चिनियाँ कारका लागि बजार नखोल्न ट्रम्पलाई अमेरिकी कम्पनीहरूको आग्रह

182
Shares

एजेन्सी । यसै साता अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनपिङबीच हुन लागेको भेटवार्ताको पूर्वसन्ध्यामा अमेरिकी अटो उद्योग र दुवै दलका (डेमोक्रेट र रिपब्लिकन) सांसदहरूले उनलाई एउटै सन्देश दिइरहेका छन्, ‘कृपया चीनलाई अमेरिकी कार बजारमा कुनै पनि पहुँच नदिनुहोस् ।’

ट्रम्पले गत जनवरीमा डेट्रोइट इकोनोमिक क्लबमा बोल्दै चिनियाँ गाडी उत्पादकहरूले अमेरिकामा प्लान्ट खोलेर अमेरिकीहरूलाई रोजगारी दिन्छन् भने त्यो राम्रो हुने बताएका थिए । उनले थपेका थिए, ‘मलाई त्यो मनपर्छ । चीन आउन चाहन्छ भने आउन दिनुहोस् । जापान आउन चाहन्छ भने आउन दिनुहोस् ।’

उनको यस भनाइले अटो उद्योगमा खतराको घन्टी बजाइदिएको छ । यस क्षेत्रले लामो समयदेखि चिनियाँ गाडीहरूलाई कडा डेटा सुरक्षा नियम र विद्युतीय सवारीसाधन (ईभी) मा उच्च भन्सार लगाएर अमेरिकी बजारबाट टाढा राख्न लगातार सरकारलाई दबाब दिँदै आएको थियो ।

त्यसैले गाडी उत्पादकहरू, आपूर्तिकर्ताहरू, स्टिल उद्योगीहरू, मजदुर युनियनहरू र राजनीतिकर्मीहरूले आफ्ना प्रयासहरूलाई झन् तीव्र पारेका छन् । उनीहरूको तर्क छ —असीमित सरकारी सहयोग, ठूलो उत्पादन क्षमता, ईभी प्रविधिको अग्रता र निकै सस्तो मूल्यका कारण चिनियाँ कम्पनीहरूले अमेरिकी र अन्य विदेशी उत्पादकहरूलाई सिध्याउनेछन् । त्यसले गर्दा अमेरिकी उत्पादन क्षेत्रको मेरुदण्ड नै भाँचिनेछ ।

मिशिगनकी डेमाक्रेट सिनेटर एलिसा स्लटकिनले बिहीबार डेट्रोइटको त्यही मञ्चमा गएर ट्रम्पलाई सी चिनपिङसँग यस्तो कुनै सम्झौता नगर्न आग्रह गरिन् जसले चिनियाँ लगानी वा चिनियाँ ब्रान्डका कारहरूलाई अमेरिकी सोरुमहरूसम्म पुर्याओस् ।

‘कृपया कुनै खराब सम्झौता नगर्नुहोस्,’ स्लटकिनले भनिन् । उनले ओहायोका रिपब्लिकन सिनेटर बर्नी मोरेनोसँग मिलेर ल्याएको द्विदलीय विधेयकको पनि चर्चा गरिन् जसले डेटा संकलनको चिन्तालाई मुख्य कारण देखाउँदै चिनियाँ गाडीहरूमाथि स्पष्ट प्रतिबन्ध लगाउने लक्ष्य राखेको छ ।

उनीहरूको कनेक्टेड भेहिकल सेक्युरिटी एक्ट (जसको उस्तै विधेयक तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा पनि छ) ले पूर्व राष्ट्रपति जो बाइडनद्वारा लागू गरिएको डेटा सम्बन्धी नियमलाई कानुनी मान्यता दिनेछ जसले गर्दा पछि यो नियम उल्टाउन निकै कठिन हुनेछ ।

