बालेन सरकारको १०० बुँदे कार्ययोजना कार्यान्वयनलाई नियाल्दै बंगलादेश

3.1k
Shares

काठमाडौं । बालेन्द्र साह सरकारलाई बंगलादेशले आशाका साथ हेरिरहेको त्यहाँका विश्लेषकले बताएका छन् ।

नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेशन एन्ड इंगेजमेन्ट (नाइस) ले बुधबार आयोजना गरेको वेबिनारमा बोल्दै बंगलादेशको थिंकट्यांक बंगलादेश सेन्टर फर इन्डो–प्यासिफिक अफेयर्सका कार्यकारी निर्देशक साह इनाब खानले युवाको नेतृत्वमा रहेको सरकारले १०० बुँदे सुधार योजनालाई कत्तिको प्रभावकारी कार्यान्वयन गर्छ भनी दक्षिण एसियाले हेरिरहेको भनाइ राखेका छन् ।

नेपालमा विशाल संरचनात्मक परिवर्तन हुने गरी जेनजी आन्दोलन भएको र प्रचण्ड बहुमत पाएको बलियो सरकारले आधारभूत विषयमा सचेत हुनुपर्ने उनले बताए ।

‘देशका लागि आर्थिक स्थिरता आवश्यक छ र नयाँ सरकारप्रति जनताको अपेक्षा बढी नै भएकाले त्यसलाई पूरा गर्नु चुनौतीपूर्ण छ,’ उनले थपे ।

अहिले लेनदेनमुखी बहुध्रुवीयताको युग भएकाले नेपालको नयाँ संसद्लाई त्यो ह्यान्डल गर्न गाह्रो हुने सम्भावना रहेको उनको भनाइ छ ।

बालेन साहको व्यक्तिगत छवि राम्रो रहेको र उनले भ्रष्टाचार नगरेको कुरा सकारात्मक छ र उनको सरकारले शक्ति दुरुपयोग गर्ने प्रलोभनबाट बच्नुपर्ने खानले बताए ।

खानले बालेनका कतिपय कमजोरीलाई पनि औंल्याएका छन् । उनका अनुसार, एक महिने कार्यकालमा एउटा पनि प्रेस कन्फरेस नगर्नु र आफ्ना भनाइ राख्नका लागि सामाजिक सञ्जालमा निर्भर रहनुले राम्रो सन्देश दिएको छ । प्रेससँग बालेनको दूरीले आत्मविश्वासको अभाव देखाएको उनले बताए ।

तर, बालेनले विभिन्न दशका राजदूतलाई एकैपटक भेटेर सामूहिक कूटनीतिमा ध्यान दिँदै हायरार्किकल डिप्लोमेसीलाई भत्काएको सकारात्मक पक्ष भएको उनको भनाइ छ । सन्तुलित र स्वतन्त्र विदेशनीति अपनाउने बालेन सरकारको निर्णय तत्कालीन राजा वीरेन्द्रको शान्तिक्षेत्र प्रस्तावसँग मिल्दोजुल्दो रहेको उनले बताए ।

अहिले विश्वमै लेनदेनमुखी बहुध्रुवीयताको अभ्यास भइरहेको अवस्थामा बालेनले भारतसँगको सम्बन्धमा सभ्यतागत सम्बन्धको कुरा भन्दा पनि लेनदेनमुखी कूटनिित गर्न खोजेको खानको भनाइ छ । सिद्धान्तनिष्ठ विदेश नीतिको कार्यान्वयन सरकारले गर्नु आवश्यक रहेको उनको भनाइ छ ।