
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्षका लागि हालसम्म २२ जनाको आवेदन परेको छ । धितोपत्र बोर्डको अध्यक्ष सिफारिसका लागि गठन गरेको सिफारिस समितिका अनुसार अहिलेसम्म २२ जनाको आवेदन परेको हो ।
‘बोर्ड अध्यक्षका लागि सोमबार १२ बजेसम्म २२ जनाको आवेदन परेको छ,’ स्रोतले भन्यो, ‘आज अन्तिम दिन भएकाले अझै आवेदन पर्ने सम्भावना छ ।’ सोमबार मध्यान्हसम्म २२ जनाको आवेदन परेपनि थप आवेदन बढ्नसक्ने सम्भावना रहेकाे उनले बताए ।
सरकारले धितोपत्र बोर्डको अध्यक्ष सिफारिसका लागि गठन गरेको सिफारिस समितिले वैशाख २१ भित्रमा आवेदन दिनका लागि सात दिने सूचना जारी गरेको थियो ।
इच्छुकहरुले समितिले तोकेबमोजिम आफ्नो व्यक्तिगत विवरण र व्यक्तिगत स्वघोषणा पेस गरेका छन् । कार्ययोजना भने माग नगरेका कारण कसैले पनि बुझाएका छैनन् ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टको नेतृत्वमा गठित सिफारिस समितिमा अर्थसचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यका रूपमा भुवन कुमार दाहाल छन् ।
सो समितिले प्राप्त आवेदनमध्येबाट तीन जनालाई सिफारिस गरेपछि सरकारले तीमध्ये एक जनालाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्ति गर्नेछ ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट सूचना प्रकाशित भएको दिनदेखि सात दिनभित्र अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा रहेको समितिको सचिवालयमा व्यक्तिगत विवरण पेश गर्न समितिले भनेको छ ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा (२) बमोजिम मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेको लब्धप्रतिष्ठित व्यक्तिले आवेदन दिन सक्नेछन् ।
यस्तै धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १० अनुसार, नेपालको नागरिक भएको, उच्च नैतिक चरित्र भएको तथा धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्ष पेशागत अनुभव हासिल गरेको हुनुपर्ने उल्लेख गरिएको छ ।





प्रतिक्रिया