हतारमा व्यवसायी पक्राउ गर्दा लगानीकर्ताको मनोबल कमजोर हुन्छ: नाडा

175
Shares

काठमाडौँ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले निजी क्षेत्रका प्रतिष्ठित उद्यमी एवं आफ्ना पूर्व अध्यक्ष शेखर गोल्छा प्रक्राउ प्रति आपत्ति जनाएको छ ।

नाडाले एक विज्ञप्ति जारी गर्दै अनुसन्धानका नाममा व्यवसायीहरूलाई हठात् पक्राउ गर्ने कार्यले लगानीकर्ताको मनोबल गिराउने ठहर गरेको छ ।

गोल्छालाई नेपालको औद्योगिक र व्यावसायिक जगतको सम्मानित व्यक्तित्वका रूपमा चित्रण गर्दै नाडाले उनको नेतृत्वले निजी क्षेत्रलाई नयाँ दिशा दिनुका साथै मुलुकको आर्थिक विकासमा अतुलनीय योगदान पुर्‍याएको उल्लेख गरेको छ ।

‘यस्तो गरिमामय इतिहास बोकेको र देशकै ठूलो औद्योगिक घरानाको नेतृत्व गरिरहनु भएको व्यक्तित्वमाथि गरिने कुनै पनि अन्यायपूर्ण व्यवहारले समग्र उद्योगी व्यवसायीमा नकारात्मक सन्देश जान्छ,’ नाडाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

राज्यले गर्ने सत्यतथ्य छानबिन र अनुसन्धान प्रक्रियामा निजी क्षेत्रले सधैँ सहयोग गर्ने स्पष्ट पार्दै नाडाले अनुसन्धानकै लागि व्यवसायीलाई थुनामा राख्ने प्रवृत्तिको विरोध गरेको छ ।

‘निजी क्षेत्रलाई उत्साहित बनाउँदै लगानी भित्र्याउनु पर्ने समयमा प्रतिष्ठित व्यवसायीमाथि हुने धरपकडले स्वदेशी तथा विदेशी लगानीकर्तामा त्रासको वातावरण सिर्जना गर्नेछ । यसले सरकारको ‘लगानीमैत्री नेपाल’ को नारालाई समेत कमजोर बनाउने देखिन्छ,’ नाडाले चेतावनी दिएको छ ।

नाडाले गोल्छाको हकमा ‘पक्राउ नगरी छानबिन प्रक्रिया अघि बढाउन’ सरकार र सम्बन्धित निकायसँग अनुरोध गरेको छ ।

दोषी प्रमाणित नभएसम्म प्रतिष्ठित नागरिकको आत्मसम्मान र व्यावसायिक प्रतिष्ठाको रक्षा गर्नु राज्यको दायित्व भएको भन्दै नाडाले उनले अनुसन्धानमा पूर्ण सहयोग गर्नेमा आफूहरू विश्वस्त रहेको समेत जनाएको छ ।

निजी क्षेत्रलाई सुरक्षित र सम्मानित महसुस गराउँदै आर्थिक समृद्धिको यात्रामा हातेमालो गर्न समेत नाडाले सरकारसँग माग गरेको छ ।

Skip This