८ विश्वविद्यालयमा उपकुलपतिका लागि दरखास्त आह्वान, १० दिनभित्र आवेदन दिनुपर्ने

420
Shares

काठमाडौँ । सरकारले विभिन्न आठ वटा विश्वविद्यालयमा रिक्त रहेका उपकुलपति (भीसी) पदका लागि दरखास्त आह्वान गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले शुक्रबार सूचना जारी गर्दै आवेदन माग गरेको हो ।

सूचना अनुसार त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयमा उपकुलपति नियुक्तिको प्रक्रिया अगाडि बढाइएको छ ।

यस पटकको नियुक्ति प्रक्रियालाई व्यवस्थित बनाउन समितिले २०८३ वैशाख २४ गते स्वीकृत गरेको ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३’ अवलम्बन गरेको छ । यसअघि फरक-फरक विश्वविद्यालयका लागि फरक-फरक समयमा आवेदन माग गरिँदै आएकोमा यसपटक एकीकृत कार्यविधिमार्फत प्रक्रिया अघि बढाइएको हो ।

इच्छुक तथा योग्य व्यक्तिले यो सूचना प्रथम पटक प्रकाशित भएको मिति (२०८३ वैशाख २५ गते) ले १० दिनभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।

आवेदन मन्त्रालयको आधिकारिक वेबसाइटमा दिइएको लिंकमार्फत बुझाउन सकिने समितिले जनाएको छ ।

छनोट सम्बन्धी विस्तृत कार्यविधि र मापदण्ड पनि मन्त्रालयको वेबसाइटमै राखिएको छ ।

राजनीतिक भागबन्डाको सट्टा योग्यता र क्षमताका आधारमा उपकुलपति चयन गर्न सरकारले यो प्रक्रिया थालेको हो ।