इनड्राइभ वर्ल्ड इकोनोमिक फोरमको ‘युनिकर्न कम्युनिटी’मा आवद्ध

0
Shares

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभ, वर्ल्ड इकोनोमिक फोरमको ‘युनिकर्न कम्युनिटी’ मा आधिकारिक रूपमा आवद्ध भएको छ ।

कम्पनीका अनुसार, निमन्त्रणामार्फत मात्र समावेश गरिने यो प्रतिष्ठित समुदाय उच्च–विकासदर भएका कम्पनीहरूको समूह हो, जसलाई नवप्रवर्तनलाई अघि बढाउँदै सकारात्मक विश्वव्यापी प्रभाव सिर्जना गर्ने योगदानका लागि मान्यता दिइन्छ ।

नेपालका विभिन्न सहरहरूमा आफ्नो सेवा विस्तार गर्दै आएको इनड्राइभले प्रविधिको प्रभावकारी प्रयोगमार्फत नागरिकका लागि अझ न्यायोचित र समावेशी डिजिटल अर्थतन्त्र निर्माणमा सक्रिय योगदान पुर्‍याउँदै आएको कम्पनीले जनाएको छ ।

युनिकर्न कम्युनिटीमा इनड्राइभको सहभागिताले निष्पक्ष पहुँच, आर्थिक अवसरको विस्तार तथा समावेशीतालाई थप प्रवद्र्धन गर्ने लक्ष्य राखेको कम्पनीको भनाइ छ ।

इनड्राइभका फाउन्डर एन्ड सीईओ आर्सेन टम्स्कीले भने, ‘वर्ल्ड इकोनोमिक फोरमको युनिकर्न कम्युनिटीमा आवद्ध हुनु इनड्राइभका लागि महत्वपूर्ण उपलब्धि हो । यसले हाम्रो विश्वव्यापी विस्तारलाई थप बलियो बनाउनुका साथै हाम्रो प्रभावलाई अझ व्यापक बनाउनेछ ।’

वर्ल्ड इकोनोमिक फोरम सार्वजनिक–निजी सहकार्यलाई प्रवद्र्धन गर्ने एक अन्तर्राष्ट्रिय संस्था हो, जसले नवप्रवर्तन, उद्यमशीलता र सहकार्यको माध्यमबाट विश्वव्यापी चुनौतीहरूको समाधान खोज्न र दीगो भविष्य निर्माण गर्न नेतृत्वदायी संवादलाई अघि बढाउँछ ।

फोरमअन्तर्गतको युनिकर्न कम्युनिटी ‘ग्लोबल इनोभेटर कम्युनिटी’को एक महत्वपूर्ण अंग हो, जसले सार्वजनिक तथा निजी क्षेत्रका नेतृत्वहरूसँग सहकार्य गर्दै वर्तमान संकट समाधान र दीगो विकासका लागि नयाँ मार्गचित्र तयार गर्न सहयोग पुर्‍याउने बताइएको छ ।

हाल इनड्राइभ विश्वका ४८ भन्दा बढी देशका १,००० भन्दा बढी सहरहरूमा सञ्चालनमा रहेको छ र यो विश्वकै सबैभन्दा धेरै डाउनलोड हुने मोबिलिटी एपहरूमध्ये एकको रूपमा स्थापित भइसकेको कम्पनीले जनाएको छ ।

विशेषगरी उदीयमान बजारहरूमा यसको प्रभाव उल्लेखनीय रहेको छ । कम्पनीको ‘पियर–टु–पियर’ मूल्य निर्धारण मोडेलले यात्रु र चालकलाई प्रत्यक्ष रूपमा भाडा तय गर्ने सुविधा प्रदान गर्दै सेवामा पहुँच विस्तार र सेवा प्रदायकहरूको आम्दानीमा न्यायोचितता सुनिश्चित गर्न सहयोग पुर्‍याउने कम्पनीको भनाइ छ ।