अनुमति बिना निषेधित क्षेत्रमा पर्यटक लैजाने स्नोइ होराइजनलाई ५० हजार जरिवाना

126
Shares

काठमाडौं । नेपाल सरकारले तोकेको निषेधित क्षेत्रमा पदयात्रा अनुमति विना विदेशी पर्यटक लैजाने एक ट्रेकिङ एजेन्सीलाई अध्यागमन विभागले कारवाही गरेको छ । विभागले स्नोइ होराइजन ट्रेक्स एण्ड एक्सपीडिसन प्रालि लाई अध्यागमन ऐन, २०४९ बमोजिम ५० हजार रुपैयाँ जरिवाना गरेको हो ।

दुई जना चिनियाँ नागरिकलाई पदयात्रा अनुमति पत्र नलिई संखुवासभाको भोटखोला गाउँपालिका–४ स्थित मकालु बरुण राष्ट्रिय निकुञ्ज (निषेधित क्षेत्र) मा लगेको पाइएपछि विभागले सो कारवाही गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, संखुवासभाले २०८२ वैशाख २२ गते चिनियाँ पर्यटकहरू अनुमति विना निषेधित क्षेत्रमा प्रवेश गरेको भन्दै कारवाहीका लागि विभागलाई जानकारी गराएको थियो ।

निषेधित क्षेत्रमा प्रवेश गरिसकेपछि र स्थानीय प्रशासनले नियन्त्रणमा लिएपछि मात्र उक्त एजेन्सीले वैशाख २४ गते विभागमा अनुमतिका लागि आवेदन दिएको पाइएको छ । विभागले सुरुमा अनुमति जारी गरे पनि पछि छानबिन गर्दा कारवाहीबाट जोगिन गलत सूचना दिएर अनुमति लिएको पुष्टि भएपछि उक्त अनुमति पत्र समेत रद्द गरेको छ ।

अध्यागमन नियमावली, २०५१ अनुसार विदेशी पर्यटकले निषेधित क्षेत्रमा प्रवेश गर्नुअघि नै एजेन्सीमार्फत् विभागबाट अनिवार्य रुपमा अनुमति लिनुपर्ने कानूनी प्रावधान छ ।

पक्राउ परेपछि कारवाहीबाट बच्न एजेन्सीले हतार–हतार कम्पनीको तर्फबाट साँगे शेर्पालाई ट्रेकिङ गाइडका रूपमा खटाएको देखाएको थियो । उक्त गाइडलाई आवश्यक कारवाही गर्न अध्यागमन विभागले पर्यटन विभागलाई पत्राचार गरेको छ ।

नेपाल सरकारले सुरक्षा र सीमा संवेदनशीलताका आधारमा १३ जिल्लाका विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ । यसमा माथिल्लो मुस्ताङ, माथिल्लो डोल्पा, हुम्लाको सिमकोट, नाम्खा र चुंखेली, गोरखाको मनासलु क्षेत्र, कञ्चनजंघा, दोलखाको गौरीशंकर र लामाबगर, तथा संखुवासभाको किमाथांका लगायतका क्षेत्रहरू पर्दछन् । यी क्षेत्रमा पदयात्रा गर्नुअघि अध्यागमन विभागको पूर्वस्वीकृति अनिवार्य हुन्छ ।