व्यवसायको आवरणमा व्यापारीले अपराध गरेको पाएँ, साँठगाँठ र क्रोनिजमको अन्त्य हामी गर्छौं

परिवर्तनलाई ‘सक्षम’ बनाउने प्रक्रियामा नियम–कानुन बाधक होइन, साधक बन्नुपर्छ

168
Shares

सन् २०१४ मा भारतले आफ्नो आधुनिक विकासको यात्रालाई तीव्रता दिँदा त्यतिबेला उसको प्रतिव्यक्ति आय १५०० अमेरिकी डलर थियो । आज हामी ठ्याक्कै त्यहि अवस्थामा छौं । यो एउटा संयोग मात्रै होइन, यो अवसर र संकेत पनि हो । यो हाम्रो लागि ‘आर्थिक राजकाजको जहाजलाई सही दिशामा मोड्ने समय’ हो । हुन त आफैंमा यो यात्रा जोखिमपूर्ण छ । यदि हामीले जहाजलाई कुशलतापूर्वक हाँक्न सकेनौं भने टाइटानिकझैं डुब्ने खतरा पनि रहन्छ।

तर, एउटा सानो, सुविचारित र साहसी कदमले पनि हाम्रो गन्तव्यलाई पूर्ण रूपमा बदल्न सक्छ । एउटा विशाल जहाजलाई केवल सानो धक्काले पूरै फरक गन्तव्यमा पुरर्‍याउन सक्छ, हामीले नेपालको आर्थिक जहाजलाई त्यही कुशलताका साथ नयाँ दिशा दिनुपर्नेछ । लामो समयदेखि हाम्रो देश अपार सम्भावनाका बाबजुद अवमूल्यांकन र अल्प–उपयोगको सिकार भएको छ । हाम्रा स्रोतसाधनहरू छन्, तर तिनको सदुपयोग हुन सकेको छैन ।

यही पृष्ठभूमिमा हामीलाई नेपाली जनता, विशेषगरी युवा पुस्ताले परिवर्तनको पक्षमा अभूतपूर्व जनादेश दिएका छन् । यो केवल सरकार परिवर्तनको जनादेश होइन, यो समग्र सोच, कार्यशैली र प्रणाली परिवर्तनको आकांक्षा हो । हामीले यही जनादेशलाई शिरोधार्य गर्दै स्थिरता, नीतिगत अनुमानयोग्यता र सुशासनको जगमा देशलाई अघि बढाउने पाँचवर्षे संकल्प लिएका छौं । यो यात्राको सबैभन्दा महत्वपूर्ण पक्ष सुशासन र इमानदारिताको स्थापना हो ।

विगतमा हाम्रो प्रणाली यस्तो बन्यो, जहाँ एकजना प्रतिष्ठित व्यापारीले भनेझैं, ‘एउटा इमान्दार मान्छे छिर्यो भने पनि त्यो ऐन कानुनले यसरी घुमाइदिन्छ कि ऊ निस्कँदाखेरि बेइमान भएर निस्कन्छ ।’ यो चरित्र–चित्रणले हाम्रो राजनीतिक अर्थतन्त्रको दुःखद यथार्थलाई उजागर गर्छ । हामी यही प्रणालीलाई सफा गर्ने वाचा गर्छौं । हाम्रो पार्टी अध्यक्षले भन्नुभएझैं, यो ‘खिल निकाल्ने वर्ष हो ।’ यो प्रक्रिया केहीका लागि पीडादायी हुन सक्छ, तर यो अपरिहार्य छ ।

हामी निजी उद्यमशीलतालाई इमानदारिताको जगमा फस्टाएको हेर्न चाहन्छौं । व्यापारिक समुदाय र भ्रष्ट राजनीतिज्ञहरू बीचको अपवित्र साँठगाँठ, नीतिगत कब्जा र संस्थागत क्रोनिजमको अन्त्य हुनैपर्छ । हाम्रो आर्थिक दृष्टिकोण स्पष्ट छः भूपरिवेष्ठित हुनुको संरचनात्मक प्रतिकूलतालाई जित्नका लागि ‘तौल रहित र दुरी रहित’ अर्थतन्त्रको विकास गर्ने । यसको माध्यम डिजिटलाइजेसन हो । प्रविधिको प्रयोगबाट हामी दूरी र तौलको बाधालाई नाघेर विश्व बजारसँग जोडिन सक्छौं ।

