धितोपत्र बोर्डको अध्यक्ष बन्न राष्ट्र बैंकका दुई पूर्वडेपुटी गभर्नरदेखि पूर्वसहसचिवसम्मको आवेदन

यी हुन् आवेदक

8.7k
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष बन्न नेपाल राष्ट्र बैंकका दुई पुर्व–डेपुटी गभर्नरदेखि पूर्वसहसचिवसम्मको आवेदन परेको छ । धितोपत्र बोर्डबाट राजीनामा दिएर सन्तोषनारायण श्रेष्ठ बाहिरिएपछि माग गरिएको आवेदनमा हालसम्मकै उच्च अर्थात् ४७ जनाले आवेदन दिएका छन् ।

सरकारले धितोपत्र बोर्डको अध्यक्ष सिफारिसका लागि गठन गरेको सिफारिस समितिले वैशाख २१ भित्रमा आवेदन दिनका लागि सात दिने सूचना जारी गरेको थियो । उक्त समयभित्र नेपाल राष्ट्र बैंकका पूर्व–डेपुटी गभर्नर बम बहादुर मिश्र र चिन्तामणी शिवाकोटी, राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट, राष्ट्र बैंकका कामु निर्देशक प्रल्हाद गिरीले आवेदन दिएका छन् ।

यस्तै, राष्ट्र बैंक सुपरिवेक्षण विभागका निर्देशक सुवास चन्द्र घिमिरे, सेबोनको कार्यकारी निर्देशकबाट अवकाश पाएका डा. नवराज अधिकारी, सेबोनकै निर्देशक विनयदेव आचार्य, सेबोनको सञ्चालकबाट पदमुक्त भएका पिताम्बर भण्डारी, नेप्सेका पूर्व सीईओ कृष्ण बहादुर कार्की, पूर्व सहसचिव दीर्घ मैनालीसहित कुल ४७ जनाले अध्यक्षका लागि आवेदन दिएका छन् ।

धितोपत्र बोर्ड अध्यक्षका लागि ४७ जनाको आवेदन परेपनि नियुक्ती प्रक्रिया भने थप लम्बिन पुगेको छ । अध्यक्ष सिफारिसका लागि गठित सिफारिस समितिबाट गुणाकर भट्टले राजीनामा दिएसँगै नियुक्ती प्रक्रिया थप लम्बिन पुगेको हो ।

सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टको नेतृत्वमा सिफारिस समिति गठन गरेको थियो । तर, राष्ट्र बैंककै पूर्व कार्यकारी निर्देशक गोपाल भट्टले पनि अध्यक्षका लागि आवेदन दिएसँगै गुणाकरले राजीनामा दिएका हुन् । गोपाल भट्ट नातामा गुणाकर भट्टका दाइ हुन् ।

यसका साथै सँगै काम गरेका राष्ट्र बैंककै पुर्व कार्यकारी निर्देशक र पुर्व डेपुटी गभर्नरहरुले पनि बोर्डको अध्यक्षका लागि आवेदन दिएपछि स्वार्थको द्वन्द हुने भन्दै भट्टले सिफारिस समितिको संयोजकबाट राजिनामा दिएका छन् ।

उपाध्यक्ष गुणाकर भट्टको नेतृत्वमा गठित सिफारिस समितिमा अर्थसचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यका रूपमा भुवन कुमार दाहाल थिए । सो समितिले प्राप्त आवेदनमध्येबाट तीन जनालाई सिफारिस गरेपछि सरकारले तीमध्ये एक जनालाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्ति गर्ने प्रावधान छ ।

तर, अब सरकारले सिफारिस समितिको संयोजक नियुक्त गरेपछि मात्रै धितोपत्र बोर्ड अध्यक्ष नियुक्ती प्रक्रिया अघि बढ्नेछ । जसका कारण अध्यक्ष नियुक्ती प्रक्रिया थप लम्बिएको हो ।

यी हुन् आवेदकः
१. बम बहादुर मिश्र (राष्ट्र बैंकका पूर्व–डेपुटी गभर्नर)
२. चिन्तामणी शिवाकोटी (राष्ट्र बैंकका पूर्व–डेपुटी गभर्नर)
३. डा. गोपाल भट्ट (राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक)
४. प्रह्लाद गिरी (राष्ट्र बैंकका कामु निर्देशक)
५. सुवास चन्द्र घिमिरे (राष्ट्र बैंक सुपरिवेक्षण विभागका निर्देशक)
६. डा. नवराज अधिकारी (सेबोनको कार्यकारी निर्देशकबाट अवकाश पाएका)
७. विनयदेव आचार्य (सेबोन निर्देशक)
८. पिताम्बर भण्डारी (सेबोनको सञ्चालकबाट पदमुक्त भएका)
९. कृष्ण बहादुर कार्की (नेप्से पूर्व सीईओ)
१०. सुरेश देवकोटा (सिन्धु विकास बैंकका पूर्वसीइओ)
११. डा राकेश पोख्रेल (रिलायन्स लाइफ इन्स्योरेन्सका डीसीइओ)
१२. दीर्घ मैनाली (पूर्व सहसचिव)
१३. मुकुन्द कुमार क्षेत्री
१४. पुरुषोत्तम चिमोरिया (सुवास चन्द्र डन)
१५. राजेन्द्र पण्डित
१६. विपिन कंडेल
१७. बद्री गुरागाई
१८. विनोद आचार्य
१९. झवेन्द्र कार्की
२०. प्रकाश अधिकारी
२१. डा केशब श्रेष्ठ
२२. मुक्ति अर्याल
२३. कृष्ण आचार्य
२४. सीताराम थपलिया
२५. दिपक थापा
२६. डिम प्रसाद पौडेल
२७. लिला ढकाल (स्याङ्जा)
२८. पूर्णप्रसाद आचार्य

सिफारिस समितिले आवेदकको नाम सार्वजनिक नगरेका कारण ४७ आवेदकमध्ये हालसम्म स्रोतहरुबाट २८ जनाको मात्रै नाम प्राप्त भएको छ ।