
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरले सुरक्षा जाँचका क्रममा जफत गरिएका र बेवारिसे अवस्थामा फेला परेका ठूलो परिमाणका निषेधित वस्तुहरू नष्ट गरेको छ ।
सुरक्षा कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै सुरक्षाको दृष्टिकोणले लैजान नमिल्ने र कानुनी रूपमा प्रतिबन्धित ३० प्रकारका सामग्रीहरू विमानस्थलको डम्पिङ क्षेत्रमा नष्ट गरिएको जानकारी दिएको हो ।
विमानस्थल सुरक्षा कार्यालयका अनुसार २०८२ चैत ३० देखि २०८३ साल वैशाख १५ गतेसम्मको अवधिमा प्रस्थानतर्फको सुरक्षा जाँचका क्रममा यी सामग्रीहरू संकलन भएका थिए ।
यात्रुहरूले यात्राका क्रममा छोडेका, लैजान नपाउने भनी रोकिएका र बेवारिसे फेला परेका यी सामानहरू सम्बन्धित धनी वा आफन्तलाई लिन आउन समय दिइएको थियो । तर, लामो समयसम्म कोही पनि सम्पर्कमा नआएपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै ती सामान नष्ट गरिएको कार्यालयले जनाएको छ ।
सुरक्षा कार्यालयले सार्वजनिक गरेको सूचीअनुसार सबैभन्दा धेरै संख्यामा लाइटर र बडी स्प्रे रहेका छन् । सुरक्षा कार्यालयका अनुसार लाइटर २ हजार ८ सय वटा, बडी स्प्रे ६५० वटा, कैंची १ हजार २८५ जोर, सुर्ती र पराग ३५ केजी, बेल्ट ३६ थान, टेप ६५ थान नस्ट गरिएका छन् ।
यस्तै अचार ६० बट्टा, घ्यु १९ बट्टा, मसला ८ पोका, नरिवल ४९ वटा, डोभ स्याम्पू २२ थान नस्ट गरिएका छन् ।
यस्तै सनसिल्क स्याम्पू ५० थान, हेड एण्ड शोल्डर्स स्याम्पू ८ थान, केराटिन स्याम्पू ४० थान नस्ट गरिएको छ ।
सुरक्षा कार्यालयका अनुसार ३३ थान खुकुरी र ४८ थान स्विच नाइफ (चक्कु) नस्ट गरिक १४ प्रकारका मदिराजन्य सामानहरू नष्ट गरिएका छन् । जसमा खुकुरी रम ५ बोतल (फुल), बन्दिपुर रक्सी १ बोतल (फूल), मार्फा १ फुल २ क्वार्टर, ओल्ड दरबार १ फुल १ क्वाटर, मुस्ताङ १ क्वाटर, चाइनिज मदिरा १ फुल १ क्वाटर, गोर्खाज एण्ड गन २ फुल २ क्वाटर, वाइन २ बोतल (फुल), ८८४८ भोड्का १ क्वार्टर, हन्नी रम १ क्वाटर, न्यूड भोड्का १ क्वाटर, गोल्डेन वाक १ क्वाटर र घरेलु मदिरा ४ बोतल नष्ट गरिएका छन् ।
विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक राज कुमार सिलवालका अनुसार, हवाई सुरक्षालाई थप मजबुत बनाउन प्रतिबन्धित सामग्रीहरू लैजान कडाइ गरिएको हो । यात्रुहरूलाई विमानस्थल आउनुअघि कुन सामान लैजान मिल्छ र कुन मिल्दैन भन्नेबारे पूर्ण जानकारी राख्न समेत सुरक्षा निकायले अनुरोध गरेको छ ।
विमानस्थलले यस्ता सामग्रीहरूका कारण सुरक्षा जोखिम बढ्ने भएकाले समय-समयमा संकलित वस्तुहरूलाई कानुनी प्रक्रिया पुर्याएर नष्ट गर्दै आएको जनाएको छ ।









प्रतिक्रिया