हाउसको विधेयक अझ एक कदम अघि बढेर चिनियाँ कम्पनीहरूसँगको व्यावसायिक साझेदारीमा समेत प्रतिबन्ध लगाउन चाहन्छ । संसद्का सहयोगीहरूले रोयटर्सलाई बताए अनुसार, व्यापक समर्थन भएकाले यो कानुन यसै वर्ष पारित हुन सक्छ, सम्भवतः यातायात खर्च सम्बन्धी विधेयकसँगै जोडेर ।

‘अमेरिकी सडकमा गुड्ने हरेक सवारीसाधन वास्तवमा डेटा संकलन गर्ने उपकरण हुन् जसले लोकेसन, आवागमन, मानिस र पूर्वाधारका जानकारीहरू तत्कालै कैद गर्छन् । हामी चिनियाँ गाडी वा तिनका पाटपुर्जालाई यो प्रणालीको हिस्सा बन्न दिन सक्दैनौं,’ समर्थक सांसदहरू डेबी डिंगेल (डेमोक्रेट) र जोन मुलेनार (रिपब्लिकन) ले एक संयुक्त विज्ञप्तिमा भनेका छन् ।

यी दुवै मिशिगनका अटो उद्योग बाहुल्य क्षेत्रका प्रतिनिधि हुन् । हालै ७४ डेमोक्रेट र ५२ रिपब्लिकन सांसदहरूले ट्रम्पलाई पत्र लेख्दै चिनियाँ गाडीहरूलाई अमेरिकी बजारमा प्रवेश नदिन आग्रह गरेका छन् ।

अमेरिकी अटो उद्योगले चिनियाँ प्रतिबन्धको समर्थनमा अभूतपूर्व एकता देखाएको छ ।

अमेरिकी र विदेशी ब्रान्डका गाडी उत्पादकहरू, डिलरहरू र पाटपुर्जा निर्माताहरूको प्रतिनिधित्व गर्ने समूहहरूले गत मार्चमा सरकारलाई भनेका थिए कि विश्वव्यापी अटो उत्पादनमा वर्चस्व जमाउने र अमेरिकी बजार छिर्ने चीनको प्रयास अमेरिकाको विश्वव्यापी प्रतिस्पर्धात्मकता, राष्ट्रिय सुरक्षा र अटो औद्योगिक जगका लागि प्रत्यक्ष खतरा हो ।

अप्रिल ३० मा स्टिल उद्योग समूहहरूले पनि यस्तै पत्र पठाए । विगतमा ट्रम्पको भन्सार नीतिको आलोचना गर्ने इन्फर्मेसन टेक्नोलोजी एण्ड इनोभेसन फाउन्डेशनले पनि चिनियाँ गाडीमा प्रतिबन्ध लगाउने कानुनको स्वागत गरेको छ ।

‘चिनियाँ अटो निर्माताहरू सामान्य बजार प्रतिस्पर्धी होइनन् । उनीहरूका विद्युतीय गाडीहरू दशकौंदेखि राज्य–समर्थित व्यापारवादको उपज हुन् जसको उद्देश्य विश्वका उन्नत उद्योगहरूमा चीनको नेतृत्व स्थापित गर्नु हो,’ आईटीआईएफका उपाध्यक्ष स्टिफन इजेलले भने ।

इजेलले थपे, ‘एकपटक चीनका अनुदानप्राप्त कम्पनीहरू अमेरिकी बजारमा स्थापित भएपछि त्यसले पुर्याउने आर्थिक र राष्ट्रिय सुरक्षाको क्षतिलाई उल्टाउन निकै कठिन हुनेछ र यो क्षति केवल डेट्रोइटमा मात्र सीमित हुने छैन ।’

अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरले अप्रिलमा डेट्रोइटमा बोल्दै कनेक्टेड कार नियम परिवर्तन गर्ने कुनै योजना नरहेको र बेइजिङ शिखर सम्मेलनको एजेन्डामा अटो क्षेत्र समावेश नरहेको बताएका थिए । वाणिज्य सचिव हवार्ड लुट्निकले पनि अमेरिकी अटो क्षेत्रमा चिनियाँ लगानीको सम्भावनालाई अस्वीकार गरेका छन् ।