विगतमा गल्तीहरू भएका हुन सक्छन् । सो क्रममा भएका गल्तीहरूलाई र फटाहाहरूलाई बचाउने काम गर्नु हुँदैन । म अर्थमन्त्रीको कुर्सीमा बस्दै गर्दा यस देशमा भएको दुरुपयोग, कब्जा र लुटको स्तरबारे प्रतिवेदनहरू पढेको छु । यो देखेर कहिलेकाहीँ म काँप्छु । हामीले सामाजिक रूपमा भेटघाट गरेका छौं, तर नेपालका जनतामाथि भएको अपराधिकरणको हद देखेर म काँप्छु । यो रोकिनुपर्छ ।

सरकारले लगानीको वातावरण बनाउने हो, निजी क्षेत्रले लगानी गर्ने हो । हाम्रो एक रुपैयाँको सार्वजनिक लगानीले निजी क्षेत्रको पाँच–छ रुपैयाँ आकर्षित गर्न सक्नुपर्छ । हामी ठूला परिवर्तनहरूको ‘इन्जिनियरिङ’ गर्दैनौं, बरु त्यस्ता परिवर्तनहरूलाई ‘सक्षम’ बनाउँछौं । यो सक्षम बनाउने प्रक्रियामा नियम–कानुनहरू बाधक होइन, साधक बन्नुपर्छ । मैले अर्थमन्त्रीको रूपमा कार्यभार सम्हालेको पहिलो दिन नै १५ वटा पुराना र अव्यवहारिक कानुनहरू खारेज गर्नु र व्यापारिक समुदायलाई दुःख दिने सरकारी निकाय खारेज गर्नुको पछाडि यही सोच थियो ।

आर्थिक वृद्धिको यात्रामा सामाजिक न्यायलाई बिर्सन सकिँदैन । हामी धनी हुनलाई पर्खेर मात्रै गरिब जनतामा लगानी गर्ने पक्षमा छैनौं । कम आयस्तरमै पनि हामी आफ्नो क्षमताअनुसारको सामाजिक सुरक्षा र कल्याणको व्यवस्था गर्न सक्छौं । शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा लगानी गरेर हामीले मध्यम वर्गलाई सुरक्षित र बलियो बनाउनु छ, ताकि विकासको प्रतिफल समावेशी बनोस् र समाजको तल्लो तहसम्म पुगोस् ।

कनेक्टिभिटी हाम्रो विकासको अर्को महत्त्वपूर्ण आधार हो । ऊर्जा, सडक र डिजिटल कनेक्टिभिटीका साथै उड्डयन क्षेत्रको विकास अपरिहार्य छ । विडम्बना के छ भने, भूपरिवेष्ठित देशहरूलाई सबैभन्दा बढी चाहिने उड्डयन, दूरसञ्चार र लजिस्टिकजस्ता क्षेत्रहरू नै विगतमा सबैभन्दा बढी राजनीतिक हस्तक्षेप र भ्रष्टाचारको चपेटामा परे । यी क्षेत्रहरूमा हुने भाडा असुलीले देशको विकासलाई नै बन्धक बनाएको छ । हामीले यी क्षेत्रहरूलाई भ्रष्टाचारमुक्त र प्रतिस्पर्धी बनाएर देशको आर्थिक विकासको मेरुदण्डको रूपमा स्थापित गर्नुपर्छ ।

यो सम्पूर्ण रूपान्तरणको केन्द्रमा नेपालको ‘सफ्ट पावर’ छ । हाम्रो अनुपम प्रकृति, संस्कृति, पर्यटन र मानव संसाधन नै हाम्रो वास्तविक शक्ति हो । भारत र चीनजस्ता विशाल अर्थतन्त्रको बीचमा हाम्रो अवस्थिति हाम्रो लागि अवसर हो । हामीले उच्च मूल्यको पर्यटन, प्रत्यक्ष वैदेशिक लगानी र निर्यात प्रवर्द्धनमार्फत यो अवसरको सदुपयोग गर्नुपर्छ । डायस्पोरामा रहेका नेपालीहरू पनि अब परिवर्तनको लागि तयार छन् र उनीहरूलाई हाम्रो विकास यात्राको सहयात्री बनाउनु आवश्यक छ ।

