
काठमाडौं । पछिल्लो ३ वर्षदेखि निरन्तर बढेको बैंकहरूको निष्क्रिय कर्जामा सुधार देखिन लागेको छ । प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा र एनआईसी एशिया बैंकको निष्क्रिय कर्जा निरन्तर बढ्दै गएको छ ।
केही बैंकहरूको भने चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा निष्क्रिय कर्जामा सुधार देखिन लागेको छ । गत आर्थिक वर्षको अन्तिम त्रैमासमा रिकभरीमा केही सुधार देखिएको थियो ।
बैंकहरूले धितो लिलामी तथा गैरबैंकिङ सम्पत्ति बिक्री पनि सकारात्मक भएको बताएका थिए । तर, चालु आर्थिक वर्षको भदौमा भएको ‘जेन जी’ प्रदर्शनपछि अर्थतन्त्रको शिथिलता थप लम्बियो ।
असोज मसान्त र पुस मसान्तमा बैंकहरूको रिकभरी अपेक्षित राम्रो देखिएन । तर, गत फागुनमा भएको निर्वाचनमा बढेको आर्थिक गतिविधि र पछिल्लो समय खुलेको एलसीको कारोबारले आर्थिक गतिविधिमा केही सकारात्मक अवस्था देखिएको बैंकरहरू बताउँछन् ।
पुसमा अपेक्षित सुधार नदेखिएको बैंकहरूको रिकभरी चैतमा भने सुधार भएको बैंकरहरू बताउँछन् । आर्थिक वर्षको तेस्रो त्रैमासमा २० मध्ये ९ वटा वाणिज्य बैंकको निष्क्रिय कर्जा घटेको प्रकाशित वित्तीय विवरणले देखाउँछ । ११ बैंकको भने निष्क्रिय थप बढेको छ ।
वाणिज्य बैंकहरूको औसत निष्क्रिय कर्जा अनुपात गत आवको चैतसम्मको तुलनामा चालु आवको सोही अवधिमा बढेको छ । चालु आवको चैतसम्ममा औसत ५.२२ प्रतिशत निष्क्रिय कर्जा रहेको छ ।
गत आवको सोही अवधिमा औसत निष्क्रिय कर्जा ४.८२ प्रतिशत थियो । पुस मसान्तमा वाणिज्य बैंकहरूको औसत निष्क्रिय कर्जा ५.२६ प्रतिशत पुगेको थियो । चैत मसान्तमा त्यसमा उल्लेख्य सुधार नभए पनि पुस मसान्तको भन्दा थप बढेको छैन ।
सिद्धार्थ, नेपाल एसबीआई, नबिल, माछापुच्छ्रे, लक्ष्मी सनराइज, एभरेष्ट, नेपाल र कुमारी बैंकको निष्क्रिय कर्जा घटेको बैंकहरूले प्रकाशित गरेको वित्तीय विवरणले देखाउँछ ।

एभरेष्ट बैंकले निष्क्रिय कर्जामा झिनो सुधार गरेको छ । चालु आवको चैतसम्ममा एभरेष्ट बैंकको निष्क्रिय कर्जा ०.६१ प्रतिशत रहेको छ । जब कि गत आवको सोही अवधिमा बैंकको निष्क्रिय कर्जा ०.६४ प्रतिशत थियो ।
एभरेष्टपछि कुमारी बैंकको निष्क्रिय कर्जामा पनि सामान्य सुधार आएको छ । चालु आवको चैत मसान्तसम्ममा कुमारी बैंकको निष्क्रिय कर्जा ६.९४ प्रतिशत छ । गत आवको सोही अवधिमा बैंकको निष्क्रिय कर्जा ६.९८ प्रतिशत थियो ।
गत आवको चैतसम्ममा ५.४५ प्रतिशत रहेको नेपाल बैंकको निष्क्रिय कर्जा चालु आवको सोही अवधिमा ४.९६ प्रतिशतमा झरेको छ ।
राष्ट्रिय वाणिज्य बैंकले पनि निष्क्रिय कर्जामा सुधार गरेको छ । बैंकको निष्क्रिय कर्जा चालु आवको तेस्रो त्रैमाससम्ममा ४.४८ प्रतिशत छ । गत आवको सोही अवधिमा यस्तो कर्जा ४.६९ प्रतिशत थियो ।
यस्तै सिद्धार्थ बैंकको निष्क्रिय कर्जा ४.०४ बाट घटेर ३.१७ प्रतिशत कायम भएको छ । नेपाल एसबीआई बैंकको निष्क्रिय कर्जा ४ बाट २.५३ प्रतिशतमा झरेको छ ।
नबिलको निष्क्रिय कर्जा ४.९६ बाट ४.०१ प्रतिशत झर्दा माछापुच्छ्रे बैंकको ४.५९ बाट ४.०१ प्रतिशतमा झरेको छ । यस्तै लक्ष्मी सनराइज बैंकको निष्क्रिय कर्जा गत आवको चैतसम्ममा ५.८६ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा ५.२९ प्रतिशतमा झरेको छ ।
बाँकी ११ बैंकहरूको निष्क्रिय कर्जा बढेको छ । तेस्रो त्रैमासको प्रकाशित वित्तीय विवरणअनुसार, सबैभन्दा बढी निष्क्रिय कर्जा एनआईसी एशिया बैंकको छ । बैंकको निष्क्रिय कर्जा गत आवको तेस्रो त्रैमासको तुलनामा ३.१० प्रतिशत बिन्दुले बढेर ८.८५ प्रतिशत पुगेको हो ।
त्यस्तै प्रभु बैंकको ३.७५ प्रतिशत बिन्दुले बढेर निष्क्रिय कर्जा ८.८४ प्रतिशत पुगेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको निष्क्रिय कर्जा २.२५ प्रतिशत बिन्दुले बढेर ८.४१ प्रतिशत पुगेको छ ।