तर अलायन्स फर अमेरिकन म्यानुफ्याक्चरिङका अध्यक्ष स्कट पलले ट्रम्पले एक्लै कुनै कदम चाल्न सक्नेमा बलियो चिन्ता व्यक्त गरेका छन् । ट्रम्प अक्सर अमेरिकामा धेरै अटो एसेम्बली प्लान्टहरू भित्र्याउने कुरा गर्छन् ।

‘उनले अटो क्षेत्रको बारेमा कुरा गर्दा अझै पनि केही ठाउँ बाँकी राखेका छन्,’ पलले भने ।

कुनै पनि नयाँ प्लान्ट स्वीकृत भएमा उत्पादन सुरु गर्न २ देखि ३ वर्ष लाग्नेछ जसको परिणाम ट्रम्पपछिको उत्तराधिकारीले भोग्नुपर्ने हुन सक्छ । ह्वाइट हाउस र वाशिङटनस्थित चिनियाँ दूतावासले यसबारेमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

अटो उद्योग युरोप र मेक्सिकोमा जस्तै चिनियाँ कम्पनीहरूले बजार ओगट्ने क्रम यहाँ नदोहोरियोस् भन्ने चाहन्छ । अमेरिकामा गाडीको मूल्य आकासिएका बेला (औसत मूल्य ५१ हजार डलरभन्दा बढी) उपभोक्ताहरू सस्तो चिनियाँ मोडलतर्फ आकर्षित हुने जोखिम बढी छ ।

गत वर्ष युरोपको कार बजारमा चिनियाँ ब्रान्डको हिस्सा दोब्बर भएर ६ प्रतिशत पुगेको थियो । नर्वेमा १४ प्रतिशत, इटलीमा ९ प्रतिशत, बेलायतमा ११ प्रतिशत र स्पेनमा ९ प्रतिशत हिस्सा उनीहरूले ओगटेका छन् । इरान युद्धका कारण पेट्रोलको मूल्य बढेपछि चिनियाँ ईभीप्रति उपभोक्ताको रुचि झन् बढ्दै गएको छ ।

क्यानडाले वार्षिक ४९ हजार चिनियाँ ईभी आयात गर्न थालेको छ भने मेक्सिकोमा ३४ वटा चिनियाँ ब्रान्डका गाडीहरू बिक्री भइरहेका छन् । मेक्सिकोको बजारमा चिनियाँ गाडीको हिस्सा १५ प्रतिशत छ र तिनको मूल्य अमेरिकामा उपलब्ध कुनै पनि गाडीको तुलनामा निकै कम छ ।

जिलीको एक्स२ ईभीको मूल्य मेक्सिकोमा करिब २२ हजार ७०० डलरबाट सुरु हुन्छ । यो मूल्य चीनको तुलनामा दोब्बर भए पनि अमेरिकाको सबैभन्दा सस्तो टेस्ला मोडल ३ (३८ हजार ६ सय ३० डलर) भन्दा निकै कम हो ।

सन् १९८० र ९० को दशकमा अमेरिकी उत्पादकहरूलाई पछि पारेको टोयोटाले समेत मेक्सिकन बजारमा चिनियाँ मूल्यसँग प्रतिस्पर्धा गर्न गाह्रो भइरहेको बताएको छ । टोयोटा मोटर उत्तर अमेरिकाका डिभिजन म्यानेजर डेभिड क्रिस्टले भने, ‘स्पष्ट छ, त्यहाँ सरकारी सहयोग छ । अन्यथा उनीहरूले त्यो मूल्यमा व्यापार गर्नै सक्दैनन् । यसले हाम्रो व्यवसायमा ठूलो प्रभाव पारिरहेको छ ।’