हाम्रा लागि भारतको अनुभव अत्यन्तै सान्दर्भिक छ । भारतले जसरी डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर र आधार प्रणालीमार्फत आम नागरिकको जीवनमा प्रत्यक्ष परिवर्तन ल्यायो, त्यो हाम्रा लागि अनुकरणीय छ । यदि १४० करोड जनसंख्या भएको देशले यो गर्न सक्छ भने ३ करोड जनसंख्या भएको नेपालले यो गर्न नसक्ने कुनै कारण छैन । हामीले हाम्रा सिफारिसहरूलाई सानो स्तरमा, तर प्रभावकारी रूपमा लागू गर्नुपर्छ ।

हाम्रो देशको आकार पनि एक हिसाबले हाम्रो शक्ति हो । यदि नेपाल युरोपमा हुन्थ्यो भने यो सातौं ठूलो देश हुने थियो । तर हाम्रा विशाल छिमेकीहरूका कारण हामी सानो देखिन्छौं । तर यो सानोपन होइन, यो अवसर हो । हामीले हाम्रो विविधतालाई पनि शक्तिमा बदल्नुपर्छ । १२५ भन्दा बढी जातजाति र भाषाहरू भएको हाम्रो देशको लोकतान्त्रिक आकांक्षाहरू राज्य सञ्चालनमा प्रतिबिम्बित हुनुपर्छ ।

यो नयाँ यात्रामा हामीले केही आधारभूत सिद्धान्तहरूलाई आत्मसात् गर्नुपर्छः सुधारहरू साहसी हुनुपर्छ, सरकार अनुमानयोग्य हुनुपर्छ, र कार्यान्वयन अथक र निर्मम हुनुपर्छ । कानुन कार्यान्वयनमा कुनै भावुकता वा सम्झौता हुने छैन । जो इमानदार व्यापार गर्न चाहन्छन्, उनीहरूले डराउनु पर्दैन । तर जो फटाहा छन्, उनीहरूलाई कानुनी कठघरामा उभ्याइनेछ । प्रधानमन्त्री वालेन्द्र शाह सुशासनप्रति पूर्ण प्रतिबद्ध हुनुहुन्छ र उहाँको नेतृत्वमा काठमाडौंमा देखिएको परिवर्तनले यसको संकेत गरिसकेको छ ।

तर, यो यात्रा सरकारको एक्लो प्रयासले सम्भव छैन । यो सरकार, निजी क्षेत्र, नागरिक समाज र डायस्पोरा सबैको साझा यात्रा हो । हामी इमानदार व्यापार गर्न चाहने, रोजगारी सिर्जना गर्ने र देशको ढुकुटी भर्ने उद्यमीहरूको साथमा दृढतापूर्वक उभिनेछौं । विगतका गल्तीहरूबाट सिक्दै, फटाहाहरूलाई दण्डित गर्दै र इमानदारहरूलाई पुरस्कृत गर्दै हामी अघि बढ्नेछौं ।

हाम्रो लक्ष्य आगामी पाँचदेखि सात वर्षमा प्रतिव्यक्ति आयलाई दोब्बर (३ हजार डलर) बनाउनु हो । यदि हामी सबैले इमानदारिता र दृढताका साथ आ–आफ्नो भूमिका निर्वाह गर्यौं भने यो सम्भव छ । यो केवल आर्थिक वृद्धि मात्र होइन, यो देशको आत्मसम्मान र भविष्यको पुनर्निर्माणको अभियान हो । हामीले हाम्रो घोषणापत्रमा वाचा गरेका कुराहरूलाई केवल चुनावी नारामा सीमित राख्ने छैनौं, त्यसलाई कार्यान्वयन गरेरै छाड्नेछौं ।

(बाह्रखरी गल्फ एन्ड इकोनोमिक सिम्पोजियममा मन्त्री वाग्लेले व्यक्त गरेको मन्तव्यको सार)