यस्तै हिमालयन बैंकको निष्क्रिय कर्जा ७.९८ प्रतिशत पुगेको छ । गत आवको चैतसम्ममा ७.६८ प्रतिशत रहेको निष्क्रिय कर्जा चालु आवको तेस्रो त्रैमासमा पनि सामान्य बढेको हो । गत पुस मसान्तमा कुनै पनि बैंकको निष्क्रिय कर्जा ८ प्रतिशत नाघेको थिएन । चैत मसान्तमा आउँदा २ बैंकको निष्क्रिय कर्जा करिब ९ प्रतिशत पुगेको हो ।
यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको पनि निष्क्रिय कर्जा साढे ८ प्रतिशतको करिब पुगेको छ । सिटिजन्स बैंकको पनि निष्क्रिय कर्जा १.११ प्रतिशत बिन्दुले बढेर ६.८२ प्रतिशत पुगेको हो ।
चैत मसान्तमा एभरेष्ट बैंकको निष्क्रिय कर्जा सबैभन्दा न्यून ०.६१ प्रतिशत मात्रै छ । त्यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकको १.८१ प्रतिशत र नेपाल एसबीआई बैंकको २.५३ प्रतिशत निष्क्रिय कर्जा छ ।
सिद्धार्थ बैंकको ३.१७ प्रतिशत र सानिमा बैंकको निष्क्रिय कर्जा ३.९९ प्रतिशत हुँदा १५ बैंकको निष्क्रिय ४ प्रतिशत वा सोभन्दा माथि रहेको छ । २० मध्ये १० बैंकको निष्क्रिय कर्जा ५ प्रतिशत वा सोभन्दा माथि पुग्दा ३ बैंकको ८ प्रतिशत नाघेको छ ।
नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा भएको रकम निक्षेप लगानी गर्न निष्क्रिय कर्जा ८ प्रतिशतभन्दा माथि नभएको हुनुपर्ने व्यवस्था गरेको छ । तर, ३ बैंकको निष्क्रिय कर्जा ८ प्रतिशतभन्दा माथि पुगेपछि नेपाल राष्ट्र बैंकका साथै धेरै सरकारी निक्षेप लिन समेत समस्या हुने देखिएको छ ।
राष्ट्र बैंकले निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा माथि भएको बैंकमा निक्षेप लगानी नगर्ने व्यवस्था परिमार्जन गर्दै गत आर्थिक वर्षबाट मात्रै ८ प्रतिशतको सीमा कायम गरेको थियो । तर, चैत मसान्तमा आउँदा ३ बैंकको निष्क्रिय कर्जा ८ प्रतिशत नाघेको छ ।
पर्याप्त कर्जा नोक्सानी व्यवस्था गरेका कारण निष्क्रिय कर्जा बढ्दैमा बैंकहरूमा जोखिम भइहाल्ने अवस्था होइन । बैंकहरूमा पर्याप्त तरल सम्पत्ति भएको र पूँजीकोष समेत नियामकले तोकेको सीमाभित्र रहेकोले जोखिमकै अवस्था भने छैन । तर, निरन्तर बढिरहेको निष्क्रिय कर्जाले उक्त बैंकको सम्पत्तिको गुणस्तर कस्तो छ भन्ने चित्रण गर्छ भने निक्षेप राख्ने निक्षेपकर्तालाई पनि ब्याजदरसँगै निक्षेप राख्दा कत्तिको न्यून जोखिम छ भन्ने एउटा विश्लेषण गर्ने बलियो आधार पनि निष्क्रिय कर्जाको विवरण हो ।
निष्क्रिय कर्जा ८ प्रतिशत माथि पुगेका ३ बैंकमध्ये नेपाल इन्भेष्टमेन्ट मेगा र प्रभु बैंकको प्राथमिक पूँजीकोष अनुपात नेपाल राष्ट्र बैंकले तोकेको ८.५ प्रतिशत र पूँजी पर्याप्तता अनुपात ११ प्रतिशतभन्दा माथि नै रहेको छ ।
एनआईसी एशिया बैंकको भने पूँजी पर्याप्तता अनुपात ११ प्रतिशतभन्दा माथि भए पनि प्राथमिक पूँजीकोष अनुपात भने साढे ६ प्रतिशतभन्दा तल झरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद जारी गर्ने प्रयास गरेको भए पनि नेपाल राष्ट्र बैंकको स्वीकृति पाएको छैन ।









प्रतिक्रिया