अमेरिकाको ‘सेलेक्ट यूएसए’ समिटमा नेपालका ५ सफ्टवेयर कम्पनी सहभागी

140
Shares

काठमाडौं । अमेरिकाको मेरिल्याण्डमा आयोजना भइरहेको प्रतिष्ठित ‘सेलेक्ट यूएसए इन्भेस्टमेन्ट समिट’ मा नेपालका ५ सफ्टवेयर कम्पनी सहभागी भएका छन् ।

समिटमा नेपालबाट पाँचवटा सूचना प्रविधि कम्पनीहरू बिज सर्भ, स्विफ्ट फिन, कोडाभटार, ग्रीन टिक र इभेन्ट मो सहभागी छन् ।

अमेरिकन च्याम्बर्स अफ कमर्श, नेपालले यो सहभागीतालाई विश्वव्यापी आर्थिक संलग्नता र लगानी प्रवर्द्धनका लागि एउटा महत्वपूर्ण कोशेढुङ्गा पार गरेको उल्लेख गरेको छ ।

समिटमा नेपालले पहिलो पटक निजी क्षेत्रको प्रतिनिधित्वसहित सहभागिता जनाएको हो। लगानी, नवप्रवर्तन र व्यापारका लागि उदीयमान साझेदारका रूपमा नेपाललाई विश्वमञ्चमा चिनाउन यो सहभागितालाई विशेष महत्वका साथ हेरिएको छ।

समिटमा नेपाली कम्पनीहरूले विश्वभरका लगानीकर्ता, अमेरिकी सरकारी अधिकारी र आर्थिक विकासकर्ताहरूसँग बजार पहुँच, साझेदारी र दीर्घकालीन लगानीका अवसरहरूबारे छलफल गरिरहेको उल्लेख गरेका छन् ।

समिटका क्रममा नेपाली प्रतिनिधिमण्डलले अमेरिकी विदेश मन्त्रालय र वाणिज्य मन्त्रालयका उच्च अधिकारीहरूसँग भेटवार्ता गरेको छ।

नेपाली दूतावासमा आयोजित विशेष कार्यक्रममा अमेरिकी उप-सहायक सचिव बेथानी पी. मोरिसनले नेपालमा निजी क्षेत्रको विकास र व्यवसायमैत्री वातावरण निर्माणमा अमेरिकाको विशेष चासो र समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाली दूतावासका कार्यवाहक राजदूत शरदराज आरणले नेपाली उद्यमहरूको बढ्दो क्षमता र विश्वव्यापी दृष्टिकोणको प्रशंसा गर्दै यसले दुई देशबीचको आर्थिक सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।

त्यस्तै, अमेरिकी डेपुटी डाइरेक्टर जोन सेओसँगको छलफलमा व्यावसायिक संलग्नता र बजार प्रवेशलाई कसरी सहज बनाउने भन्ने विषयमा छलफल भएको थियो ।

एमच्याम नेपालका अध्यक्ष कैलाश विजयानन्दले नेपाली प्रतिनिधिमण्डलको यो सहभागिताले नेपाली कम्पनीहरूलाई विश्वव्यापी प्रतिस्पर्धामा अगाडि बढ्न मद्दत पुग्ने बताए ।

एमच्याम नेपालले समन्वय गरेको र कार्यकारी निर्देशक अमीर थापाको नेतृत्वमा रहेको यो पहलले विश्व बजारमा नेपालको बढ्दो सक्रियतालाई पुष्टि गरेको बताइएको छ ।

Skip This