
काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआई)ले विराटनगरमा गर्न लागेको महिला नेतृत्व सम्मेलनको तयारी पूरा भएको छ ।
कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, विराटनगर महानगरपालिका, उद्योग विभागसँगको सहकार्यमा परिसंघ र परिसंघको कोशी प्रदेश शाखाको संयुक्त आयोजनामा सम्मेलन वैशाख २१ मा हुनेछ ।
सीएनआई वमन लिडरसिप फोरमको संयोजनमा हुन लागेको सम्मेलनमा सम्मेलनको मुख्यवक्ता गोल्यान ग्रुपका संस्थापक अध्यक्ष पवन गोल्यान र विशिष्ट अतिथि सविना काफ्ले रहेका छन् । काफ्ले प्रधानमन्त्री बालेन्द्र शाहकी पत्नी हुन् ।
बिहीबार परिसंघमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष वीरेन्द्रराज पाण्डेले सम्मेलन दिगो समृद्धितर्फः कृषि, सीप, सिर्जनशीलता र डिजिटल नवप्रवर्तनमा केन्द्रित रहने बताए ।
सम्मेलनमा महिला नेतृत्व विकास क्षमता अभिबृद्धि, स्थानीय कृषि, सीप, नवप्रबर्तन तथा उद्यमशीलता प्रबद्र्धन तथा वर्तमान एवं सफल व्यवसायिक उदाहरणहरूमा केन्द्रित तथा उद्यमीहरूबाट उत्पादित स्वदेशी वस्तुहरूको प्रदर्शनी समेत हुने उनले जानकारी दिए ।
सम्मेलनको आकर्षणहरूमा महिला उद्यमीहरूको प्रेरणादायी सफलता कथा प्रस्तुती, फोनपे सहित डिजिटल नवप्रवर्तन सम्बन्धी छलफल, स्वदेशी वस्तुहरूको प्रर्दशनी, उद्यमी, नीति निर्माता, निजी क्षेत्रका प्रतिनिधि तथा विकास साझेदारहरूबीच नेटवर्किङ रहेको प्रतिनिधि सभा सांसद समेत रहेकी सीएनआई वमन लिडरसिप फोरमकी सभापति विदूषी राणाले बताइन् ।
यस सम्मेलनले महिला उद्यमीहरू, नीति निर्माता, विकास साझेदार, वित्तीय संस्था तथा उद्योगी व्यवसायीहरूलाई एकै ठाउँमा ल्याई समावेशी आर्थिक वृद्धि र दिगो समृद्धिको मार्ग तय गर्ने विश्वास लिएको परिसंघको भनाइ छ ।
सम्मेलनमा प्रायोजकको रुपमा नबिल बैंक, आईएलओ, बोटलर्स नेपाल (कोका–कोला), लक्ष्मी बैंक, फोनपे, कुमारी बैंक र नोबेल मेडिकल कलेज छन् ।





प्रतिक्रिया