
काठमाडौं । विद्युत विकास विभागले गुल्मी र स्याङ्जा जिल्लाको सीमा क्षेत्र भएर बग्ने बडिगाड नदीमा २३७.२ मेगावाट क्षमताको ‘लोवर बडिगाड जलाशययुक्त जलविद्युत आयोजना’ निर्माणको प्रक्रिया अगाडि बढाएको छ ।
विभागले यस आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन तयारीको सिलसिलामा प्रभावित क्षेत्रका सरोकारवालाहरूबाट लिखित राय सुझाव माग गर्दै सार्वजनिक सूचना जारी गरेको छ ।
प्रस्तावित आयोजनाका लागि गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ४ र रुरुक्षेत्र गाउँपालिका वडा नं. ६ को सिमानामा पर्ने लुम्दी खोला र बडिगाड नदीको संगमभन्दा करिब ७०० मिटर माथि १९५ मिटर अग्लो बाँध निर्माण गरिनेछ ।
उक्त बाँधबाट संकलित पानीलाई ३.१ किलोमिटर लामो सुरुङ मार्फत रुरुक्षेत्र गाउँपालिका वडा नं. २ स्थित प्रसिद्ध धार्मिक स्थल रुद्रबेनी बजार नजिकै कालीगण्डकी नदीको दायाँ किनारमा निर्माण गरिने विद्युत गृहमा पुर्याइनेछ ।
आयोजनाले त्यस क्षेत्रको प्राकृतिक, भौतिक, सामाजिक र आर्थिक प्रणालीमा पार्न सक्ने प्रभावका बारेमा राय सुझाव संकलन गर्न लागिएको हो ।
सूचना प्रकाशित भएको मिति वैशाख २५ ले ७ (सात) दिनभित्र आफ्नो लिखित राय सुझाव विद्युत विकास विभागमा आइपुग्ने गरी पठाउन सूचनामा भनिएको छ ।





प्रतिक्रिया