
काठमाडौं। सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न सातवटा निकायमा कार्यरत ३३ जना पदाधिकारीहरूलाई एकैपटक पदमुक्त गरेको छ । पर्यटन मन्त्रालयले पदमुक्त भएकाहरुका लागि सामूहिक सूचना जारी गर्दै सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ को आधारमा उनीहरूलाई पदबाट हटाइएको जानकारी दिएको हो ।
मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त भएका यी पदाधिकारीहरूलाई अध्यादेशको दफा २ को उपदफा (१) बमोजिम मिति २०८३ वैशाख १९ गतेदेखि लागू हुने गरी स्वतः पदमुक्त गरिएको मन्त्रालयले जनाएको छ ।
कुन निकायबाट को-को हटे ?
पशुपति क्षेत्र विकास कोष:
कोषका सदस्य सचिव प्रकाशमणि शर्मा, कोषाध्यक्ष श्रीधर सापकोटासहित सदस्यहरू हरिवंश ढकाल, शिक्षित पराजुली, बाबु शरण सुवेदी, डा. भरतप्रसाद बडाल, रामेश्वर संगत, रेनुका पराजुली र राजु कुमार खत्री पदमुक्त भएका छन् ।
लुम्बिनी विकास कोष:
कोषका उपाध्यक्ष ल्हारक्याल लामा, कोषाध्यक्ष ढुण्डिराज भट्टराई, सदस्य सचिव इ. दिपक क्षेत्री र सदस्यहरू श्याम बहादुर मिजार, गोपी कृष्ण शर्मा, विश्वराज पौडेल, राम नरेश कोहार, श्रीराम यादव, राजेश शाक्य, प्रकाश भट्टराई र धनराज कँडेललाई हटाइएको छ ।
नेपाल पर्यटन बोर्ड:
बोर्डका कार्यकारी निर्देशक दीपक जोशीसहित सदस्यहरू नरेन्द्र कुमार देव, कुमार मणी थपलिया, ऋषिराम भण्डारी, राजेन्द्र बहादुर लामा र राम प्रसाद सापकोटा पदमुक्त भएका छन् ।
नेपाल वायुसेवा निगम:
निगमको कार्यकारी सञ्चालक अमृतमान श्रेष्ठ र सञ्चालक समिति सदस्य राम प्रसाद खतिवडालाई पदबाट हटाइएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण:
प्राधिकरणका सञ्चालक समिति सदस्यहरू रविन्द्र सिलवाल र श्री भिम प्रसाद पन्त पदमुक्त भएका छन् ।
सांस्कृतिक संस्थान:
संस्थानका अध्यक्ष चन्द्र कुमार राई र सदस्य पुजा श्रेष्ठलाई पनि जिम्मेवारीबाट मुक्त गरिएको छ ।
वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्:
परिषद्का अध्यक्ष शितल साह पूर्वेसहित परिषद् ऐन, २०५५ बमोजिम नियुक्त कार्यकारी निर्देशक लगायतका सम्पूर्ण पदाधिकारीहरूलाई एकमुष्ट पत्राचार गरी पदमुक्त गरिएको छ ।
मन्त्रालयका अनुसार अघिल्लो सरकारको पालामा नियुक्त भएका यी पदाधिकारीहरूलाई नयाँ अध्यादेशको व्यवस्था अनुसार पदमुक्त गरिएको हो । यससँगै अब यी निकायहरूमा नयाँ नियुक्ति प्रक्रिया अगाडि बढ्ने बाटो खुलेको छ ।






प्रतिक्रिया