मुक्त प्रवेशको अर्थ बिना कुनै शर्त मानिसहरूलाई भित्रिन दिनु होइन,’ उनले स्पष्ट पारे, ‘पहिले धेरैले थाइल्यान्डले किन भिसा–मुक्त सुविधा दिएन भनेर प्रश्न गर्थे । तर अब हामीले राष्ट्रिय सुरक्षा र आर्थिक हितबीचको सबैभन्दा उपयुक्त सन्तुलन खोज्नुपर्ने भएको छ ।’