चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

532
Shares

चितवन । चितवन मेडिकल कलेज (सिएमसी)ले काठमाडौँको तीनकुने र मकवानपुरको हेटौँडामा अतिविशिष्टकृत सेवासहितका अस्पताल सञ्चालन गर्ने भएको छ ।

यसका लागि काठमाडौँमा अत्याधुनिक अस्पताल भवन निर्माणको अन्तिम चरणमा पुगेको छ भने हेटौँडामा भने भवन निर्माण गर्न हालै शिलान्यास गरिएको हो ।

चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले सिएमसी काठमाडौँको नामबाट आगामी दशैँको घटस्थापनादेखि अस्पताल सञ्चालन हुने जानकारी दिए ।

१७ रोपनी जमिनमा रु १२ अर्बभन्दा बढी लगानी गरेर अस्पताल सञ्चालन गर्न लागिएको हो । सञ्चालनको सुरुआतमा नै भारतको मेदान्त अस्पतालले यसको व्यवस्थापन गर्ने उनले बताए ।

अस्पतालमा क्यान्सरसहित अतिविशिष्टिकृत सेवा हुने छ । प्राडा न्यौपानेले भने,’विश्वका सुविधासम्पन्न अस्पतालले दिन सक्ने सेवा यही दिने गरी ठूलो लगानीमा अत्याधुनिक उपकरणसहितको अस्पताल सञ्चालन गर्दैछौँ । सरकर उपचारका लागि विदेश जानुनपर्ने हाम्रो ध्येय रहने छ ।’

३०० शय्याको यस अस्पतालले प्रमुख रुपमा क्यान्सरको उपचार गर्ने छ भने यससँगै सबै खालका विशेषज्ञ सेवा अस्पतालले दिने छ । अनुभवी विशेषज्ञ चिकित्सकहरूले अस्पतालबाट सेवा दिने छन् ।

नेपाली लगानीको निजी क्षेत्रको सबैभन्दा ठूलो अस्पताल यो हुने उहाँले दावि समेत गर्नुभयो । यस अस्पताल सञ्चालनमा आएसँगै भारतलगायतका देशहरु जाने बिरामीले सोहीअनुरुपको सेवा स्वदेशमा पाउने प्रा डा न्यौपानेले जानकारी दिनुभयो ।

उgका अनुसार सिएमसी हेटौँडा अस्पतालको निर्माण थालिएको छ । हेटौंडा उपमहानगरपालिका–४ मा अवस्थित, राजमार्गसँगै १९ कट्ठा जमिनमा निर्माण थालिएको हो ।

अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रताप देवकोटाले विसं २०८४ को दशैँबाट सेवा सुरु गर्ने गरी एक सय श्यया अतिविशिष्टिकृत अस्पताल सञ्चालन गर्न लागिएको जानकारी दिए। रु दुई अर्ब ५० करोड हाराहारी लगानी हुने अनुमान गरिएको छ ।

सिएमसीको नेतृत्वमा स्थानीय समेत साझेदार रहेको यस अस्पताल सुरु भएसँगै मकवानपुर र आसपासका जिल्लाका बासिन्दा लाभान्वित हुने उनले बताए । सँगै स्थानीयले रोजगारीको अवसर पाउने भएका छन् । हाल ती क्षेत्रका बिरामी विशिष्टिकृत सेवाका लागि भरतपुर, काठमाडौँ र भारतसमेत जानुपर्ने बाध्यता रहेको छ ।

२० वर्षअघि भरतपुर महानगरपालिका–१० मा स्थापना भएको चितवन मेडिकल कलेजले सात सय श्ययाबाट सेवा दिँदै आएको छ । नेपालका मेडिकल कलेजहरूमा धेरै बिरामी हेर्नेमध्यको एक यस अस्पतालले त्रिभुवन विश्वविद्यालयका स्वास्थ्यका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।