इरानमाथि यूएईले गोप्य आक्रमण गरेको खुलासा

868
Shares

एजेन्सी । संयुक्त अरब अमिरात (यूएई) ले गत महिनाको सुरुमा इरानमाथि आक्रमण गरेको खुलासा भएको छ ।

वाल स्ट्रिट जर्नलमा सोमबार प्रकाशित एक रिपोर्ट अनुसार, यसअघि सार्वजनिक नभएको खाडी मुलुक यूएईको यो सैन्य सहभागिताले इरान–अमेरिका युद्धमा नयाँ मोड ल्याएको छ ।

अमेरिकी अखबारका अनुसार, यूएईको आक्रमणले इरानको लावान टापुमा रहेको एउटा तेल प्रशोधन केन्द्रलाई निशाना बनाएको थियो । यो आक्रमण ठ्याक्कै त्यही समयमा भएको थियो जब अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पाँच हप्ता लामो हवाई आक्रमणको अभियानपछि युद्धविरामको घोषणा गरिरहेका थिए ।

रिपोर्टमा एक अज्ञात स्रोतलाई उद्धृत गर्दै भनिएको छ– अमेरिकाले यूएईको यस स्ट्राइक र युद्धमा सामेल हुन चाहने अन्य खाडी मुलुकहरूको कदमलाई मौन स्वागत गरेको छ । समाचार एजेन्सी एएफपीले यूएईको यस आक्रमणको स्वतन्त्र रूपमा पुष्टि गर्न भने सकेको छैन ।

यस घटनाको विवरण दिँदै इरानी सरकारी सञ्चारमाध्यम आईआरआईबीले अप्रिल ८ को बिहान १० बजे लावान टापुको तेल केन्द्रमा कायरतापूर्ण आक्रमण भएको बताएको थियो । त्यसको केही घण्टापछि नै इरानले यूएई र कुवेतमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण सुरु गरेको थियो ।

युद्धविराम लागू भएको केही घण्टाभित्रै यूएईले आफूमाथि १७ वटा इरानी क्षेप्यास्त्र र ३५ वटा ड्रोन प्रहार भएको जानकारी दिएको थियो । सोही बिहान कुवेतको सेनाले पनि आफ्ना विद्युत् केन्द्र, खानेपानी प्रशोधन केन्द्र र तेल केन्द्रहरूमा भीषण आक्रमण भएको बताएको थियो ।

यी आक्रमणहरूले भर्खरै घोषणा गरिएको कमजोर युद्धविरामको सुरुमै कडा परीक्षा लिएका थिए ।

आक्रमणको निशाना बनेको लावान टापुको प्रशोधन केन्द्र इरानको ऊर्जा क्षेत्रका लागि महत्त्वपूर्ण मानिन्छ । सन् २०२० को तथ्यांक अनुसार, यो इरानको १०औं ठूलो रिफाइनरी हो जसले दैनिक ६० हजार ब्यारल कच्चा तेल प्रशोधन गर्ने क्षमता राख्छ ।
राष्ट्रपति ट्रम्पले इरानको शान्ति प्रस्तावलाई अस्वीकार्य भनेपछि र यूएईको यो नयाँ सैन्य संलग्नता सार्वजनिक भएपछि यस क्षेत्रमा युद्धविरामको भविष्य झन् अन्योलमा परेको छ ।