
एजेन्सी । ओपेक प्लस जुन महिनामा तेल उत्पादनको लक्ष्य बढाउन सैद्धान्तिक रूपमा सहमत भएको छ । तर, यो वृद्धि मुख्यतया कागजमा मात्र सीमित रहनेछ जबसम्म अमेरिका–इरान युद्धले खाडीको तेल आपूर्तिमा अवरोध पुर्याइरहन्छ ।
ओपेक प्लसका सात सदस्य राष्ट्रहरू जुन महिनामा तेल उत्पादनको लक्ष्य दैनिक करिब १ लाख ८८ हजार ब्यारलले बढाउन सैद्धान्तिक रूपमा सहमत भएका छन् । यो लगातार तेस्रो मासिक वृद्धि हो । युद्ध र अघिल्लो साता संयुक्त अरब अमिरात (यूएई) समूहबाट बाहिरिए पनि उनीहरूले आफ्नो योजनालाई निरन्तरता दिएका छन् ।
आइतबारको बैठकमा सहभागी हुने सात सदस्यहरू साउदी अरब, इराक, कुवेत, अल्जेरिया, काजाकिस्तान, रुस र ओमान हुन् । यूएई बाहिरिएसँगै ओपेक प्लसमा इरानसहित २१ सदस्य छन् तर हालका वर्षहरूमा यी सात राष्ट्र र युएई मात्र मासिक उत्पादनसम्बन्धी निर्णयहरूमा संलग्न रहँदै आएका थिए ।
फेब्रुअरी २८ मा सुरु भएको इरान युद्ध र त्यसका कारण हर्मुज जलयोजक बन्द हुँदा ओपेक प्लसका सदस्यहरू साउदी अरब, इराक र कुवेतका साथै यूएईको निर्यातमा निकै ठूलो अवरोध पुगेको छ । द्वन्द्व सुरु हुनुअघि यस समूहमा उत्पादन बढाउन सक्ने देशहरू यिनै मात्र थिए ।
इरान पनि ओपेक प्लसको सदस्य हो यद्यपि ऊ आइतबार बैठक बस्ने सात सदस्यहरूमा समावेश छैन । अप्रिलमा लगाइएको अमेरिकी नाकाबन्दीका कारण इरानको आफ्नै निर्यातमा पनि कटौती भएको छ ।
हर्मुज जलयोजकबाट ढुवानी पुनः सुरु नभएसम्म उत्पादन वृद्धि धेरै हदसम्म सांकेतिक मात्र रहनेछ । र, जलसन्धि खुलेपछि पनि तेलको प्रवाह सामान्य हुन महिनौं नभए पनि धेरै हप्ता लाग्ने खाडीका तेल अधिकारीहरू र विश्वव्यापी तेल व्यापारीहरूले बताएका छन् ।
यो अवरोधका कारण यसै हप्ता तेलको मूल्य चार वर्षयताकै उच्च विन्दु प्रति ब्यारल १२५ डलरभन्दा माथि पुगेको छ ।
विश्लेषकहरूले आगामी एकदेखि दुई महिनामा हवाई इन्धनको व्यापक अभाव हुने र विश्वव्यापी मुद्रास्फीति बढ्ने प्रक्षेपण गर्न थालेका छन् ।
आइतबारको वृद्धि गत महिनाको दैनिक २ लाख ६ हजार ब्यारल वृद्धिसँग मिल्दोजुल्दो हुनेछ जसमा मे १ मा समूह छोडेको यूएईको हिस्सा घटाइनेछ । स्रोतहरूले नाम नबताउने शर्तमा यो जानकारी दिएका हुन् किनभने उनीहरूलाई सञ्चारमाध्यमसँग कुरा गर्ने अनुमति छैन ।
यस निर्णयले ओपेक प्लसले आफ्नो नियमित प्रक्रियालाई निरन्तरता दिइरहेको र युद्ध समाप्त भएपछि आपूर्ति बढाउन इच्छुक रहेको संकेत गर्ने स्रोतहरूले पहिले बताएका थिए ।
ओपेकले गत महिना सार्वजनिक गरेको प्रतिवेदन अनुसार, मार्चमा ओपेक प्लसका सबै सदस्यहरूको कच्चा तेल उत्पादन औसत दैनिक ३ करोड ५० लाख ६० हजार ब्यारल थियो । त्यो फेब्रुअरीको तुलनामा ७७ लाख ब्यारलले कम हो ।
निर्यातमा आएको अवरोधका कारण इराक र साउदी अरबले सबैभन्दा धेरै कटौती गरेका छन् । खाडी बाहिर युक्रेनी ड्रोन आक्रमणले पूर्वाधारमा क्षति पुर्याएपछि रुसले पनि उत्पादन घटाएको छ ।
इरानले पाकिस्तानका मध्यस्थकर्ताहरूलाई अद्यावधिक शान्ति प्रस्ताव पठाएपछि शुक्रबार तेलको मूल्यमा गिरावट आयो जसले अमेरिकासँगको सम्झौता अझै सम्भव रहेको आशा पुनः जगाएको छ ।
अमेरिकी कच्चा तेलको मूल्य ३ प्रतिशतले घटेर प्रति ब्यारल १०१.९४ डलरमा बन्द भयो । यस्तै, अन्तर्राष्ट्रिय मानक ब्रेन्ट क्रुड करिब २ प्रतिशतले घटेर १०८.१७ डलरमा कायम भयो ।








प्रतिक्रिया