
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ पदाधिकारीका लागि आज निर्वाचन हुँदैछ । सोमबारदेखि सुरू भएको साधारण सभाले आज नयाँ नेतृत्व निर्वाचित गर्नेछ ।
साधारणसभाबाट हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्दै छन् । बाँकी पदाधिकारीका लागि निर्वाचन हुन लागेको हो । निर्वाचन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुदैछ ।
मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलका अनुसार मंगलबार महासंघको ७३ पदका लागि निर्वाचन हुनेछ । कुल ७३ पदका लागि १ सय ३७ जनाले उम्मेदवारी दिएका छन् ।
चार उपाध्यक्ष र बाँकी सदस्य पदमा निर्वाचन हुनेछ । जसमध्ये जिल्ला नगरबाट २, एसोसिएटबाट १, वस्तुगत १ उपाध्यक्ष हुनेछन् भने बाँकी सदस्यमा निर्वाचन हुनेछ ।यो निर्वाचनमा २ हजारभन्दा बढीले मतदान गर्ने बताइएको छ।
निर्वाचनको समय मंगलबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ ।
एसोसिएसटतर्फ १ हजार ८ सय ५०, जिल्ला नगरतर्फ १ सय २९, वस्तुगत संघमा १ सय ७, वस्तुगत महासंघमा १७, द्विराष्ट्रिय ८ र संस्थापकतर्फ १२ जना मतदाता रहेको महासंघले जनाएको छ । निर्वाचनको नतिजा भने बुधबार मात्रै घोषणा हुनेछ ।





प्रतिक्रिया