
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान टर्किस एयरलाइन्सको जहाजमा अवतरणका क्रममा आगो देखिएपछि समस्याको समाधान गर्न र आगलागीको कारण खोजी गर्न उक्त जहाज ग्राउन्डेड भएको (थन्किएको) छ ।
सोमबार बिहान ६ बजेर ३५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको उक्त टर्किस एयरलाइन्सको टीके ७२६ उडान नम्बरको जहाज रनवेबाट ट्याक्सीवे (पार्किङ) प्रवेश गर्दै गर्दा दायाँ ल्यान्डिङ गियरमा आगो देखिएको थियो । आगो देखिएलगत्तै जहाज रोकेर यात्रुको आकस्मिक उद्धार गरिएको थियो ।
उक्त जहाजमा रहेका २७३ यात्रु, ११ चालकदलका सदस्य र ४ शिशुलाई सकुशल उद्धार गरेसँगै जहाजलाई तानेर पार्किङ बेमा ल्याइएको थियो ।
आकस्मिक उद्धार, आगलागी नियन्त्रण र जहाज तानेर पार्किङ वेमा ल्याउँदासम्म डेढ घण्टाभन्दा बढी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको थियो । विमानस्थल सवा ८ मा खुलेसँगै अहिले आन्तरिक र अन्तर्राष्ट्रिय उडान नियमित भइरहेका छन् ।
टर्किसको जहाजमा आगलागीको कारण खोजी गर्ने क्रमसँगै यो जहाज ग्राउन्डेड भएको छ । जहाजमा आगलागीको कारण खोजी गर्ने र आवश्यक मर्मत पछि मात्रै उडान अनुमति पाउने नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।
उनका अनुसार टायरको हाइड्रोलिक सिस्टम, लुब्रिकेन्ट वा अन्य कुनै सिस्टममा समस्या भएको हुनसक्ने अनुमान गरिएको छ ।
जहाजमा देखिएको समस्याको समाधान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण र टर्किस एयरलाइन्सका प्राविधिक टोलीले अध्ययन गरिरहेको पनि भुलले जानकारी दिए ।
टर्कीको इस्तानबुलबाट आएको टिके ७२६ नम्बरको विमानको अवतरण गर्ने क्रममा चक्कामा आगो देखिएपछि तत्कालै दमकलको सहायताले आगलागी नियन्त्रणमा लिएको विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाले बताए ।
उनका अनुसार आज बिहान ६:४५ बजेदेखि बन्द भएको विमानस्थल करिब डेढ घण्टापछि सञ्चालनमा आएको उनले बताए ।
काठमाडौंबाट उड्ने तयारीमा रहेका र साढे ६ बजे नै यात्रु बोर्डिङ भइसकेकोले उनीहलाई एयरलाइन्सले नै होटलमा राखेको छ ।
टर्किसको काठमाडौैंमा नियमित उडान हुने भएकोले अर्को उडानमा यात्रुलाई व्यवस्था गर्ने र अत्यावश्यकमा यात्रुलाई भने अर्को जहाजमा राखेर गन्तव्यतर्फ पठाउने काम भइरहेको पनि विमानस्थल कार्यालयले जानकारी दिएको छ ।





प्रतिक्रिया