
एजेन्सी । सन् २०२६ को वसन्त सत्रमा अमेरिकी कलेजहरूमा स्नातक तहमा भर्ना हुने विदेशी विद्यार्थीहरूको संख्यामा औसत २० प्रतिशतले गिरावट आएको छ ।
शिक्षा सम्बन्धी संस्थाहरूको गठबन्धन नाफ्सा सहितको अध्ययनलाई उद्धृत गर्दै ब्लूमबर्गले जनाए अनुसार, यो गिरावट ट्रम्प प्रशासनको कडा भिसा नियम र नीतिगत परिवर्तनहरूको परिणाम हो ।
सर्वेक्षण गरिएका १४९ अमेरिकी विद्यालयहरूमध्ये ६२ प्रतिशतले सन् २०२५ को तुलनामा स्नातक र स्नातकोत्तर दुवै तहमा विदेशी विद्यार्थीहरूको संख्या घटेको जानकारी दिएका छन् । विश्वविद्यालयहरूले वसन्त सत्रको यस प्रवृत्तिलाई आगामी शरद ऋतुको मुख्य भर्ना सिजनका लागि प्रारम्भिक चेतावनीका रूपमा लिएका छन् ।
सामान्यतया विदेशी विद्यार्थीहरूले पूर्ण शिक्षण शुल्क तिर्ने हुनाले उनीहरू विश्वविद्यालयको आर्थिक अवस्थाका लागि मेरुदण्ड मानिन्छन् । अमेरिकामा स्थानीय विद्यार्थीहरूको संख्या घट्दै गइरहेको अवस्थामा विदेशी विद्यार्थीहरूको यो गिरावटले धेरै शैक्षिक संस्थाहरूको बजेटमा ठूलो चाप पर्न सक्ने देखिएको छ ।
अध्ययनमा संलग्न ८४ प्रतिशत विद्यालयहरूले भर्ना दर घट्नुको मुख्य कारण सरकारका प्रतिबन्धात्मक नीतिहरूलाई मानेका छन् । झण्डै एक तिहाइ संस्थाहरूले यो गिरावटले बजेट कटौतीको अवस्था निम्त्याउन सक्ने बताएका छन् ।
गत वर्षको वसन्त ऋतुमा अध्यागमन अधिकारीहरूले दर्जनौं विदेशी विद्यार्थीहरूलाई क्याम्पस र होस्टलबाटै नियन्त्रणमा लिएका थिए र हजारौंको कानुनी हैसियत खारेज गरिदिएका थिए । यद्यपि पछि धेरै मुद्दाहरू उल्टाइयो तर यसले विद्यार्थीहरूको मनोविज्ञानमा नराम्रो असर पारेको छ ।
तथ्यांक अनुसार, गत वर्षको तुलनामा अन्तर्राष्ट्रिय भर्ना समग्रमा १.४ प्रतिशतले घटेको थियो । तर, पछिल्लो समयमा भिसा जारी हुने दरमा ३६ प्रतिशतले गिरावट आएको छ ।
रिपोर्टका अनुसार, क्यानडा, अस्ट्रेलिया र बेलायत जस्ता देशहरूमा पनि विदेशी विद्यार्थीको संख्या घटेको छ जबकि युरोप र एसियाका विश्वविद्यालयहरूमा भने विदेशी विद्यार्थीहरूको आकर्षण बढ्दै गएको पाइएको छ ।









प्रतिक्रिया