सामसङको ‘रेमिटमा बेनिफिट क्याम्पेन’ सुरू

42
Shares

काठमाडौं । सामसङ नेपालले ‘रेमिटमा बेनिफिट’ नामक विशेष उपभोक्ता अभियान सुरू गरेको छ ।

यो पहल वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरू र उनीहरूका परिवारलाई सम्मान गर्दै उनीहरूको रेमिट्यान्सलाई जीवनस्तर सुधार गर्ने अर्थपूर्ण अवसरमा रूपान्तरण गर्ने उद्देश्यले ल्याइएको कम्पनीले जनाएको छ ।

कम्पनीले यो अभियानमार्फत आकांक्षा र पहुँचबीचको दूरी कम गर्ने लक्ष्य राखेको जनाएको छ । अभियानअन्तर्गत नेपालभर रहेका रेमिट्यान्स आधारित परिवारहरूलाई प्रिमियम प्रविधि अझ सहज रूपमा उपलब्ध गराउने विशेष अफरहरू प्रस्तुत गरिएको छ ।

यस अभियान अन्तर्गत ग्राहकहरूले सामसङका विभिन्न उत्पादनहरूमा आकर्षक सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले स्मार्टफोन, सामसङ टिभी, रेफ्रिजेरेटर र वासिङ मेसिन खरिदमा अधिकतम ६% सम्म नगद फिर्ता, एनसेल रिचार्जमा अधिकतम १८० जीबी बोनस डेटा र २४ महिनासम्मको किस्ताबन्दी सुविधा पाउन सक्नेछन् ।

यी सुविधाहरूले परिवारको मासिक किस्ता भारलाई उल्लेखनीय रूपमा घटाउँदै सामसङका प्रिमियम तथा गुणस्तरीय उत्पादनहरूमा पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेको कम्पनीको भनाइ छ ।

यो अभियानलाई आईएमई रेमिट, खल्ती, एनसेल, एचएफएल, एचआईएम इलेक्ट्रोनिक्स र ट्रिभेनी ब्यापार जस्ता प्रमुख साझेदारहरूसँगको रणनीतिक सहकार्यले थप मजबुत बनाइएको कम्पनीले जनाएको छ ।

यसले देशभरका ग्राहकका लागि पहुँच, किफायतीपन र कनेक्टिभिटीलाई अझ प्रभावकारी बनाउने एकीकृत प्रणाली निर्माण गरेको कम्पनीको भनाइ छ ।

अफर उपयोग गर्नका लागि ग्राहकले आईएमई रेमिटमार्फत रेमिट्यान्स पाउनुपर्नेछ । त्यसपछि आईएमई कन्ट्रोल नम्बर सहित स्टोरमा गएर आफूलाई मन लागेको डिभाइस छनोट गरी एचएफएल मार्फत ऋण आवेदन गर्न सकिन्छ ।

यस्तै सामसङ स्मार्टफोन खरिद गर्दा एनसेल प्याक लिने र बोनस प्राप्त गर्न सकिन्छ । यस्तै खल्ती मार्फत योग्य ‘क्यासब्याक’ पाउन सकिने कम्पनीले जनाएको छ ।

स्यामसुङ नेपालका एमएक्स बिजनेसका सिनियर डाइरेक्टर प्रणय रत्न स्थापितले भने, ‘हामी विश्वास गर्छौं कि रेमिट्यान्स केवल आर्थिक सहयोग मात्र होइन-यो विदेशमा काम गर्ने लाखौं नेपालीहरूको आशा र आकांक्षाको प्रतिबिम्ब हो।’