
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको (२०८२ सालको) माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सोमबार राति ९ः१५ बजे सार्वजनिक गरेको छ । सरकारले वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्नुपर्ने समयसीमा दिएपछि बोर्डले तीव्रगतिमा तयारी गरी परीक्षा सम्पन्न भएको २९ दिनमा नतिजा सार्वजनिक गरेको हो ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा सोमबार राति ९ः१५ बजे आयोजित पत्रकार सम्मेलनमा एसइई परीक्षामा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका शिक्षासचिव चुडामणि पौडेलले जानकारी दिए ।
उनका अनुसार परीक्षामा दुई लाख ८४ हजार १६० विद्यार्थी ग्रेडेड भएका र एक लाख ४६ हजार ५०७ परीक्षार्थी ननग्रेडेड भएका छन् ।
यसपटक एसइईमा दुई लाख ५७ हजार ५२७ छात्रा र दुई लाख ५२ हजार ४३४ छात्रले परीक्षाको फाराम भरेकामा चार लाख ३० हजार ६६७ जना परीक्षामा सहभागी भएका शिक्षासचिव पौडेलले जानकारी दिए ।
सार्वजनिक नतिजाअनुसार ४८ हजार ३९२ परीक्षार्थीले सबैभन्दा उच्च जिपिए अर्थात् ३.६० देखि चार ल्याएका छन् भने ८० हजार ३७२ जनाले ३.२० देखि ३.६० जिपिए ल्याएका छन् ।
त्यस्तै, ९४ हजार २२२ जनाले २.८० देखि ३.२० जिपिए, ५५ हजार ९७७ जनाले २.४० देखि २.८० जिपीए, पाँच हजार १९० जनाले दुईदेखि २.४० जिपिए र सात जनाले १.६० देखि दुई जिपिए ल्याएका शिक्षासचिव पौडेलले जानकारी दिए ।
उनका अनुसार ननग्रेडेड (एनजी) प्राप्त गर्ने विद्यार्थीहरूले पुनःग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ । दुई विषयसम्म एनजी आउने विद्यार्थीका लागि तत्कालै ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिने जनाउँदै सोभन्दा बढी विषयमा एनजी आउनेहरू अर्को वर्षको नियमित परीक्षामा सहभागी हुनुपर्ने व्यवस्था गरिएको पत्रकार सम्मेलनमा उनले बताए ।
यसवर्ष एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने शिक्षा मन्त्रालयको निर्देशनपछि बोर्डले परीक्षा केन्द्रमा उत्तरपुस्तिका परीक्षण गराएको थियो । वैशाख ५ गतेसम्ममा देशैभरबाट उत्तरपुस्तिका बोर्डको कार्यालयमा सङ्कलन गरी नतिजा अध्यावधिक गर्ने, कम्प्युटरमा प्रविष्ट गराउने काम थालिएको थियो । गत वर्ष असार १३ गते परीक्षाफल सार्वजनिक भएको थियो ।









प्रतिक्रिया