
विराटनगर । विरगञ्ज भन्सार कार्यालयले वैशाख १५ अघि आयात भएर भन्सार यार्ड र गोदाममा थन्किएका व्यापारिक सामानमा अधिकतम खुद्रा मुल्य (एमआरपी) को स्टीकर टाँसेर दुई दिनदेखि भन्सार जाँच पास सुरू गरेको छ ।
एमआरपी उल्लेख नभएका व्यापारिक सामानमा स्टिकर टाँसेर भन्सार जाँचपास भइरहेको विरगञ्ज भन्सार प्रमुख अर्जुन न्यौपानेले क्लिकमान्डुलाई जानकारी दिए ।
वैशाख १५ अघि आयात भएर भन्सार यार्ड र गोदाममा थन्किएका व्यापारिक सामानमा एमआरपी स्टिकर टाँसेर धमाधम जाँचपास भइरहेको उनले बताए । ‘स्टिकर नटाँस्नेको जाँचपास भएको छैन,’ न्यौपानेले भने,’वैशाख १५ यता आयात भएका प्राय सवै व्यापारिक सामानमा एमआरपी उल्लेख गरेरै आयात हुन थालेपछि झन्झट नै सकिएको छ ।’
उनका अनुसार, पछिल्लो समय आलु र प्याजका बोरामा पनि एमआरपी उल्लेख हुन थालेको छ ।
विरगन्ज भन्सार एजेन्ट संघका अध्यक्ष राजमान तामाङले पनि भन्सार यार्ड र गोदाममा थन्किएका व्यापारिक सामानमा एमआरपीको स्टिकर टाँसेर जाँचपास भइरहेको बताए ।
तर विराटनगर भन्सारमा भने जाँचपास हुन सकेको छैन । भन्सार एजेन्टले एमआरपी स्टिकर टाँसेर सामान जाँचपास गराउँछु भन्दा पनि भन्सार प्रशासनले अटेर गरेर दुख दिएको आरोप लगाएका छन् ।
‘भन्सार यार्ड र गोदाममा थन्किएका ट्रेडिङका सामानमा एमआरपी स्टिकर टाँसेर भन्सार जाँचपास गराउन हामी तयार छौँ,’ विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकी शर्माले भने,’तर भन्सार प्रशासनले अटेर गर्दा समस्या ज्यूँका त्यूँ छ ।’
‘भन्सार यार्ड, गोदाम र सडकमा रोकिएका व्यापारिक सामानमा एमआरपीको स्टिकर टाँसेर भन्सार जाँच पास गर्न भन्सार प्रशासनलाई पटक पटक आग्रह गर्यौँ,’ शर्माले भने,’भन्सार प्रसाशनले नसुनेपछि अर्बौ मूल्यका व्यापारिक सामान आठ दिनदेखि भन्सार यार्ड, गोदाम र सडकमा अलपत्र अवस्थामा छन् ।’
तर प्रमुख भन्सार अधिकारी उमेश श्रेष्ठले एमआरपी स्टिक टाँसेर नभई एमआरपी घोषणा गरेर मात्र भन्सार जाँचपास हुने बताए । ‘अन्यत्र के कसो गरे त्यो बुझिएको छैन । फलानाले यसो गरे भनेर हल्ला फिजाउँदै हिड्नु र वास्तविकतामा फरक पर्छ,’ उनले भने,’एमआरपीको स्टिक टाँस्ने होइन, मूल्य नै घोषणा गरेपछि मात्र भन्सार जाँचपास हुन्छ ।’
उता भन्सार एजेन्ट संघका अध्यक्ष शर्माले विराटनगर भन्सार प्रशासनले अन्यत्र भइरहेको प्रक्रियालाई वेवास्ता गर्दै व्यापारीलाई दुख दिइरहे औद्योगिक कच्चा पदार्थको पनि भन्सार जाँचपास बन्द गर्ने चेतावनी दिएका छन् ।
अधिकतम खुद्रा मुल्य (एमआरपी) भन्सार विन्दुमा अनिवार्य लागू गर्ने सन्दर्भमा प्रधानमन्त्री र अर्थमन्त्रीको स्वार्थ बाझिँदा भारत र तेस्रो मुलुकबाट आयात गरिएका व्यापारिक सामानको एक सातादेखि भन्सार जाँचपास हुन नसकेको व्यवसायीले आरोप लगाएका थिए ।
सरकारले आफ्नो सय बुँदे कार्यसूची अनुरुप व्यापारिक वस्तुको एमआरपी अनिवार्य उल्लेख गरेर मात्र आयात गर्न पाउने प्रावधान वैशाख १५ देखि लागू गरेसँगै भारत तथा तेस्रो मुलुकबाट आयात हुने व्यापारिक वस्तुको विराटनगरमा भन्सार जाँचपास ठप्प छ । अन्य भन्सारमा एमआरपीको स्टिकर टाँसेर जाँचपास सुरु भएको छ ।
संघीय सरकारले गत चैत ३० गते सूचना प्रकाशन गरेर भन्सार विन्दुमा आउने सामानमा अनिवार्य रूपमा एमआरपी लागू गर्ने निर्णय गर्दै त्यसको तयारीका लागि १५ दिनको म्याद दिएको थियो ।
तर व्यवसायीले एमआरपी टाँसेर सामान आयात गर्नु व्यावहारिक र वैज्ञानिक नहुने वताउदै यसलाई स्थगित गरेर वैकल्पीक र व्यावहारिक पक्षको खोजी गर्न सरकारलाई आग्रह गरेका थिए ।
आयतकर्ता र व्यापारीले तिनदिन सम्म आयातित वस्तुमा एमआरपी मूल्य उल्लेख नगर्दा भन्सार जाँचपास नभएपछि अर्थ मन्त्रालय र भन्सार विभागले विदेशबाट आयात हुने वस्तुहरूमा एमआरपी अनिवार्य रुपमा उल्लेख गर्ने सम्बन्धमा देखिएको व्यवहारिक समस्यालाई सम्बोधन गर्दै व्यापार सहजीकरणका लागि नयाँ व्यवस्था गर्ने तयारी गरेको थियो ।
त्यसका लागि भन्सार विभागले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेख्दै औद्योगिक वस्तु र नाशवान वस्तुको हकमा भन्सार विन्दुमा एमआरपी स्वघोषणा गरेर जाँचपास गर्न सकिने मध्यमार्गी बाटो अपनाउने तयारी गरेकोमा प्रधानमन्त्री कार्यालयले स्वीकार नगर्दा समस्या जटिल बन्दै गएको व्यापारीहरू बताउँछन् ।





प्रतिक्रिया